–केवल अधिकारी
“भाई उठ है, शुक्र उदाए आज, जुरी भत्काउन जाँदैनस्, दाहीँ छ सगर डढेको थियो हिजो, पानी पर्यो भने त सखाप पार्छ त” हजुरआमाको चर्को स्वरले मेरो निन्द्रा खुल्यो । जुरुक्क ओछ्यानबाट उठेर म अगुल्टो हल्लाउँदै बेसीतिर झरेँ । निभाराको पातमा धुप हाल्न भनेर बोकेको नौनी घिउ एक हातमा अगुल्टो कम्मरमा झटनी रिमरिम उज्यालोमा आफूलाई एक होनहार दँयेरे महसुस गर्दागर्दै खलेगरामा पुगेको पत्तै भएन ।
हिजो खलो लिप्न आउँदा बा–आमाले भेला पारेको मुढामा आगो झोसेर खलेगरा बढारन लागेँ । खलो बडारी सक्दा नसक्दा आगो सल्कियो । कोइला बोकेर धुप लगाउँदै कुन्यउको तीन फन्का मारे र कुन्युमा चढेर पूर्वपट्टि फर्केर “हे भगवान यो पाली चाहिँ २२ मुरी धान बनाइदेउ है” भनेर जुरी भत्काएँ । बाल्यकालदेखिको मनमित्र बोकेको सपना आज पूरा हुँदा मेरो अनुहारमा एक प्रकार चमक आएको आफैलाई भान भइरहेको थियो ।
जीवनमा पहिलो पल्ट काका अनि बाबाको अनुपस्थितिमा म एक्लै जुरी भत्काउँदा पुरुषार्थको भान पनि भएको थियो । जुरी भत्काएर यसो उभोँ हेरेको निन्दिको टुप्पोमा घाम दखेँ । यो देख्दा मेरो शरीर एक प्रकारको ऊर्जा प्रदान भयो ।
मेको फेदमा परालको मुठा बाँधेर जुरी भत्काउँदा निकालेको पराललाई छिरोल्न थाले । छिरौली सकेर उभो कारबारीको बरको फेदमा हेरेँ । अझै गोरु ल्याएका छैनन् उफ.... गरेर आलीमा बसेँ । सायद जुरी भत्काउने जोशमा काम अलिक छिटो गरेर होला मंसिरमा मेरो निधारमा पसिना पो आएको रहेछ ।
बल्ल माथि गोरू धपाएको आवाज सुनियो । कालो तारे र कालो पुँडे गोरु पछिपछि बाबा र दुई दहेरेँ आउँदै रहेछन् । मनमा ढुक्क भयो र मेमा कुडुलो हेरेँ । गोरु बाँध्नलाई सब ठिक रहेछ । आमाले पठाको कितलीको चिया, त्यो पनि चिनिहालेको सासले दुई गिलास पिएँ र गोरु ल्याएर मेमा बाँधियो । एक प्रकारले दाइँको सुरुवात भयो ।
जीवनमा पहिलोपल्ट धान झाँट्दै थिएँ । “यो त बयरनी हो अलिक कुट्नुपर्छ है” भन्दै बाबाले मलाई भन्नुभयो । हर्षका साथ जोर जोरले धान झाँट्न थालेँ, गुबी कुटिसक्दा नसक्दा आमा पनि डोको बोकेर दयरेलाई खाना पकाउन आउनुभयो । डोकोमा चामल, थालबटुका, घरमा पकाएको सब्जी, अचार लिएर आउनु भएको रहेछ । आफ्नो ज्यूको ख्याल नराखी धान झाँटेकोले भोकले रिंगटा छुटिसकेको थियो । बेला–बेला आमाकोमा जाँदै “पाकेन ?” भन्दै सोध्दै आउँदै गर्दै थिए ।
“चामल अलि कम्ति हाल है दुई जना दहेरेँले ढाँटेछन् ।”
“ला.... हो र ?” आमाले प्रतिक्रिया जताउनु भो ।
भात पाकिसकेपछि आमाले सबैभन्दा पहिला मलाई खान दिनुभयो । घाममा राखेको नेवाराको पातको नैनी घिउ, कालो दाल, मुलाको थेबे । अन्त, भोक दुई पल्ट थपेको यादै भएन ।
भात खाएर परालको माझ बनाइयो । लगभग दुई तिससम्ममा परालको थानको मुनको गरेपश्चात परालको धुलो काट्न सक्करको डल्ला सबै खाइयो ।
“धान यो पाली अलिक परेछ, दुई दहेरेंले नढाँटेको बा अलिक छिटो हुन्थ्यो तर, रुङ्न त रुङ्नै पर्छ” भन्नुभयो बाबाले ।
हामी सबैलाई खाना दिकिन आमा घर लाग्नुभो, सबै मिलेर धान बताइसक्दा झमक्कै रात पर्यो ।
“काका र भतिज धान रुग्नुु, म घर गएर लुगाफाटो र खाना लिएर आउँछु” भनेर बाबा र सबै त दहेरेँ घर लागे । रात ढल्दै गयो तल मसानघाट (बुधुने) तिर पिलपिल बत्ती बल्न थाल्यो । हजुरआमा, काका, बाबाहरूले सुनाएका भुतेराँकाको कथा आज यथार्थ होला जस्तो लाग्यो । एउटा बत्ती हाम्रो खलेगरातिर आको, जस्तो लाग्छ हेर्दाहेर्दै चार÷पाँच वटा हुन्छ, अन्त झ्याप निप्छ । ढुकढुकी बढेको बढ्यै छ, कहिले बाबा आउने माथि कारबारीका बरको फेदमा पिलिक्क बत्ति बल्छ । अब बाबा आउनुभो भन्यो, कालो ढुङ्गाबाट बत्ती यतै आउँदैन ।
उता मलाई दिनभरिको थकाईले निन्द्रा लाग्न थालिसक्यो । काकामा पनि डर त्रास झल्किरहेको छ । कम्मरमा खुकुरी बाँध्नु भएको भएपनि अनुुहार अर्कै छ । तल्लो गरामा गोरुले ठूलो सास फेर्दा पनि काका जुरुक जुरुक उठ्नु हुँदैछ “डर लाग्यो तलाईं” भनेर मलाई आफू निडर भएको आभास गराउनु हुँदैछ । मलाई त ब्यासीमा मंसिरको जाडोले दिनभरिको थकाइले डरभन्दा पनि ज्यादा निन्द्रा लागिरहेको छ । तर, पनि काकाका लागि “छैन” भन्दैछु ।
काका र म परालको माझमा मुठे पराले बारेको कटेरोमा बसिरहेका थियौँ । अचानक पर आगो बालेको मुढा तल्लो गरामा गयो, हामी चुही पनि नगरी पोको परेर बसेका छौं काकाले भन्नुभयो “त्यो मुढा त बुधनेबाट ल्याएको होइन, लास पोलेको भूतले त उतै पो लान्छ रे त राती” मेरो हंसले ठाउँ छोड्यो । न कराउन सक्छु न बोल्न “भाई ओइ भाई” बाबाको आवाज सुने “हजुर” हतार हतार म बोले । “किन नबोलेको” भन्नुभयो मैले भने “बाबा आगोको मुडा तल्लो गरामा तान्यो कुन्नी केले”, “कहिले” बाबाले सोध्नु “भर्खर” ए मैले हो त्यो अगुल्टो तल्लो गराकमा फ्याँकेको नि भुस सल्कियोस् भनेर ।