काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ सुरु भएको छ । पार्टीले फागुन महिना भरी केन्द्रीय नेताहरूको उपस्थितिमा सबै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ बिहीबारदेखि सुरु भएको हो ।
‘सर्वाङ्गीण संवाद’मा समाजका हरेक क्षेत्रका व्यक्तिहरूसँग भेटघाट र संवाद गरिने छ । 'सर्वाङ्गीण संवाद’ मा केन्द्रीय नेताहरूले हरेक प्रदेशमा समाजका अगुवा, व्यवसायी, अभियन्ता, लेखक, विज्ञ, लगायतसँग संवाद गर्नेछन् । ‘सर्वाङ्गीण संवाद’मा समाजका हरेक क्षेत्रका व्यक्तिहरूसँग संवाद गरिने गण्डकीका लागि जिम्मेवारी पाएका नेता शिशिर खनालले जानकारी दिए ।
‘संवादको क्रममा सरकारले राखेको राजनीतिक प्रतिशोधको जानकारी गराउँछौं,’ खनालले भने, ‘संवाद र छलफल संगठन निर्माणको कार्यपनि हो ।’
संवादका लागि सुदूरपश्चिममा दिपक बोहरा र प्रतिभा रावल, कर्णालीमा लिमा अधिकारी, लुम्बिनीमा विपिन कुमार आचार्य, गण्डकीमा शिशिर खनाल, वागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशीमा सुमना श्रेष्ठ र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।
संवादबाट प्राप्त सल्लाह सुझावहरूलाई मूलधारको राजनीति निर्माणको लागि महत्त्वपूर्ण हुने अपेक्षा रास्वपाले गरेको छ । संवादका क्रममा सरोकारवालाहरूले उठाएका विषयमा रहेर खटिएका नेताहरूले केन्द्रमा प्रदेशगत प्रतिवेदन बुझाउने छन् । यस प्रकारको संवाद आवश्यकता अनुसार चरणबद्ध गरिने पनि पार्टीले जनाएको छ ।