काठमाडौंः सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा नेपाल साउथ एशियामा सबैभन्दा पछाडि परेको बताएका छन् । बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उदघाटन कार्यक्रममा बोल्दै उनले आइटी क्षेत्रमा नेपाल पछाडि परेको र यस वर्षभित्र आइटी क्षेत्रमा ए–आइको पोलिसीमा काम गर्ने बताए ।
उनले भने,‘आइटी क्षेत्रमा नेपाल साउथ एशियाको सबैभन्दा पछाडि परेको छ । यस वर्षभित्र आइटी क्षेत्रमा कृत्रिम बौद्धिकता एवम आट्रिफिसियल इन्टेलिजेन्स (एआइ)को पोलिसीमा काम गर्छौं र यस सम्बन्धि ऐन पनि बनाउँछौं ।’
मन्त्री गुरुङले आइटी क्षेत्रको बिकासको लागि नलेज पार्क, आइटी पार्क, एआइ अनुसन्धान केन्द्रको निर्माण गर्ने पनि बताए । उनले भने,‘आइटी क्षेत्रको समस्या समाधान गर्नको लागि पोलिसी प्रोग्राम, ऐन सबै बनाएपछि समस्या समाधान गर्दै आइटी क्षेत्रको संरचनाहरु कसरी बिकास गर्ने भन्नेमा केन्द्रीत हुनेछौं । यसका लागि पूर्वधारको तयारी गरिरहेका छौं । नलेज पार्क, आइटी पार्कको निर्माण गर्ने साथै एआइ अनुसन्धान केन्द्रको निमार्ण गर्नेछौं । यसलाई हामीले सबै प्रदेशहरुमा गर्नेछौं । यसको सुरुवात हामीले काठमाडौंबाट गर्छौं ।’ मन्त्री गुरुङले आइटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीहरुले काम गर्न नपाएको पनि बताए ।