काठमाडौं : नेपालको अग्रणी अन्तर्राष्ट्रिय स्कटिस ब्रान्ड बेनेभिसले बसन्तपुर, झोछेँचोकमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । सन् २०१८ मा स्थापना भएको बेनेभिसले आफ्ना ग्राहकहरूलाई विभिन्न आउटलेटहरू, मार्टहरू र सुपरस्टोरहरू मार्फत् सेवा दिँदै आएको छ ।
नयाँ आउटलेटमा उत्कृष्ट र नवीन स्वादहरू सहितको आइसक्रिम अनुभव दिन सकिने कम्पनीले जनाएको छ । नयाँ आउटलेटमा भ्यानिला कारमेल, ब्राउनी, स्ट्रबेरी चिजकेकदेखि मिडनाइट कुकीज र पिनट बटर, भेगन र चकलेट जस्ता स्वाद संयोजन जस्ता प्रिमियम स्वाद पाइनेछ भने वाल्टर क्लेम्यानको नाममा वाफल सेग्मेन्ट पनि रहेका छन् ।
बेनेभिसले नेपालको आइसक्रिम बजारमा गुणस्तर र स्वादको मापदण्ड तोक्ने र विभिन्न स्वादका आइसक्रिम वितरण गर्ने लक्ष्य राखेको कम्पनीका सञ्चालक रश्मी कर्माचार्यले जानकारी दिइन् । बसन्तपुर आइसक्रिम आउटलेटको उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक विकल कर्माचार्य र चर्चित अभिनेत्री आना शर्माले संयुक्त गरेका थिए । कम्पनीले आफ्ना सबै ग्राहकहरूलाई सीमित अवधिका लागि २५ प्रतिशत ओपनिङ छुट दिने जनाएको छ ।