दोहा, कतार : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थिरता नभएसम्म देशमा समृद्धि नआउने बताए । शुक्रबार मधेश प्रदेश समन्वय परिषद् कतार तथा मधेसका करिब ३२ वटा संघ संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेको परिषद्को चौथो स्थापना दिवस तथा होली महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा न्यायलय स्वतन्त्र नहुँदा समृद्धिमा असर पर्ने धारणा राखे ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वउपप्रधानमन्त्री यादवले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश जनताको हितमा नरहेको दाबी गरे । तराई मधेशमा रहेका ऐलानी, पर्ती, गुठीका जमिनहरू सरकारमा रहेका पार्टीका कार्यकर्ताको कब्जामा जाने सम्भावना उच्च भएकाले अध्यादेश जनताको हितमा नरहेको स्पष्ट पारे । यादवले नेपालको कर्मचारीतन्त्र अनुशासित हुनुपर्ने आवश्यकता औंल्याउँदै विश्वमा आफू थुप्रै देश पुगे पनि नेपालजस्तो सुन्दर देश अरू नभएको धारणा राखे । प्राकृतिक सम्पत्तिको सही सदुपयोग गर्न सकेमा नेपाल विश्वमा नमुना बन्ने उनको धारणा थियो ।
कतारमा रहेका सीमित संस्थाका प्रतिनिधि तथा प्रमुखहरू पुगेको उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले ५१ प्रतिशत जनता एक ठाउँमा उभिन सक्ने हो भने तराइ-मधेशका अधिकार सहजै प्राप्त हुने बताए । तराईमा गरिब चेलीबेटीको बलात्कार हुँदा पनि भित्रभित्र डर देखाएर थामथुम पार्ने, कानुनी उपचार खोज्न जाँदा पनि असहयोग हुने गरेको वक्ताहरूको गुनासो थियो । वक्ताहरूले यादवमार्फत कानुन सबैका लागि बराबर हुनुपर्ने माग राख्दै विधिका शासनको न्यूनतम प्रयोग पनि नभएको हुँदा कानुनमा सबै नेपाली बराबर हैसियतको भएको हुँदा धनी र गरिबका बीचमा हुने कानुनी दाउपेच चिर्न सुझाव दिएका थिए ।
कार्यक्रममा कतारमा रहेका हजारौं मधेशी दाजुभाइहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय मैथिली कला परिषद्का कलाकारहरूले होलीका परम्परागत गीत, जोगिरा तथा अन्य थुप्रै सांगीतिक प्रस्तुति दिएका थिए l
परिषद्का सल्लाहकार प्रकाश आले मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै परिषद्का अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष मोहमद नियाज सेखले आपसी मेलमिलाप सद्भावनाको सन्देश लिई मनाउँदै गरेको होली तथा आउँदै गरेको रमादानको शुभकामना ज्ञापन गरे । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै आफूले मधेश प्रदेशको हितमा रहेर काम गरेको र गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए l कार्यक्रमलाई तेजिलाल मण्डल र चन्द्रवीर यादवले मिलेर सहजीकरण गरेका थिए l