२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

यातायात कार्यालयद्वारा ६ महिनामा २९ करोड एक लाख राजस्व संकलन

Nada
२०८१ माघ १७ गते १२:३७
Shares
यातायात कार्यालयद्वारा ६ महिनामा २९ करोड एक लाख राजस्व संकलन

बागमती : यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को छ महिनाका अवधिमा रु २९ करोड एक लाखभन्दा बढी राजस्व संकलन गरेको छ । 

ncell

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले रु २९ करोड एक  लाख ७५ हजार छ सय ५१ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको छ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट रु १७ करोड ३८ लाख २१ हजार एक सय ४९, सवारी करबाट रु चार करोड ५३ लाख ६८ हजार तीन सय ३१, यातायात क्षेत्रको आम्दानीबाट रु चार करोड ५६ लाख ७० हजार आठ सय ११, संघीयता तर्फ रु एक करोड ८१ लाख २५ हजार एक सय ८० तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व संकलन भएको छ । 

यस्तै चालु आव को सो अवधिमा मोटरसाइकल एक हजार दुई सय ८० वटा, साना सवारी पाँच सय १३ वटा, टेम्पो/ई-रिक्सा तीन सय ३७ वटा, ठूला तथा मझौला सवारी तीन सय २१ वटा र ट्याक्टर पाँच गरी दुई हजार चार सय ५८ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। यस अवधिमा नयाँ दुई हजार एक सय ६३ र वर्ग थप एक हजार चार सय ४८ गरी तीन हजार छ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स)वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । 

यस्तै सो अवधिमा दुई हजार नौ सय ८४ नवीकरण, ४९ वटा प्रतिलिपि र ३९ वटा नवीकरण र प्रतिलिपि दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व संकलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।
 

ताजा खबर

सम्बन्धित खबर