हेटौंडा : देशैभरिका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने उद्योगीहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघको घोषणा गरिएको छ । हेटौंडामामा भएको प्रथम प्रारम्भिक भेलाबाट महासंघको घोषणा भएको हो । उक्त भेलाले विक्रम लिम्बू चेमजोङको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
महासंघको गठन गर्न गत पुस २६ र २७ गते काठमाडौंमा बसेको उद्योगीहरुको भेलाले माघ १७ गते मकवानपुरको हेटौंडामा प्रारम्भिक भेला राख्ने निर्णय गरेको थियो । सोही भेलाले तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा भरत बुदाथोकी, उपाध्यक्षहरुमा क्रमश: रविन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी र विक्रम मण्डल रहेका छन् । त्यस्तै महासंघको महासचिवमा युवा उद्योगी ध्रुवप्रसाद अधिकारी चयन भएका छन् । समितिको उपमहासचिवमा रेसा श्रेष्ठ, कोषाध्यक्षमा देव नारायण चौलागाईं चयन भएका छन् । भेलाले तदर्थ समितिको सदस्यहरुमा सहदेव बोलखे, ज्ञानहरी लामा, अनिल आचार्य, टंकबहादुर सारु, विष्णु हमाल, पदम राउत, सौरभ मारु, कृष्ण आचार्य, नारायण गिरी, शाहिल शाह, रक्की लामा र उपेन्द्रकुमार खड्का सर्वसम्मत चयन भएका छन् ।
नेपालमा पछिल्लो समय प्रशोधित पिउने पानीको निकै माग हुन थालेको छ । यस्तो अवस्थामा देशभरिमा झन्डै ७ सयभन्दा बढी पानी उत्पादन गर्ने उद्योगहरु संचालनमा रहेका छन् । पानी उद्योगमा १५ अर्बभन्दा बढीको लगानी भएको छ भने २२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसमा पनि रोजगारीमा जोडिएका परिवारबाट ६६ हजारले रोजगारमा प्रत्यक्ष लाभ लिएका छन् । यस्तो अवस्थामा पानी उत्पादन गर्ने उद्योगहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघको घोषणा भएको हो ।
तदर्थ समितिका संयोजक लिम्बूले सबै उद्योगीको हकहितको संरक्षण गर्न र नेपालको पानी अन्तराष्ट्रिय बजारमा लैजान पहल गर्न महासंघको स्थापना गर्नुपरेको बताए । उनले महासंघको पारदर्शितामा प्रश्न उठाउने ठाउँ नरहने गरी तोकिएको समयसीमाभित्र प्रथम अधिवेशन गर्नेसमेत बताए । उनले देशभरका सबै पानी उद्योगीहरुलाई महासंघमा गोलबन्द हुन आग्रह गरे ।
त्यस्तै तदर्थ समितिका महासचिव युवा उद्योगी अधिकारीले धेरै लामो प्रयास र छलफलपछि महासंघको घोषणा गरिएको बताए । उनले सम्पूर्ण पानी उद्योगीहरुको व्यावसायिकतामा सहयोग गर्न र उद्योगीहरुको हकहितको संरक्षण तथा व्यवसायीहरुलाई थप उत्तरदायी बनाउन महासंघको घोषणा गरिएको बताए । उनले वैज्ञानिक तथा आधुनिक प्रविधिको आधारमा पानी उद्योगहरुको विकास गरिनेसमेत बताए ।
भेलामा देशभरिका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका गरी झन्डै १ सय बढी उद्योगी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।