२०८१ माघ १६ गते बुधवार / Jan 29 , 2025 , Wednesday
२०८१ माघ १६ गते बुधवार
Ads

ट्रम्पको नेतृत्व र विश्व राजनीति

hardik ivf
२०८१ माघ १३ गते ०६:१०
ट्रम्पको नेतृत्व र विश्व राजनीति

–लेखराज रेग्मी

अमेरिकाका नवराष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतिक्षित सत्तारोहण समारोह सकिएको छ र उनले केही महत्वपूर्ण सवालमा निवर्तमान राष्ट्र प्रमुखभन्दा आफूलाई फरक देखाउने पहल थालेका छन् । नेपालका र भारतका मिडियाकर्मीहरू लगानीकर्ताको भाषामा ट्रम्पलाई देवत्वकरण र चीन कोरिया र रुसको सर्वनाशको गाथा गाइरहेका छन् । बिबिसी सुन्नेहरूले यस्ता छनक सायद पाउनुभयो होला, रुसको जिद्दीको कारण ट्रम्पले युक्रेनलाई संरक्षण र सहयोग गरिरहनेछ, रुस लाचार बन्नेछ । तर, सत्य यो होइन युरोपियनहरू रुसको शक्ति र पुटिनको तेवरसँग आतंकित छन् । यसको एउटा कारण अरब एकताको सम्भावना र प्राकृतिक स्रोतको दोहनमा गतिरोध स्वेज नहर र पनामा नहरको रुट चीन र रुसको लागि सरल बन्नु, कोरिया विवाद र ताइवान विवादलाई कारण बनाएर प्रशान्तमा पश्चिमको हस्तक्षेप माथि रुस–कोरिया र चीनको एलाइन्स बन्नु, अफ्रिका, दक्षिण अमेरिका अरब र दक्षिण एसिया तथा हिन्द महासागरमा पश्चिमा वर्चस्व कमजोर हुन थाल्नु, भूमध्यसागर, कालासागर र लालसागरमा समेत चुनौतीहरू पैदा हुनु, अमेरिकी युरोपेली स्वार्थमा एक प्रकारको संकट हो । यससँगै इन्धनमा रुस आश्रित स्थिति उनीहरूको लागि ठुलो चुनौती बनेको छ । 

जतिसुकै गफ दिए पनि अमेरिकनहरू रुस र चीनका चुनौतीहरूलाई केही कमजोर र अनुकूल बनाएर अर्को भाषामा रुस र चीनलाई गलाएर नयाँ सम्झौताको स्थिति बनाउन चाहन्छन् । यस कारण युक्रेनलाई उक्साएर रुसलाई, इजरायललाई उक्साएर रुस र इरानलाई र प्रशान्त क्षेत्रमा चीन र कोरियालाई दबाबमा राख्न दक्षिण कोरिया र ताइवान मसला उचालिरहेका छन् । तर, चीन र रुसप्रतिको निर्भरता उनीहरूको यस्तो कमजोरी बनेको छ कि उनीहरूका नाकाबन्दी नकाम भइरहेका छन् । यसरी प्रशान्त र आन्ध्र महासागर मात्र होइन, स्पेसमा समेत चीन र रुसको चुनौती महसुस गर्ने ठाउँमा उनीहरू पुगेका छन् । 

आज आफैले उक्साएका युक्रेन, इजरायल र ताइवान उनीहरूका लागि तातो आलु जस्तै निल्नु न ओकल्नुको समस्या बनेका छन् । आफ्नै जालमा आफै फसेर आणविक आक्रमणको खतरामा पर्ने आशंकामा संसस्त्र बनिरहेका छन् । युद्ध रुसलाई भन्दा युरोप र अमेरिकालाई महँगो पर्न थालेको छ । युद्धका कारण हुने भौतिक र मानवीय क्षतिका बाबजुद रुस उनीहरूभन्दा अनुकूल स्थितिमा देखिन्छ ।

यस कारण ट्रम्पले एकातिर विश्वयुद्धको खतरा रोक्ने पलपुर नारा लगाउनु, अर्काको लागि युद्ध नलड्ने चेतावनी जारी गर्नु, नाटोबाट हट्ने प्रचारबाजी गर्नु सिस फायरको कुरा उठाउनु अमेरिकी हितको लागि आवश्यक कूटनैतिक विषयहरू हुन् । समर्थकहरूको मनोबल नगिरोस् भनेर चीन र रुसलाई धम्काउनु ट्रम्पको कूटनैतिक बाध्यताको चालबाजी हो । रुस र चीन मध्य पूर्व र युक्रेन युद्धको कारण कमजोर बनिरहेको युरोपियन अर्थ राजनीति बलियो बन्न दिएर आफ्नो खुट्टामा आफै बन्चरो नहान्ने तर आफ्नो जनताको मनोभावना बुझेर युद्ध रोक्न सहमति गर्नुपर्ने स्थितिमा रुस पनि छ । कमसेकम अमेरिका युद्धबाट बच्न चाहन्छ र युक्रेनलाई सहयोग जारी राख्दै युक्रेनको बढ्दो माग झेल्नबाट बच्न चाहन्छ । 

तर, यसलाई रोकिएन भने अमेरिकी वर्चस्व खुम्चिने र प्रत्यक्ष युद्धमा फस्ने खतराबाट बच्न अमेरिकाले शासक अनुहार बदलेर पहलकदमी लिन चाहेको कुरा निर्वाचनले पुष्टि गरेको यथार्थ हो । नाटोको प्रयत्न पनि अन्ततः यही नै हो । साथै, यति बेला शान्ति सम्झौता हुन नसक्नु भनेको सबैको चुनौती बढ्ने कुरा हो । यही कमजोरी लुकाउन गरिने चर्का बयानबाजी युद्धको निरन्तरताको कारण नबनोस् भन्ने उनीहरूलाई लागेको छ । यस कारण नेपथ्यका खेल र आकस्मिक युद्ध अन्तको घोषणा कुनै पनि बेला आश्चर्यजनक ढंगले आउन सक्ने सम्भावना बढेको कुरा देख्न सकिन्छ । यस कारण भुकाइहरू जति चर्का होउन, कोसिस युद्धको स्थगनको दिशामा छन् । 

तर, केही कुपमन्डुकहरू सतहको मापनबाट गहिराइको बारेमा भड्काउपूर्ण समाचार बनाएर बेचिरहेका छन् । खासगरी आन्तरिक राजनीतिमा बरालो लागेका र अन्तर्राष्ट्रिय कूटनीतिमा असफल भइरहेका मोदी र उनका गोदी मिडिया बेतुक प्रेश्किप्सन बाँडेर आत्मरति गर्न खोजिरहेका छन् । यो प्रचार यथार्थभन्दा निकै फरक छ । यस कारण नेपालले आफूलाई सक्षम बनाउन सक्दा कूटनैतिक सफलता तथा देश हितमा केही गर्न सकिने अवसरहरू खुल्दै छन् तर, लाचारी र लपस्तराई राष्ट्रिय चरित्र बनाउन थालेपछि नोक्सानी सहनुको विकल्प रहने छैन । यस कारण सत्ता इतर राजनीति गर्नेहरूले पहल कदमी बढाउने यो सुन्दर अवसर नगुमोस् भन्नेमा सचेत भूमिकामा आउन आवश्यक छ । 

ADVenergy

सम्बन्धित खबर

Advertise