–सन्देश अर्याल
नेपालको राजनीतिक इतिहास परिवर्तन र संघर्षको शृंखलाबाट बनेको छ । लोकतन्त्र, प्रजातन्त्र, राजतन्त्र र गणतन्त्र जस्ता विभिन्न व्यवस्था भोग्दै आएको हाम्रो समाज अहिले पनि असन्तुष्टि र विकर्षणको सिकार भइरहेको छ । राजनीतिक स्थिरता, सुशासन र नागरिक अपेक्षाको समुचित व्यवस्थापनमा भएको असफलता यस विकर्षणको प्रमुख कारण हो ।
व्यवस्था परिवर्तनका हरेक प्रयासले नागरिकमा ठूलो आशा जगाए पनि ती आशा पूरा नहुँदा व्यवस्थाप्रतिको विश्वास र आकर्षण क्रमशः घट्दै गएको छ ।
नेपालमा व्यवस्था परिवर्तनको लामो इतिहास छ । २००७ सालको प्रजातान्त्रिक क्रान्तिदेखि २०६२/०६३ सालको जनआन्दोलनसम्म हरेक परिवर्तनले देशलाई नयाँ मोडमा पु¥याए । यी परिवर्तनले हरेक पटक जनताको जीवनमा सुधार ल्याउने अपेक्षा गरिएको थियो । तर, परिवर्तनका नाराहरू व्यवहारमा कार्यान्वयन हुन सकेनन् । यसका कारण व्यवस्थामा आमजनताको विश्वास गुम्दै गएको छ ।
विशेषगरी अस्थिर प्रकृतिको राजनीतिले पनि जनतालाई निराश बनाइरहेको छ । राजनीतिक दलहरूबीचको विवाद, सरकारहरूको छोटो आयु र स्थिर सरकारको अभावले व्यवस्थाप्रतिको विश्वासलाई कमजोर बनाएको छ । सँगै, नेताहरूले व्यक्तिवादी स्वार्थमा ध्यान दिनु, भ्रष्टाचारमा लिप्त हुनु र जनताको समस्याप्रति संवेदनशीलता देखाउन नसक्नुले व्यवस्थालाई अलोकप्रिय बनाएको छ ।
नेपालमा व्यवस्थाका नाममा परिवर्तन भए पनि आर्थिक असमानता भने जस्ताको तस्तै छ । समाजमा वर्गीय विभाजन र अवसरहरूको असमान वितरणले मुख्यगरी नागरिकमा व्यवस्थाप्रति असन्तोष बढाएको हो ।
विकर्षणको मुख्य कारक
नेपाली समाजमा स्वास्थ्य, शिक्षा र सार्वजनिक सेवाका क्षेत्रमा सरकारको उपस्थिति कमजोर छ । यी सेवाहरू पहुँचयोग्य र गुणस्तरीय नहुँदा नागरिकहरू निजी क्षेत्रमा निर्भर हुन बाध्य छन् । यद्यपि, प्रत्येक परिवर्तनकारी आन्दोलनका पछाडि यिनै मुद्दाहरू उठेका पाइन्छ । चाहे विभिन्न चरणका जनआन्दोलन हुन् वा सशस्त्र युद्ध, जसको पछाडि जनताले आधारभूत मानिएका सेवामा पहुँच खोजेका छन् ।
आज सरकारी निकायहरूमा व्यापक राजनीतिक हस्तक्षेप छ, जसले जनतालाई समान रूपले सेवा दिन सकिरहेको छैन । योग्यताका आधारमा नभई राजनीतिक पहुँचका आधारमा पद र जिम्मेवारी बाँड्ने प्रचलनले व्यवस्थाको कार्यक्षमता कमजोर पारेको छ । यसले व्यवस्थाप्रति तल्लो तहका जनतामा विकर्षण सिर्जना गराएको छ ।
सँगै, न्यायपालिकाको ढिलासुस्ती र प्रभावकारिताको अभावले सर्वसाधारणमा व्यवस्था न्यायपूर्ण छैन भन्ने अनुभूति भएको छ, जसका कारण न्याय प्रणालीप्रति नागरिकको विश्वास घट्दै गएको छ ।
सामाजिक पक्षहरू
आज देशभित्र अवसर नपाएर ठूलो संख्यामा युवा विदेशिने क्रम बढेको छ । वैदेशिक रोजगारी युवाका निम्ति बाध्यकारी बनेको छ । शिक्षा, रोजगारी र उद्यमशीलताको अभावले गर्दा युवाहरू आफ्नो देश र व्यवस्थाप्रति निराश छन् ।
नीति निर्माण र कार्यान्वयन प्रक्रियामा तल्लो तहका जनताको समुचित सहभागिता छैन । जनताको मत त व्यवस्थाको निर्माणमा प्रयोग हुन्छ तर उनीहरूको आवाज व्यवस्थामा समावेश हुन सकेको छैन ।
सँगै, जातीय, लैंगिक र क्षेत्रीय विभाजन व्यवस्थाले सम्बोधन गर्न सकेको छैन । यस्तो असमानताले व्यवस्थाप्रति उपेक्षा र विरोधको भावना उत्पन्न गरेको छ । संविधानमा समावेशिताको कुरा उल्लेख भए पनि विगतमा त्यो एजेन्डाबाट फाइदा उठाउने तप्का नै आज पनि लाभमा छ । अन्यले पहुँच पुर्याउन सकेका छैनन् ।
राजनीतिक कारणहरू
भ्रष्टाचार नेपालको प्रमुख समस्या हो । व्यवस्थाले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन । ठूला घोटालाहरू, सार्वजनिक सम्पत्तिको दुरुपयोग र दोषीलाई उन्मुक्ति दिने परिपाटीले व्यवस्थाको प्रभावकारितामा गम्भीर प्रश्न खडा गरेको छ ।
राजनीतिक दलहरूबीचको विवाद, गुटबन्दी र सत्ता स्वार्थका लागि हुने खेलहरूले आमजनतालाई व्यवस्थाप्रति वितृष्णा जगाएका छन् ।
सँगै, जनताको माग र समस्यालाई बेवास्ता गर्दै व्यक्तिगत तथा पार्टीगत स्वार्थका लागि नीतिहरू निर्माण र कार्यान्वयन हुनु व्यवस्थाको लोकप्रियता घटाउने मुख्य कारण बनेको छ ।
विकर्षण रोक्न के गर्ने ?
व्यवस्थाप्रतिको आकर्षण बढाउन र विश्वास पुनस्र्थापना गर्न केही प्रभावकारी कदम चाल्न आवश्यक छ । पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्नुपर्छ । सरकारी कामकारबाही पारदर्शी बनाउँदै जबाफदेहिता कायम गर्नुपर्छ ।
भ्रष्टाचारमा कडा कारबाहीको व्यवस्था हुनु जरुरी छ । देशभित्र रोजगारीका अवसर सिर्जना गर्दै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्नुपर्छ । कृषि, उद्योग र प्रविधिमा लगानी बढाउनु आवश्यक छ ।
जातीय, लैंगिक र क्षेत्रीय असमानताका मुद्दालाई सम्बोधन गर्दै सबैलाई समान अवसर सुनिश्चित गर्नुपर्छ । स्वास्थ्य, शिक्षा र अन्य सार्वजनिक सेवामा पहुँच र गुणस्तर बढाउन सरकारले प्राथमिकता दिनुपर्छ । दलीय विवादलाई हल गर्दै दीर्घकालीन राजनीतिक स्थिरता कायम गर्न राष्ट्रिय सहमतिको खाका तयार गर्नुपर्छ ।
निष्कर्षमा, व्यवस्थाप्रतिको विकर्षण नेपाल जस्तो देशका लागि गम्भीर चुनौती हो । यो विकर्षणलाई समयमै सम्बोधन गर्न सकिएन भने देश थप अस्थिरतातर्फ धकेलिन सक्छ । व्यवस्थाको सफलताका लागि सबै पक्ष– राजनीतिक दल, नागरिक समाज र सरकारले मिलेर काम गर्नुपर्छ ।
राजनीतिक स्थिरता, सुशासन र नागरिक अपेक्षाको सम्मानले मात्र व्यवस्थाप्रतिको आकर्षण पुनर्स्थापित हुन सक्छ । व्यवस्थाको प्रभावकारिता र जबाफदेहिता कायम गरिएन भने कुनै पनि व्यवस्था जनताको समर्थन र विश्वास कायम राख्न सक्दैन ।