–ईश्वर बुढाथोकी
नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरिरहेको छ । सरकारी नीति, निजी क्षेत्रको लगानी र जनसाधारणको चासोले गर्दा यो क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण स्थान बनाउन थालेको छ । नेपाल जस्तो विकाशशील मुलुकका लागि सूचना प्रविधि केवल आर्थिक सम्भावना मात्र नभई सामाजिक विकासको प्रमुख साधन पनि बन्न सक्छ ।
नेपालमा सूचना प्रविधिको विकास तुलनात्मक रूपमा ढिलो भए पनि पछिल्लो एक दशकमा यसले तीव्र गति लिएको पाइन्छ । इन्टरनेट पहुँच विस्तारसँगै डिजिटल सेवाहरूले ग्रामीण तथा शहरी क्षेत्रमा समानरूपले प्रभाव पार्न थालेका छन् । नेपाल टेलिकम र एनसेलजस्ता सेवा प्रदायकहरूले देशभर इन्टरनेट विस्तारमा योगदान पु¥याइरहेका छन् ।
शैक्षिक क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोग बढ्दो छ । विशेषगरी विद्यालय र विश्वविद्यालयहरूमा डिजिटल उपकरण तथा अनलाइन शिक्षाको पहुँचले शैक्षिक गुणस्तरमा सुधार ल्याएको छ । साथै, बैंकिङ र वित्तीय क्षेत्रमा मोबाइल बैंकिङ र ई–पेमेन्ट प्रणालीले जनताको जीवन सहज बनाएको छ ।
तर, सूचना प्रविधिको विकासमा समस्या पनि छन् । देशका दुर्गम भेगमा इन्टरनेट सेवा पु¥याउन चुनौतीहरू छन् । साथै, जनसंख्याको ठूलो हिस्सा अझै पनि डिजिटल साक्षरताबाट वञ्चित छ ।
नेपाल सरकारले सूचना प्रविधिको विकासका लागि थुप्रै नीतिगत कार्यक्रमहरू अघि सारेको छ । ‘डिजिटल नेपाल फ्रेमवर्क’ सरकारको महत्त्वपूर्ण परियोजना हो, जसले सूचना प्रविधिलाई मुख्य प्राथमिकतामा राख्दै अर्थतन्त्र, शिक्षादेखि सार्वजनिक सेवा सबै क्षेत्रमा यसको उपयोग गर्ने उद्देश्य राखेको छ ।
सरकारले २०५७ सालमा सूचना प्रविधि नीति लागू गरेको थियो । त्यसपछि पनि विभिन्न योजनाहरू ल्याइएका छन्, जसमा ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच पुर्याउने, साइबर सुरक्षामा सुधार गर्ने र आईटी उद्योगलाई प्रोत्साहन दिने योजनाहरू प्रमुख छन् । तर, यी योजना प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपेक्षित परिणाम प्राप्त गर्न कठिनाइ भइरहेको छ ।
नेपालमा आईटी क्षेत्र रोजगारी सिर्जनाको ठूलो स्रोत बन्दै गएको छ । विशेषगरी युवा पुस्ता फ्रीलान्सिङ, सफ्टवेयर विकास, वेब डिजाइन र डिजिटल मार्केटिङमा सक्रिय छन् । विदेशी कम्पनीहरूसँगको सहकार्यका कारण नेपालका आईटी पेशाकर्मीहरूले अन्तर्राष्ट्रिय स्तरमा पनि स्थान बनाउन सफल भएका छन् ।
अफिस समयभन्दा बाहिर पनि युवाहरूले अनलाइन प्लेटफर्महरूबाट आम्दानी गरिरहेका छन् । साथै, इ–कमर्स क्षेत्रको बिस्तारले नयाँ उद्यमशीलताका अवसर सिर्जना गरेको छ । दराज, इसेवा, र खल्ती जस्ता कम्पनीहरूले नेपाली बजारमा डिजिटल व्यापारलाई प्रोत्साहन गरेका छन् ।
सूचना प्रविधिमा नेपालले आशातित उपलब्धि हासिल गरे पनि यसमा धेरै चुनौतीहरू छन् । अहिले पनि विश्वभन्दा नेपाल सूचना प्रविधिको विकासमा एक तह मुनि छ । आज पनि हामीले चलाउने इन्टरनेट वा मोबाइल कम्युनिकेसन विश्वका विकसित देशहरुले विस्थापित गरिसकेका सिस्टमबाट चलिरहेका छन् ।
अझै पनि हाम्रा ग्रामीण क्षेत्रमा इन्टरनेट र बिजुलीको राम्रो व्यवस्था छैन । जनसंख्याको ठूलो हिस्सा प्रविधिसँग अपरिचित छ । नेपालमा आईटीसँग सम्बन्धित गुणस्तरीय तालिम र पाठ्यक्रमको अभाव छ । अनलाइन ठगी र डाटाको सुरक्षामा ध्यान दिनु पर्ने आवश्यकता छ ।
यद्यपि, नेपालमा सूचना प्रविधिको विकासले थुप्रै सम्भावना बोकेको छ । आईटी क्षेत्रले विदेशी मुद्रा आर्जन गर्न ठूलो भूमिका खेल्न सक्छ । डिजिटल सेवामार्फत स्वास्थ्य, शिक्षा र सरकारी सेवा पुर्याउन सकिन्छ । स्टार्टअप संस्कृति प्रवद्र्धन गरेर नयाँ रोजगार सिर्जना गर्न सकिन्छ । नेपाललाई आईटी हबको रूपमा विकास गर्न विदेशी लगानी आकर्षित गर्न सकिन्छ ।
सूचना प्रविधिले नेपाललाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा अगाडि बढ्नका लागि ठूलो अवसर दिएको छ । यद्यपि, यस क्षेत्रको दिगो विकासका लागि उचित नीति, प्रभावकारी कार्यान्वयन र व्यापक जनसहभागिता आवश्यक छ । नेपालले आफ्नो भूगोल, जनशक्ति र डिजिटल युगको मागलाई ध्यानमा राख्दै आईटी क्षेत्रमा अग्रणी भूमिका खेल्न सक्छ ।