–संजु दाहाल
‘कान्छाले कान्छीलाई लग्यो, बनको बाटो लाल्टिनी बालेर ....!’ यो गीत सुन्नु भएको छ ? रातो पहिरन अनि रातै सिन्दूरमा सजिएर, डोली चढेर दुलाहाको घर जाने संस्कृति कहिलेबाट सुरू भयो होला ? आफू दुलाहा अथवा दुलही भएको दिनको त्यो रातो रंगको महत्व अनि उत्साह । नेपालमा रातो कपडा चीनबाट र सिन्दूर भारतबाट नै आउने गरेको इतिहास छ । चिनियाँ नयाँ वर्ष, जसलाई वसन्त पर्व पनि भनिन्छ । चीनको सांस्कृतिक र पारिवारिक जीवनमा यो सबैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो । यस पर्वको रंगीन र सांस्कृतिक पक्षलाई थप आकर्षक बनाउने एउटा मुख्य तत्व भनेको रातो चिनियाँ पहिरन नै हो । नेपालमा दुलहीको रातो बस्त्र जस्तै रातो रंग चिनियाँ परम्परामा शुभ, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ । चिनियाँ नयाँ वर्ष र रातो पहिरनबिचको सम्बन्धले यस पर्वको सांस्कृतिक महत्वलाई तथा यसको गहिराईलाई बुझ्न अझ सहयोग पुगेको छ ।
चिनियाँ नयाँ वर्ष
चिनियाँ नयाँ वर्ष चन्द्र क्यालेन्डरअनुसार हरेक वर्ष फरक–फरक मितिमा मनाइन्छ । यो पर्व परिवारका सदस्यहरू भेला हुने, पुराना नकारात्मक पक्षलाई बिर्सने र नयाँ सुरूवात गर्ने समयका रूपमा मनाइन्छ । चिनियाँ नयाँ वर्ष (छुन चिय) विश्वको सबैभन्दा पुरानो र महत्वपूर्ण चाडपर्वमध्ये एक हो । यस अवसरमा रातो रंगलाई विशेष महत्व दिइन्छ । यो चाडले परम्परा, संस्कृति र पुराना किम्वदन्तीहरूसँग गहिरो सम्बन्ध राखेको छ । यो पर्व चीनको पहिलो शाङ राजवंशबाट नै सुरू भएको हो ।
पौराणिक कथा अनुसार ‘नियान’ नामको भयंकर दानव प्रत्येक वर्ष मानिसहरूलाई त्रास दिन गाउँमा आउने गर्दथ्यो । पछि मानिसहरूले पत्ता लगाए कि नियान रातो रंग र ठूलो आवाजसँग डराउँछ । त्यसैले, रातो रंगका कपडा लगाउने, रातो सजावट गर्ने र पटका पड्काउने परम्परा बसालियो । रातो रंगलाई नियानलाई भगाउने प्रतीकका रूपमा प्रयोग गर्न थालियो । अर्थात् अशुभ भगाउने तथा शुभ निम्त्याउने प्रतीकको रूपमा मनाइन थालियो ।
यो वर्ष यही २८ जनवरीको दिन नयाँ वर्षको पूर्वसाँझ अर्थात् न्यु इएर इभ परेको छ । परम्परागतरूपमा यो चाड १४ दिनसम्म विभिन्न कार्यक्रम र गतिविधि सहित मनाइन्छ । तर, अहिले सरकारले ७ दिन मात्रै बिदा दिने हुँदा पारस्परिक भ्रमण र उपहार दिने कार्य सामान्यतयाः नयाँ वर्षको पूर्व सन्ध्यापछि ६ दिनभित्र हुन्छ ।
परम्परागत गतिविधिहरू
चिनियाँ नयाँ वर्ष घर–परिसरको सफाइबाट सुरू हुन्छ । नयाँ वर्षअघि घर सफा गरिन्छ, जसले पुरानो वर्षको नकारात्मक ऊर्जा हटाउँछ भन्ने विश्वास गरिन्छ । त्यसपछि सुरू हुन्छ घर सजावट । रातो कागजहरूमा विभिन्न प्रकारका सौभाग्य तथा शुभ–बचन ‘फु’ लेखेर ढोका भित्ता सजाइन्छ । विभिन्न प्रकारका लालटिनहरू बालिन्छ । कागजका लालटिनहरू बालेर उडाइन्छ । प्राचिन कालमा भने (मु) अर्थात् आरूको रूखको काठबाट आशीर्वचन कुदी बनाइएको सजावटको सामाग्रीलाई ढोकामा सजाइन्थ्यो ।
नयाँ वर्षको अघिल्लो रात (नयाँ वर्षको पूर्व सन्ध्या)मा परिवारसँग भव्य भोज गरिन्छ । यस दिन विशेष खाना जस्तै ः मम– धन र समृद्धिको प्रतीक; माछा– प्रचुरताको संकेत; र अन्य चिउरे खाजा, चाउचाउ र चकलेट पनि लामो आयुको प्रतीक मानेर खाइन्छ । सबै जना आफ्ना हजुरबुवा÷हजुरआमाको यानी आफ्नो पुख्र्यौली जन्म घरमा गएर मनाउने गर्छन् ।
होंगपाउ एक प्रकारले आफ्ना मान्यजनको आशीर्वादको रूपामा दक्षिणा स्वरूप दिने रातो खाम हो । बुढापाका व्यक्तिहरूले बच्चा र युवा पुस्तालाई यो रातो खाम दिन्छन् । यसमा पैसा राखेर समृद्धि र सौभाग्यको कामना गरिन्छ । यसमा प्रसाद, दक्षिणा र आशीर्वाद दिइन्छ । एक किसिमले भन्ने हो भने, ‘रातो राम्रो गुलियो मीठो’ केटाकेटीलाई नै त हो ।
साथै, नयाँ वर्षको अर्को महत्वपूर्ण कार्यक्रम आतसवाजी हो । पटका पड्काएर पुरानो वर्षको नकारात्मक ऊर्जा भगाउने र नयाँ वर्षको स्वागत गर्ने परम्परा छ । यसलाई ‘नियान’ नामक दानव भगाउन सुरू गरिएको मानिन्छ । रातभर पटका तथा बत्तीले भव्य उज्यालो पारेर मनाइन्छ । चीनका प्रमुख सहरबाट गत वर्ष १ अर्ब ३५ करोड मानिस नयाँ वर्ष मनाउन हाम्रो दसैँमा जस्तै घर गएका थिए ।
यतिबेला भव्य नृत्य तथा नाटक प्रदर्शन गरिन्छ । सिंह तथा ड्रयागन नृत्यले परम्परागत शुभ संकेत दिन्छ । सिंहको तथा लामो ड्रागन आकारको पोसाक लगाएर यी नृत्यहरू गरिन्छ । यी नृत्यहरूमा उत्साह र सांगीतिक ताल हुन्छन् । साथै, यो समयमा आफ्ना पितृ तथा पूर्वजहरूको स्मरण गरिन्छ । पूजा तथा देवताहरूलाई प्रार्थना गरिन्छ । नेपालमा जस्तै धूप बाल्ने र आशीर्वाद माग्ने पनि परम्परा छ । चाडको अन्तिम दिन ‘लालटिन महोत्सव’ मनाइन्छ । रातमा रातो लालटिन झुन्ड्याएर उज्यालो प्रदर्शन गरिन्छ । परम्परागत संगीत, नृत्य र नाटक प्रदर्शन गरिन्छ । मानिसहरूले स्थानीय बजारको भ्रमण पनि गर्छन् । परिवार र साथीभाइ भेटेर शुभकामना आदान–प्रदान गरिन्छ । नयाँ वर्षको समयमा माजोंग, चेस र तास खेल्ने चलन पनि छ ।
रातो चिनियाँ पहिरन
नेपालमा जस्तै रातो रंग चिनियाँ परम्परामा शक्ति र सुरक्षा प्रदान गर्ने प्रतीक मानिन्छ । चिनिया नयाँ वर्षमा रातो पहिरन लगाउनु परम्परा मात्र नभई सांस्कृतिक चिह्न पनि हो । चिनियाँ मान्यताअनुरूप रातो पहिरनले दुष्ट शक्तिहरूलाई टाढा राख्ने र शुभकामना ल्याउने विश्वास गरिन्छ । यो सौन्दर्य, परम्परा र समृद्धिको प्रतीक पनि हो । प्रमुख पहिरनहरूमा थानचुवाङग वा यसलाई हान्फु पनि भनिन्छ । थान्चुवाङ एक परिष्कृत डिजाइन र पुष्प बुट्टाले सजिएको महिला तथा पुरूषले लगाउने परम्परागत पहिरन हो । जुन पहिरन नयाँ वर्षको भव्यताको प्रतीक हो । यो पोसाक नयाँ वर्षमा, धार्मिक अनुष्ठान र सांस्कृतिक प्रदर्शनमा लगाइन्छ । यस्ता पहिरनमा सुनको किनारा, ड्रागन, फिनिक्स र अन्य सांस्कृतिक प्रतिकहरूले सजावट गरिन्छ । कपडामा सिल्क वा भव्य कपडाको प्रयोगले चीनको परम्परागत सभ्यता झल्काउँछ । चिनियाँ समाजमा विभिन्न चाडबाड, बिहे र अन्य संस्कारमा रातै रंगको पोसाक लगाउने प्रचलन छ ।
निष्कर्ष
चिनियाँ नयाँ वर्ष र रातो पहिरन चीनको परम्परा र सांस्कृतिक पहिचानका अभिन्न अंग हुन् । नयाँ वर्षले परम्परागत मूल्य, परिवारप्रतिको सम्मान र सांस्कृतिक सद्भावलाई जोड दिन्छ, भने रातो पहिरनले यस पर्वको महत्वलाई अझ भव्य बनाउँछ । यी तत्वहरूले चीनको सांस्कृतिक धरोहरलाई मात्र होइन, विश्वव्यापी महत्वलाई पनि बलियो बनाएका छन् । चिनियाँ नयाँ वर्ष केवल चाड मात्र नभएर परिवारसँग समय बिताउने, आफ्नो परम्परा मान्ने र खुसी बाँड्ने समय हो । यसको गतिविधिहरूले चिनियाँ संस्कृति र सम्पदालाई अझ विशेष बनाउने गरेको छ । सायद यही रातो रंगको परम्परा नेपालमा पनि आइपुगेको हुनुपर्छ । उत्साह र उमंगको नयाँ वर्ष नयाँ दुलही सजिएको भन्दा कम हुँदैन । त्यो रोमाञ्चक रात, लालटिनको उज्यालो साँचै यो सुमधुर गीतको जस्तै आभास हुन्छ । मिस हिनादेवीले ‘कान्छाले कान्छीलाई लग्यो बनको बाटो लालटिन बालेर’ वि.सं. १९९० तिरै गाउनु भएको यो गीतपछि सन् १९५८ तिर मधुमति नामक फिल्ममा प्रसिद्ध गायिका आशा भोश्लेले गाएको भेटिन्छ । यस्तै, उत्साह, उमंग र रोमाञ्चक तरिकाले चिनियाँ नयाँ वर्ष मनाइन्छ । सिन न्यान ख्वाइल ! नयाँ वर्षको शुभकामना !