विराटनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गल्ती नै नगरेको जलवायु परिवर्तनको असर नेपालीले खेप्नु परिरहेको बताएकी छन् ।
मोरङ ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको सरस्वती माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण हाम्रा सुन्दर सेताम्मे हिमालहरू काला पत्थरमा परिणत भएकोमा चिन्ता व्यक्त गरिन् ।
उनले जलवायु परिवर्तन विश्व समुदायको नै एउटा समस्याको रूपमा खडा भएको बताइन् ।
‘जलवायु परिवर्तनको लागि नेपाली कारक हैन, हामीले हरित ग्यास उत्सर्जन गरेको छैनौं,’ उनले भनिन्, ‘तर पनि हाम्रो मुलुकले जलवायु परिवर्तनको नकारात्मक असरबाट अत्यन्तै बढी प्रभावित हुनु परिरहेको छ ।’
हाम्रा देशका सुन्दर सेताम्मे हिमालहरू आज काला पत्थरमा परिणत हुँदै आएको, मौसमी चक्रमा उत्पन्न असन्तुलनका कारण अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, सुख्खा, खडेरी र डढेलोजस्ता विषम प्राकृतिक प्रकोपहरूको सामना गरिरहनु परेको उनको भनाइ छ ।
जलवायु संकटबाट जैविक विविधता र मानव सभ्यतालाई जोगाउनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न उनले आग्रह गरिन् ।
अहिलेको शिक्षा प्रणालीले यसलाई आफ्नो मुख्य एजेन्डा तथा विषयको रूपमा लिनु पर्ने उल्लेख गरिन् । भण्डारीले नियमित पाठ्यक्रमका अतिरिक्त विविध रचनात्मक क्रियाकलापको माध्यमबाट विद्यालयले विद्यार्थीहरूलाई नागरिक शिक्षा सम्बन्धी विषयमा जलवायु सम्बन्धी सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको बताएकी छिन् ।
भण्डारीले समय सापेक्ष विद्यार्थीलाई सीपमूलक र व्यवहारिक शिक्षा आवश्यक भएको समेत जानकारी गराइन् । उनले समग्र शैक्षिक प्रणाली समय अनुकूल सुधार गर्दै लैजानु पर्नेमा जोड दिइन् । जनशक्तिको प्रक्षेपणको आधारमा विभिन्न विधा र क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति र श्रम बजारको माग बमोजिम प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सरकारले शैक्षिक संस्थाहरूसँग समन्वयात्मक कार्यहरू गर्नु पर्नेमा भण्डारीको भनाइ छ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई विद्यालयले सम्मान गरेको छ । पूर्वप्रधानाध्यापकहरू बलराम पोखरेल, गोविन्द भगत र तिलक सापकोटालाई सम्मान गरिएको छ ।
पूर्वविद्यार्थीहरू वरिष्ठ फिजिशियन डा.दिनेश न्यौपाने, भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराई, उप प्राध्यापक दुर्गाप्रसाद लुइँटेल र बैंकका शाखा प्रबन्धक सञ्जीव चौधरीलाई सम्मान गरिएको छ । यस्तै स्कुल निर्माणका निम्ति जग्गा दान दिने स्वर्गीय सरस्वतादेवी निरौलाका पुत्रबधु सावित्रादेवी निरौलालाई सम्मान गरिएको थियो ।
विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले कृषि, विज्ञान, नर्सिङ र प्राविधिक धारका बस्तुहरूको प्रदर्शनी गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अशोककुमार लुइँटेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छ । २०१४ मा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयमा बाल कक्षादेखि १२ सम्म एक हजार ८ सय विद्यार्थी अध्ययनरत रहेको लुइँटेलले जानकारी दिए ।
प्रदेश सांसद भीम पराजुली, जयप्रकाश चौधरी, ललिताकुमारी चौधरी र ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी लगायतको विद्यालयको प्रगति बारेमा प्रशंसा गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार सरदारले शिक्षक, कर्मचारी सहित विद्यार्थी र अभिभावकहरूको सहयोगले विद्यालय अब्बल बनेको बताए ।