२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

प्रवासमा अंगभंग भएका र अलपत्र परेका आफ्ना नागरिकको उद्धार सरकारले गर्नुपर्छ : गगन थापा

ADV
तिलु शर्मा पौडेल
२०८१ असार १६ गते २१:५७
प्रवासमा अंगभंग भएका र अलपत्र परेका आफ्ना नागरिकको उद्धार सरकारले गर्नुपर्छ : गगन थापा

दोहा, कतार : नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले प्रवासमा अंगभंग भएका र नेपाल फिर्तीमा समस्या भएका बिरामीलगायतका पीडितको उद्धार, बीमालगायतका काम सरकारले गर्नुपर्ने बताएका छन् । त्यसका लागि उनले आफू कतारबाट फर्केलगत्तै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग छलफल गरी भइपरी आउने खर्चबाट उद्धार गर्न पहल गर्ने बताए ।

कतारमा रहेका नेपाली समुदायको प्रतिनिधित्व हुने गरी शनिबार साँझ नेपाली राजदूतावासको सभा हलमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतार र नेपाल पत्रकार महासंघ, कतार शाखाद्वारा संयुक्तरूपमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

संघका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा संघीय सांसद थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा एक दर्जनभन्दा बढी श्रमिक तथा प्रतिनिधिहरूले विविध विषयमा प्रश्न राखेका थिए । उनीहरुले सरकारको बदलीसँगै राजदूतको फिर्ती, कतारमा कल्चरल सेन्टर तथा नेपाली स्कुलको स्थापना, नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, प्रवासबाट मताधिकार, अलपत्र परेका मानिस तथा शवको उद्धारमा सरकारी उदासिनतालगायतका बारेमा प्रश्न गरेका थिए । कार्यक्रममा उठेका प्रश्नको जवाफ कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र सांसद थापाले पालैपालो दिएका थिए ।

जवाफमा सांसद थापाले वार्षिकरूपमा ५ लाख नेपालीले मातृभूमिमा रोजगारी पाउने वातावरण निर्माण गर्ने राज्यको दायित्व रहे पनि वार्षिक सरकारी ५० हजार मात्र रोजगारी प्रदान गर्न सकिएको र नेपालमा सरकारी जागिरमा पनि कतिपय अवस्थामा न्यून आय हुने हुँदा प्रवासिन बाध्य भएको बताए । नेपालमा युवाहरूको संख्या उच्च रहेको हुँदा प्रवासिनेको लर्को बाक्लो रहेको बताउँदै उनले नेपालमा रोजगारी सिर्जना गर्न उद्योग कलकारखाना खोल्नुपर्ने बताए । उनले नेपालमा खोलिएका गार्मेन्ट उद्योगमा काम गर्ने कामदार सबै भारतीय रहेको हुँदा श्रम बजार नमिलेको बताए । उनले नेपालबाट सबैभन्दा ठूलो रकम भारतमा जाने गरेको बताए । नेपालमा पूर्वाधार निर्माणका योजना अगाडि नबढेसम्म रोजगारी सिर्जना नहुने र पूर्वाधारका लागि लगानी आवश्यक रहेको औंल्याए ।

अर्को एक प्रश्नको जवाफ दिँदै गगनले खाडीका श्रमिकलाई नेपालको विमानस्थलमा गरिने हेयको व्यवहार आफूले नजिकबाट देखेको बताए । उनले नेपालमा निजी क्षेत्रको भन्दा सरकारी विद्यालयको शिक्षामा लगानी बढी रहेको बताए । उनले हरेक ठाउँमा सरकारले काम गर्न नसक्ने अवस्था रहन सक्नेतर्फ इङ्गित गर्दै कतारमा स्कुल र कल्चरल सेन्टरका लागि निजी लगानीकर्ता अगाडि आउँदा राम्रो हुन सक्ने सुझाव दिए । राजदूत फिर्तीका विषयमा उनले दलले पार्टीले मेरो भागमा राजदूत पर्‍यो भन्दै राजदूत फिर्ता गर्ने गरिएकोप्रति व्यक्तिगत रूपमा आफूलाई खुसी नमिलेको र यसले कार्यसम्पादनमा समेत असर गर्ने गरेको हुँदा सुझावहरूलाई सम्बन्धित निकायमा पुर्‍उने बताए ।

राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न आफू नहिचकिचाएको र नहिचकिचाउने बताउँदै सहकारी पीडितहरूले न्याय पाउनुपर्नेमा आफू दृढ रहेको बताए । काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सुदर्शन र बुटवलको सुप्रिम सहकारीका ठगको गिरोह एउटै रहेको बताए । उनले ठग्ने मानिस आफ्नै पार्टीको होस् या प्रधानमन्त्री नै किन नहोस् त्यो ठग नै हुने बताए ।

कार्यक्रमको समापन तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै नेपाली राजदूतावासका लागि एनसीसी कतारले खरिद गरेको प्रिन्टरसमेत अलपत्र परेको कार्यक्रमका सभापति तथा एनसीसी कतारका अध्यक्ष रमेश भट्टले बताए । उनले एनसीसी कतार सदैव श्रमिकको पक्षमा रहेको र नियोगबाट प्रदान गरिने सेवामा सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता दोहोर्‍याए । एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले कार्यक्रमका बारेमा स्पष्ट पारेका थिए । पत्रकार महासंघ शाखा कतार शाखाका अध्यक्ष दिल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सचिव दिलीप पराजुलीले सहजीकरण गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise