
रौतहट : रौतहटको गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिकै मंगलबार राति अज्ञात समूहको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।
गोली प्रहारबाट गौर नगरपालिका–४ गढवा टोल बस्ने अन्दाजी २८ वर्षीय राकेश यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आक्रमणकारीहरूले चलाएको गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न अंगहरूमा गम्भीर चोट लागेको छ । उनको ढाडमा ३ वटा, दाहिने पाखुरामा १ वटा र दुवै खुट्टामा गरी २ वटा छर्रा लागेका छन् ।
घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा घाइते यादवलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । प्रादेशिक अस्पतालमा उनको प्राथमिक उपचार तथा सामान्य स्वास्थ्य परीक्षण पश्चात् अवस्था गम्भीर देखिएपछि चिकित्सकहरूले थप तथा अत्याधुनिक उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल रिफर गरेका छन् । हाल उनको आइसियुमा राखेर उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट ७.६२ एमएम पेस्तोलमा प्रयोग हुने ३ वटा खाली खोका फेला पारेर नियन्त्रणमा लिएको छ ।
जिल्लाको सदरमुकाममै यसप्रकारको गोली प्रहारको घटना घटेपछि गौर क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान खुल्न नसकेको भए तापनि उनीहरूको खोजीका लागि आसपासका क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएकव छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र दोषीलाई चाँडै कानुनी दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिबद्धता जनाएको छ ।