–निरज निरौला
आजको संसार कुनै एक भौगोलिक सीमामा सीमित छैन । विश्व नै सानो गाउँमा सीमित भएको छ । संसारको कुनै एक कुनामा घटेको घटना छिनभरमै संसारको अर्को कुनामा थाहा पाउन सकिन्छ ।
रुसले युक्रेनमा गरेको आक्रमण होस् या प्यालेस्टाइन र इजरायल युद्धको कुरा, छिनभरमै संसारको जुनसुकै कुनामा थाहा पाउन सकिन्छ । प्रविधिको उच्च प्रयोगले छपक्कै छोपेको संसारमा एआईको प्रयोग पनि उच्च भएको र नयाँनयाँ आविष्कारले संसार साँघुरिँदै गएको अवस्था छ । संस्कृति र प्रविधिको आदानप्रदानले रोजगारीका अवसरहरू पनि संसारभर फैलिएका छन् ।
ठूलाठूला कम्पनीहरूले संसारभर शाखा विस्तार गरेका छन्, लाखौंलाई रोजगारी दिएका छन् । सीप र प्रविधिको आदानप्रदान भएको छ ।
समयसमयमा देशमा परिवर्तनका आवाजहरू गुन्जिए, ठूलाठूला आन्दोलनहरू चले, त्यस समयमा यातायात र संचारको त्यति प्रचलन थिएन, शिक्षाको पहुँच सम्पूर्णमा थिएन तर ती आवाजहरू सशक्त थिए ।
जनसमर्थन पनि राम्रो थियो । त्यसकै बलमा व्यवस्थाहरू फेरिँदै–फेरिँदै आइरहे । जनताको अवस्थामा कुनै किसिमका परिवर्तन आजका मितिसम्म पनि आउन सकेको छैन । भलै, विकासका मोडेलहरू फेरिए, आन्दोलनका आवाजहरू र स्वरूपहरू फेरिए तर जुनसुकै व्यवस्था आए पनि सुख्खा खेतमा कुलो पुर्याउन सकिएन । समयमा औषधि र मल पुर्याउन सकिएन ।
बिउको संरक्षण गर्न सकिएन । उत्पादनलाई उचित भण्डारण र बजार प्रदान गर्न सकिएन । समयमा विद्यालयमा पाठ्यपुस्तक र आवश्यक जनशक्ति व्यवस्थापन गर्न सकिएन । सार्वजनिक सेवा प्रवाहमा जबाफदेहिता र पारदर्शिता कायम गर्न सकिएन । त्यसैले त हाम्रो देशका भविष्यले उच्च शिक्षा पढ्दा नपढ्दै युरोप, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विकसित देश जाने सपना बुनेर बस्छन् ।
देशमा कुनै अवसर नपाएपछि छोरा–छोरी सबै विदेश जान्छु भनेपछि सिंगो गाउनै रित्तो हुँदै छ । लोकतन्त्र आएपछि खै, यो कस्तो समाज बन्यो । सम्पूर्ण आन्दोलनको उपलब्धि यही थियो र ? त्यस समय देखेको सपना यही थियो र ? यसैका लागि हामीले ऊ बेला त्यो समर्थन गरेका थियौं र ? यी प्रश्नहरू आज प्रश्नमै सीमित भएका छन् ।
राज्य व्यवस्था निरीह बनेको छ । योजना र दूरदर्शिता नभएका मान्छे सत्तामा पुगेका छन् । इतिहासमै सबैभन्दा कमजोर परराष्ट्र नीति देखेका छौं अहिले ।
कति सपना थिए होलान् ? कति योजना थिए होलान् ? तर, देशको बिग्रँदो परिस्थिति र विस्तारित बिदेसिने परम्पराले भएको घरजग्गा धितो राखेर बैंकबाट कर्जा लिएर छोरा–छोरीलाई विदेश पठाउन बाध्य छन् हरेक नेपाली बाबु–आमा ।
समयको गति सँगसँगै हाम्रो यात्रा पनि अगाडि बढ्छ र बढ्नुपर्छ तर धिमा गति देखिएको छ । आर्थिक मन्दीको सिकार छ । उत्पादनमूलक क्षेत्र, कृषि, व्यापार व्यवसाय सबैमा नैराश्य छ । आज सक्षम जनशक्ति देशमा बस्न चाहँदैन । गरिबी र बेरोजगारीको संख्यामा बढोत्तरी आइरहेको छ ।
लाखौं लगानी गरेर पढेका डाक्टर, इन्जिनियर, पाइलट देशभित्रै स–सम्मान रोजगारीको अवसर नपारपछि के गर्ने ? घरजग्गा धितो राखेर पढ्ने र पढाइपश्चात् पनि देशमा बसेर कर्जा तिर्न सकिँदैन भने किन बस्ने ? यी यावत् प्रश्नहरूका बारेमा सम्बन्धित नीति निर्मातालाई थाहा नभएको पनि होइन । तर, जो नेतृत्वमा छन्, उनीहरू पनि यहाँ सुरक्षित देख्दैनन् र आफ्ना सन्तानलाई समयमै सुरक्षित गर्दै छन् ।
नेपाल एउटा खुल्ला संग्रहालय हो । संसारमा स्वर्ग काहीँ छ त त्यो नेपाल नै हो । सिजन–सिजनमा फल्ने अनेकथरिका फलफूल, प्रचुर कृषियोग्य भूमि भएको, अनेकौं सम्भावना भएको भूगोल हो । यस्तो समय थियो, जुन बेला घर वरिपरि अनेकौं फलफूल लटरम्मै फलेका हुन्थे, खाद्यान्न बाली बारीमा फलेका हुन्थे । गाउँगाउँमा युवाहरूको समूह हुन्थ्यो । लाग्थ्यो, गाउँ नै एउटा स्वर्ग हो ।
कृषिप्रधान भनेर चिनिने देशमा झन्डै दुई तिहाइ जनसंख्या कृषि पेसामा आबद्ध रहेको पाइन्छ तर पनि कृषिजन्य आयातमा कटौती हुन सकेको छैन । प्रचुर प्राकृतिक सम्पदाको वर्णन गरिए पनि व्यवहारमा उतार्न सकिएको छैन । सम्भावनाको खानी भनिन्छ तर अवसरलाई उपयोग गर्न सकिएन ।
ग्रामीण उद्योगलाई निरुत्साहित गरेर राष्ट्रिय अर्थतन्त्र मजबुत बन्दैन । भलै, यो अवस्थामा अर्थतन्त्र चलायमान विप्रेषणले गराएको सत्य हो तर यो दीर्घकालीन समाधान भने होइन । गाउँमै रमाउने वातावरण हामी सबैले बनाउनुपर्छ । ग्रामीण उत्पादनलाई राष्ट्रिय अर्थ व्यवस्थामा जोड्न सक्नुपर्छ ।
गाउँमै आफ्नो जीवन बिताएर सेताम्मे फुलेपछि बिदेसिने र बहर जाने सपना बुन्नु र सोच बनाउनु अप्रत्यक्ष रूपमा देशको अर्थ व्यवस्था बहर केन्द्रित हुनु हो । यस किसिमको जनसंख्याको वितरणको अवस्थाले सार्वजनिक सेवा प्रवाहमा पनि असर पर्छ र समस्या सिर्जना गर्छ । सीप सिक्नु आफंैमा राम्रो कुरा हो तर सिकेको सीपको उपयोग गर्न नसक्नु पछौटेपन हो । सीप सिक्न र रोजगारीका लागि आजको समयमा मानिस संसारको जुनसुकै ठाउँमा पनि जान सक्छन् तर देशले सीपको सम्मान गर्दै प्रयोगको उचित उपयोग गर्न सक्नुपर्छ ।
अब आउने पुस्ता बस्नयोग्य मुलुक बनाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । स्रोत, साधनको न्यायोचित सदुपयोग तथा प्राकृतिक संरक्षण गर्दै आवश्यक सामान्य पूर्वाधार निर्माण गर्नुपर्छ । नीति निर्माण पक्षले समयमै आवश्यक नीति निर्माण गर्नुपर्छ । गाउँलाई शहरसँग र शहरलाई गाउँसँग जोड्न सक्नुपर्छ ।