काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीहरुको ईजाजतपत्र नवीकरण गर्न वार्षिक एकसय जना कामदार पठाएको हुनुपर्ने व्यवस्थाले उत्पन्न गरेको समस्या समाधानका लागि सिफरिश पेश गर्न एक कार्यदल गठन गरेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र तराई लोकतान्त्रिक वैदशिक रोजगार व्यवसायी फोरमका प्रतिनिधि एवं संघका पूर्व अध्यक्षहरु साहितको टोलीले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलालाई भेटी समस्या अवगत गराएका थिए ।
त्यसपछि श्रममन्त्री यादवले मन्त्रालयका सहसचिव उमेश ढुंगानाको संयाजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदलमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र मन्त्रालयका कानून उपसचिव सदस्य रहेका छन् । कार्यदलले सकेसम्म छिटो प्रतिवेदन दिने बताइएको छ ।
कोरोना भाइरस संक्रमणले मुलुकभर लकडाउनको निर्णयपछि तत्काल राहत प्रदान गर्ने विषयमा निर्णय लिन बसेको मन्त्रिपरिषद्को चैत १६ गतेको बैठकले ईजाजतपत्र नवीकरणका लागि वार्षिक रुपमा सय जना कामदार पठाएको हुनुपर्ने अनिवार्य प्रावधान हटाउन वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने निर्णय गरेको थियो ।
गत वर्ष फागुनमा केही नेपाल ऐनलाई संशोधन गर्ने कानूनले वैदेशिक रोजगार ऐन र भदौ १ गते वैदेशिक रोजगार (पाँचौं संशोधन) नियमावलीमा म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्न पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एकसय जना कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात समावेश गरिनुपर्ने व्यवस्था गरिएको छ ।
चैत १८ गते अर्थ मन्त्रालयमार्फत सार्वजनिक भएको राहत सम्वन्धीे प्रशासनीक तथा नियमनकारी क्षेत्रका छुट तथा सहुलियतहरु शिर्षकको (ङ) मा वैदेशिक रोजगारमा १०० जना कामदार नपठाएकै कारणबाट ईजाजतपत्रवाला संस्थाहरुको खारेजी हुने हालको व्यवस्था हटाउन वैदेशिक रोजगार ऐन २०६४ मा संशोधनको प्रकृया अघि बढाउने उल्लेख छ । तर उक्त निर्णय भएको दुई महिना वितिसक्दासमेत त्यसलाई मन्त्रालयले कार्यान्वयनमा लैजान सकेको थिएन ।
मन्त्रिपरिषद्ले छुट दिने गरी भएको निर्णय कार्यान्वयनमा नलगिएपछि व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघ लगायत प्रमुख दल निकट वैदेशिक रोजगार व्यवसायीका संगठनदेखि जातीय तथा भेगीय संस्थाहरुले मन्त्रालयप्रति गुनासो गर्दै आइरहेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies