काठमाडौं : भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू भएको छ । भिजिबिलिटी समस्या समाधान गर्न यसअघि लागु गर्ने भनिएको ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम’ (आईएलएस) प्रणालीलाई भारतले अनुमति नदिएपछि भूउपग्रहमा आधारित आरएनपी–एआर प्रणाली लागू गरिएको हो ।
विमानस्थलमा अहिलेसम्म आँखाले हेरेरै उडान तथा अवतरण गर्नुपर्ने भएकाले करिब १८०० मिटरको भिजिबिलिटी चाहिन्थ्यो । अब आरएनपी–एआर प्रणाली अन्तर्गत उडान तथा अवतरण गर्न सानो जहाजका लागि ८०० र ठुला जहाजका लागि ९०० मिटरकै भिजिबिलिटी भए पुग्नेछ ।
भिजिबिलिटी र अन्य कारण देखाउँदै मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिरा एयरवेजले एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका थिए । नेपाल एयरलाइन्सले भने काठमाडौं–भैरहवा–दुबई साताको चार दिन उडान गर्दै आएको छ ।
विशेषगरी मंसिर, पुस र माघमा बाक्लो हुस्सुले भिजिबिलिटी कम हुने समस्याले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान समेत स्थगन हुने गरेको छ । यो समस्या समाधानका लागि आरएनपी–एआर प्रणाली लागु गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले विमानस्थलमा आरएनपी–एआर प्रणालीबाट उडान तथा अवतरण गर्न अनुमति प्राप्त गरेको पाइलट र जहाजलाई बिहीवारदेखि उडान र अवतरणको अनुमति दिने व्यवस्था भएको जानकारी दिए । उनी भन्छन्, ‘विमानस्थलमा आरएनपी–एआर प्रणालीबाट उडान तथा अवतरण गर्न अनुमति प्राप्त गरेको पाइलट र जहाजलाई बिहीवारदेखि उडान र अवतरणको अनुमति दिने व्यवस्था भएको छ ।’ तर यसका लागि छुट्टै अनुमति लिनु पर्ने हुन्छ ।
आरएनपीएआर अनुसार उडान तथा अवतरणका लागि विमानमा पूर्वाधार निर्माण गर्नुपर्नेछ भने पाइलटले तालिम लिएको हुनुपर्छ । प्राधिकरणले विमान तथा पाइलटलाई यस्तो अनुमति दिन थालिएको तथा पूर्ण कार्यान्वयनमा आउन केही समय लाग्ने जनाएको छ ।
अहिले कार्यान्वयनमा ल्याउन लागिएको प्रणालीलाई सामान्य बाहेक कुनै पनि खर्च नलागेको प्राधिकरणले जनाएको छ । स्याटेलाइटमा आधारित भएकोले यसमा ग्राउन्डमा कुनै पनि उपकरण जडान गर्नु नपर्ने प्राधिकरणले जनाएको छ । भारतले आईएफआर सिस्टम जडान गर्ने अनुमति नदिएपछि प्राधिकरणले यो विकल्प कार्यान्वयनमा ल्याएको हो ।
प्राधिकरणका तर्फबाट ‘आरएनपी–एआर’ प्रणाली लागू भए पनि अब विदेशी वायुसेवाहरूले आफ्नो देशको विभागीय मन्त्रालयसँग अनुमति लिई आफ्ना पाइलटलाई तालिम दिएर परीक्षण उडान गरेपछि मात्रै यो विधि व्यवहारमा कार्यान्वयन हुनेछ ।
यो प्रणाली विमानस्थलमा कुनै उपकरण जोडेर लागु हुने नभई न्यारो बडी (ए३२०) र वाइड बडी (ए३३०) सिरिजका जहाजमा लागु हुने हो । ती जहाजमा आरएनपी–एआर प्रणाली लागु गर्न सकिने सिस्टम हुन्छ । अब गौतमबुद्ध विमानस्थलमा उडान–अवतरण गर्ने ए३२० र ए३३० स्तरका जहाजले यो प्रणाली लागु गर्नुपर्ने हुन्छ ।
सेवा शुल्क खारेज
सरकारले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान टिकटमा समावेश हुँदै आएको विमानस्थल सेवा शुल्क खारेज गरेको छ । यस्तो शुल्क प्रतियात्रु ३ हजार रुपैयाँ बराबर छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार भदौ २०८३ सम्मका लागि विमानस्थल सेवा शुल्क पूर्णरूपमा छुट दिने निर्णय भएको हो ।
योसँगै यी विमानस्थलबाट हुने उडानमा अब प्रतिटिकट कम्तीमा ३ हजार रुपैयाँ घट्ने छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु सेवा शुल्कबापत प्रतिटिकट ३ हजार बराबर शुल्क लगाउँदै आएको छ ।
यो शुल्क काठमाडौं विमानस्थलबाट विदेश उड्नेका हकमा भने यथावत छ । सरकारले नयाँ विमानस्थलमा वायुसेवा कम्पनी र यात्रु आकर्षित गर्न यस्तो निर्णय गरेको जनाएको छ ।