२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वैदेशिक रोजगारमा जाने कामदारको मानसिक स्वास्थ्य परीक्षण पनि गर्न सुझाव

ADV
२०८१ असार १६ गते ०६:४०
वैदेशिक रोजगारमा जाने कामदारको मानसिक स्वास्थ्य परीक्षण पनि गर्न सुझाव

काठमाडौं : वैदेशिक रोजगारमा जाने कामदारको शारीरिकसहित मानसिक स्वास्थ्य परीक्षणलाई पनि समावेश गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पावर माइण्स प्रा.लि. र मलेसियाका मनोसामाजिक परामर्शदाताहरूको समन्वयमा शुक्रबार गरेको छलफलमा उनीहरुले कामदारको शारीरिक तन्दुरुस्ती र अन्य रोग परीक्षणसहित मानसिक स्वास्थ्यको विषय सरकारी नीतिको प्राथमिकतामा रहनुपर्ने बताए ।  

वैदेशिक रोजगारमा गएका युवाहरुमा सुतेकै अवस्थामा मृत्यु हुने, डिप्रेसनका कारण आत्महत्या गर्नेलगायतका समस्याहरुले बीचमै रोजगारी छोड्ने, कम्पनीसँग सेवा सुविधाजस्ता विषयमा अनावश्यक झगडा गर्ने प्रवृत्ति बढ्नु मानसिक स्वास्थ्यसँग जोडिएको विषय हुनसक्ने उनीहरूको भनाइ छ ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा वैदेशिक रोजगार महाशाखा प्रमुख गोविन्द रिजालले मानसिक स्वास्थ्यका विषयमा पनि परामर्श गरेर गम्भीर समस्या देखिएका बिरामीलाई रोजगारीमा नपठाउन सुझाव दिए ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले मानसिक स्वास्थ्य समस्या रहेका व्यक्तिलाई उचित परामर्श दिएर पठाउने र त्यसलाई नियमित स्वास्थ्य परीक्षणमा राख्नु उचित हुने बताए । संघका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री कुमारले आप्रवासी कामदारको मानसिक स्वास्थ्यको विषयमा अन्तर्राष्ट्रिय श्रम संगठनले गम्भीरताका साथ उठाएको भन्दै नेपालले यस विषयमा उत्तिकै गम्भीरता देखाउन जरुरी रहेको बताए । कामदार पठाउने र लिने दुवै मुलुकमा कामदारको मानसिक स्वास्थ्यको पक्ष छलफलको विषयका रूपमा प्रवेश गरिसकेको भन्दै प्रथम उपाध्यक्ष खत्रीले मन्त्रालयले यसलाई छलफलको प्राथमिकतामा राख्न जरुरी रहेकोमा जोड दिए ।

छलफलमा सहभागी व्यवसायीले हाल कामदारको मानसिक स्वास्थ्यलगायतका विषयमा म्यानपावर कम्पनीहरू पनि सचेत रहेको भन्दै छनोटका क्रममा मानसिक स्वास्थ्य छानबिन ‘स्क्रिनिङ’ गर्न एचआर अधिकृतहरूलाई लगाउने गरिएको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise