२०८१ माघ ५ गते शनिवार / Jan 18 , 2025 , Saturday
२०८१ माघ ५ गते शनिवार
Ads

अन्तर मन्त्रालयको काम बढीमा ५ दिनभित्र टुंग्याउन मुख्यमन्त्रीको निर्देशन

hardik ivf
जुनु भट्टराई
२०८१ माघ ४ गते २१:३९
अन्तर मन्त्रालयको काम बढीमा ५ दिनभित्र टुंग्याउन मुख्यमन्त्रीको निर्देशन

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल २ दिनदेखि ५ दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् । प्रदेश सरकारको अर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा  सहमतिका लागि गएको फाइलहरु अड्किँदा काम ढिलो भएकोले बढीमा ५ दिनभित्र टुड्ग्याउन निर्देशन दिएका हुन् । 

समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले जेठ १५ गतेभित्र अन्तक्र्रिया गोष्ठी जस्ता कार्यक्रमहरु सक्नका लागि पनि निर्देशन दिएका छन् ।

‘जेठको अन्तिम लागेपछि कार्यक्रममा जानको लागि हैरान हुन्छ, दिनमा तीन चारवटा कार्यक्रम हुन्छन्, त्यसले नतिजा पनि दिएको छैन र जनताले पनि पचाएका छैनन् । यस्तो काम रोक्ने गरी अघि बढ्नपर्छ’ मुख्यमन्त्री कार्कीले भने ।  

कम्तिमा हप्तामा तीनदेखि चार दिन मन्त्री र सचिवलाई सँगै बसेर मन्त्रालयको काम गर्न पनि उनले आग्रह समेत गरे । ‘पर्फमेन्स देखाउँ र प्रभावकारी रुपमा काम गरौँ,’ मुख्यमन्त्री कार्कीले भने‘हाम्रो नीति, कार्यक्रम तथा बजेट खर्चको अवस्था अहिलेसम्म सन्तोषजनक छैन, पफर्मेन्स गर्न लागौँ, बेरुजू फछ्र्यौट र शासकीय सुधारलाई पहिलो स्थानमा राखेर काम गरौँ ।’ 

सरकारले गरेका सन्धी, सम्झौता, दीगो विकासका लक्ष्य लगायतलाई ध्यान दिएर मानवीय विकासमा काम गर्न पर्ने अवस्था रहेको समेत औंल्याएका थिए ।   

आगामी माघ ७ गतेदेखि सुरु हुने प्रदेश सभाको अधिवेशनमा नयाँ विधेयक र संसोधन गर्नुपर्ने ऐन पनि छिटो पेश गर्ने गरी तयारी गर्न मुख्यमन्त्री कार्कीले मन्त्रीहरुलाई निर्देशन दिए । 

प्रदेश सभामा मन्त्रालयका विषयमा उठेका विषयहरु सम्बन्धित मन्त्रीले ढिलोमा एक हप्ताभित्र जवाफ दिने गरी तयारी गर्नसमेत आग्रह गरे । 

प्रदेश सभालाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सबै लाग्नुपर्ने बताउँदै २०७७ सालपछिको सबै भन्दा प्रभावकारी र राम्रो यही अधिवेशन हुने भएकाले त्यसतर्फ लाग्नुपर्ने बताए । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले ऐन र नियमावलीमार्फत काम गर्नु पर्ने बताउँदै कार्यविधि र निर्देशिकाबाट काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी अघि बढ्ने बताए ।  

प्रमुख सचिव केदारनाथ शर्माले मन्त्रालयहरुले समयसीमा अनुसार काम गर्नुपर्नेमा जोड दिए । एकै पटक नियमावली र कार्यविधि ल्याएर काम गर्ने कुरा ठिक नभएको भन्दै पुँजीगत खर्च कसरी बढाउन सकिन्छ त्यसमा लाग्नुपर्ने र यसमा मन्त्रालयहरुले ध्यान दिन जरुरी रहेको उनले बताए  । 

समीक्षा कार्यक्रममा कोशी प्रदेश सरकारका सबै मन्त्री तथा राज्यमन्त्री, मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise