२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

वैदेशिक रोजगार संघको साधारण सभा असार तेस्रो साता गर्ने तयारी

ADV
मध्यान्ह
२०८१ जेठ २१ गते १३:३५
वैदेशिक रोजगार संघको साधारण सभा असार तेस्रो साता गर्ने तयारी

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले असार तेस्रो साता साधारण सभा गर्ने तयारी गरेको  छ । असार १७ गते संघले स्थापना दिवस मनाउने गरेको छ । सोही समयमा साधारण सभा गर्ने संघको गृहकार्य रहेको छ ।

गैर सरकारी संस्थाको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र गर्नुपर्ने व्यवस्था भएपनि जेठ तेस्रो हप्तासम्म पनि साधारण सभा नभएपछि संघलाई छाता संस्था मान्दै आएका केही घटक संस्था र स्वतन्त्र व्यवसायीहरूले त्यसबारे चासो देखाउन थालेका छन् । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चलगायतका विभिन्न संघसंस्थाले संघलाई नयाँ गति र उर्जा दिन साधारण सभाजस्तो प्रक्रियालाई समयमै सम्पन्न गर्नुपर्ने सुझाव दिँदै आएको मञ्चका अध्यक्ष धनलाल जैसी बताउँछन् ।

यसपटक संघको विधान संशोधनको महत्वपूर्ण काम गर्नुपर्ने भएकाले त्यससम्बन्धी गृहकार्य नसकिएका कारण साधारण सभा केही ढिलो हुने भएको महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । महासचिव भुर्तेलले संघको मौजुदा विधानमा परिवर्तन गरी संघ कार्यसमितिको कार्यकालको हालको दुई वर्षे अवधिमा एक वर्ष थप गरी ३ वर्षे बनाउने  र संघलाई संघीय संरचनामा लैजाने तथा व्यवसायी भलाइ कोष सञ्चालन गर्ने गरी विधानमा संशोधनको गृहकार्य भइरहेको बताए । 

संघ कार्यसमितिको हालको दुई वर्षे कार्यकालको पहिलो एक वर्ष अध्ययन र दोस्रो वर्षको आधा अवधि अर्को साधारण सभा र निर्वाचनको तयारीमा लगाउनुपर्ने देखिएका कारणले ठोस उपलब्धिमूलक काम गर्न समय नपाएका कारण कार्यकाल थप गर्नु परेको महासचिव भुर्तेलको भनाइ छ । विधान संशोधन भएमा वर्तमान कार्यसमितिले समेत अझै डेढ वर्ष काम गर्न पाउनेछ । उनले संघको विधान र मुलुकमा क्रियाशील अन्य गैरसरकारी संस्थाहरूका विधानमा फरक व्यवस्था रहेकाले त्यसको अध्ययन गरी एकरूपता ल्याउने काम पनि भइरहेको  बताए । 

संघको विधानमा अध्यक्षको उम्मेदवार हुन कम्तीमा एक कार्यकाल पदाधिकारी भइ काम गरेकोे हुनुपर्ने प्रावधान छ । पदाधिकारी भन्नाले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष बुझिने भन्ने विधानमा व्यवस्था छ । उक्त प्रावधानले योग्य व्यवसायीलाई अध्यक्षको उम्मेदवार बन्न रोक लगाइ कार्य क्षमताका दृष्टिकोणले कमजोर भएपनि सीमित पूर्वपदाधिकारी व्यवसायीलाई मात्रै अध्यक्षको उम्मेदवार बन्ने अवसर सिर्जना गरिएको व्यवसायीको आवाज पटक–पटक उठ्ने गरेको छ ।

तर विधान संशोधन नहुँदा त्यसको सम्बोधन भएको छैन । महासचिव भुर्तेलले विधानका धेरै दफाहरू एकआपसमा बाझिएका र अध्यक्षको उम्मेदवार बन्ने मापदण्ड पनि समयसापेक्ष नरहेको धेरैतिरबाट सुझाव आएकाले त्यसमा पनि गृहकार्य भइरहेको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise