२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

जेठ २३ र २४ गते बुटवलमा श्रमाधान मेला हुने

shivam cement
२०८१ जेठ २१ गते २१:२१
Shares
जेठ २३ र २४ गते बुटवलमा श्रमाधान मेला हुने

बुटवल : यही जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेला गर्न लागेको हो । 

संघ, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रूपमा आयोजना गर्ने मेलामा ४० वटामा स्टलमा औद्योगिक प्रतिष्ठानहरूले रोजगारीमा प्रवेश गर्ने बाटो खोलिदिने सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि यो कार्यक्रम सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।

‘मेलामा सीप विकास, कार्यशाला, नेटवर्किङ सत्र, स्टलहरू र रोजगारीका अवसरबारे प्यानल डिस्कशनहरू हुनेछन्,’ उनले भने, ‘मेलामा ४० वटा स्टल हुनेछन् । जसमा बायोडाटा निर्माण, सिकाइसम्बन्धी उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरू वैदेशिक रोजगार कल सेन्टरलगायत सरकारी तथा निजी क्षेत्रका स्टलहरू मेलामा हुनेछन् ।’ 

श्रमदान रोजगार मेलाले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा अघि बढ्ने प्रमुख पाण्डेयले बताए ।

श्रम कार्यालयका प्रमुख कृष्ण प्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहजीकरण पनि गरिने बताए । मेला बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा हुनेछ । त्यस्तै सुरक्षित आप्रवासन, रोजगार तथा रोजगारीको खोजी गर्नेहरूको आवश्यकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि गरिनेछ ।

विकासोन्मुख देशहरूले जस्तै नेपालले पनि रोजगारीको क्षेत्रमा विशेष गरी युवा बेरोजगारीका चुनौतीको सामना गरिरहेको छ । नेपालको ३० वर्षभन्दा मुनीको जनसंख्याको ६३.७ प्रतिशत छ । हरेक वर्ष ४० लाख नेपाली युवा श्रम बजारमा प्रवेश गर्ने गर्छन् । 

आन्तरिक रोजगारीलाई प्रवद्र्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउँदै सरकारले सातै प्रदेशमा श्रमदान रोजगार मेला आयोजना गरेको हो । देशका सातै प्रदेशमा हुने श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा ३० जेठमा समापन हुनेछ ।

सम्बन्धित खबर