
फेसबुक खोल्नेबित्तिकै बिहान ‘गुड मर्निङ एभ्रिवान साथीहरू’, दिउँसो ‘गुड आफ्टरनुन’ र राति ‘गुड नाइट’ लेखिएका पोस्ट देखिनु सामान्य भइसकेको छ । साथीहरूका पोस्टमा ‘मेन्सन यु एन्ड अदर फलोअर्स’जस्ता कमेन्ट पनि बाक्लै देखिन्छन् । फेसबुक मनिटाइजेसन अर्थात् सामग्रीबाट आम्दानी गर्ने सुविधा सुरु भएपछि सामाजिक सञ्जाल प्रयोग गर्ने शैलीमा आएको यो परिवर्तनले एउटा प्रश्न जन्माएको छ– हामी फेसबुकमा सम्बन्ध विस्तार गर्दै छौं, विचार बाँड्दै छौं कि आम्दानीका लागि प्रतिक्रिया बटुल्दै छौं ?
सामाजिक सञ्जालमा आफ्नो रुचिअनुसार सामग्री राख्नु र अभिव्यक्ति दिनु सबैको अधिकार हो । शुभप्रभात र शुभरात्रिका सन्देशले आत्मीयता बढाउन सक्छन् । मनोरञ्जन दिने भिडियो र छोटा क्लिप पनि मानिसको दैनिक जीवनका हिस्सा बनिसकेका छन् । समस्या यस्ता सामग्री राख्नुमा होइन, सामाजिक सञ्जालको उपयोग यतिमै सीमित हुँदै जानुमा छ ।
एउटा विचारप्रधान लेख तयार पार्नु सामान्य काम होइन । विषय छनोटदेखि तथ्यको खोजी, अध्ययन, विश्लेषण र शब्द संयोजनसम्म लेखकले समय र मानसिक श्रम खर्च गरेको हुन्छ । राजनीतिदेखि भ्रष्टाचार, धर्म–संस्कृति, सामाजिक विकृति, लैंगिक विभेद र मानवीय अनुभूतिसम्मका विषयमा लेख्दा लेखकले देखेका, भोगेका र बुझेका कुरा शब्दमा उतार्छ । पाठकले छोटो समयमा पढ्ने लेख तयार गर्न लेखकले घण्टौं लगाएको हुन सक्छ ।
तर, यस्ता सामग्रीमा एउटा लाइक वा सामान्य प्रतिक्रिया पाउनसमेत कठिन हुने अवस्था छ । अर्कोतर्फ, अभिवादनका सामान्य पोस्टमा सयौं प्रतिक्रिया देखिन्छन् । आफ्ना पोस्टमा धेरै लाइक र कमेन्ट चाहने कतिपय प्रयोगकर्ताले अरूका विचारप्रधान सामग्री पढेर सामान्य प्रतिक्रिया दिनसमेत आवश्यक ठान्दैनन् । यसले सामाजिक सञ्जालमा लोकप्रियता र विचारको मूल्यबीचको अन्तर देखाउँछ ।
फेसबुक मनिटाइजेसनले यो प्रवृत्तिलाई थप प्रभाव पारेको छ । लाइक, कमेन्ट, सेयर र भ्युज सामग्रीको पहुँच तथा आम्दानीसँग जोडिन थालेपछि धेरैको ध्यान प्रतिक्रियाको संख्या बढाउनेतर्फ केन्द्रित भएको छ । आकर्षक शीर्षक, छोटा भिडियो र धेरै प्रतिक्रिया आउने सामग्रीले सहजै ध्यान खिच्न सक्छन् । तर, धेरै हेरिएको सामग्री नै सबैभन्दा उपयोगी हुन्छ भन्ने छैन ।
हजारौं मानिसले हेरेको मनोरञ्जनात्मक भिडियोले दर्शकलाई केही क्षण रमाइलो दिन सक्छ । त्यसको आफ्नै महत्त्व छ । तर, समाजको समस्या उजागर गर्ने, गलत प्रवृत्तिमाथि प्रश्न उठाउने वा नयाँ दृष्टिकोण दिने लेख थोरै मानिससम्म पुगेको भन्दैमा त्यसको महत्त्व कम हुँदैन । कहिलेकाहीँ एउटा विचारले ठुलो भिडलाई मनोरञ्जन दिनुभन्दा एक व्यक्तिलाई गम्भीर रूपमा सोच्न प्रेरित गर्न सक्छ । त्यसको प्रभाव तत्काल देखिँदैन, तर दीर्घकालीन हुन सक्छ ।
यसको अर्थ सामाजिक सञ्जालबाट आम्दानी गर्नु गलत हो भन्ने होइन । सिर्जनालाई आम्दानीसँग जोड्नु सकारात्मक अवसर पनि हो । लेखक, पत्रकार, कलाकार र सामग्री उत्पादकले आफ्नो श्रमबाट आर्थिक लाभ लिन पाउनु स्वाभाविक हो । तर, आम्दानीको सम्भावनाले सामग्रीको उद्देश्य नै बदलियो भने सामाजिक सञ्जालको ज्ञान, संवाद र चेतना फैलाउने क्षमता कमजोर हुन सक्छ ।
यहाँ पाठक र प्रयोगकर्ताको भूमिका पनि महत्त्वपूर्ण छ । अरूको लेख पढेर लाइक गर्नु, विचारसँग सहमत वा असहमत भए पनि सभ्य प्रतिक्रिया दिनु र उपयोगी सामग्री साझा गर्नु सामान्य काम हुन् । तर, यिनै साना व्यवहारले सिर्जनाकर्मीलाई थप लेख्न र विचार बाँड्न हौसला दिन सक्छन् । प्रतिक्रिया भनेको सहमति जनाउनु मात्र होइन, प्रश्न उठाउनु, तर्क गर्नु र फरक विचार राख्नु पनि हो ।
सामाजिक सञ्जाललाई केवल आफू देखिने र अरूलाई देखाउने माध्यमका रूपमा सीमित गर्नु हुँदैन । यो ज्ञान आदानप्रदान, सामाजिक बहस, जनचेतना र सकारात्मक परिवर्तनको माध्यम पनि बन्न सक्छ । त्यसका लागि मनोरञ्जन र अभिवादनसँगै विचारप्रधान सामग्रीलाई पनि स्थान दिन आवश्यक छ । कति लाइक आयो, कति भ्युज भयो र कति आम्दानी भयो भन्ने हिसाब राख्दा सामग्रीले समाजमा कस्तो प्रभाव पार्यो भन्ने प्रश्न पनि बिर्सनु हुँदैन ।
शुभप्रभात र शुभरात्रिका सन्देशले सम्बन्धलाई निरन्तरता दिन सक्छन्, तर समाजलाई अगाडि बढाउन विचार, संवाद र चेतनाको पनि उत्तिकै आवश्यकता पर्छ । त्यसैले फेसबुकमा लोकप्रिय सामग्रीलाई मात्र मूल्यवान् मान्ने कि मानिसलाई सोच्न बाध्य बनाउने सामग्रीको पनि सम्मान गर्ने भन्ने प्रश्न हामी सबैले आफैंलाई सोध्नुपर्छ ।
लेखकको सबैभन्दा ठुलो कमाइ सधैं पैसा वा प्रतिक्रियाको संख्या हुँदैन । आफ्ना शब्दले कसैलाई सोच्न प्रेरित गर्यो, कसैको दृष्टिकोण बदल्न सहयोग गर्यो वा समाजको कुनै समस्याप्रति ध्यानाकर्षण गरायो भने त्यो पनि महत्त्वपूर्ण उपलब्धि हो । सामाजिक सञ्जालबाट आम्दानी गरौं, मनोरञ्जन पनि बाँडौं, तर विचारको मूल्यलाई लाइक र भ्युजको भिडमा हराउन नदिऔं ।