काठमाडौं : काठमाडौंमा आगामी सातादेखि सुरु हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।
टोलीमा डिफेन्डर मनमाया दमाई तथा मिडफिल्ड सुष्मा तामाङ पहिलो पटक टोलीमा परेका छन् । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । खेलहरु दिनको २ र साँझको ६ बजे खेलिनेछ ।
एन्फाको आयोजनामा ५ फागुनदेखि दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तान खेल्ने छ । नेपालमा पहिलोपटक चारदेशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताका लागि ब्रोडकास्टिङ तथा टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड लजिकलाई प्रदान गरिएको छ । साधारणतर्फ १० हजार ५ सय टिकट मात्र बिक्री गरिने र ७ सय ५० वटा भीआईपी टिकट बिक्री गरिने एन्फाले जनाएको छ । टिकट मूल्य साधारणतर्फ ५ सय तथा भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।
टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् । त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन् । मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी र अनिता केसी छन् ।