सुर्खेत : बालीनालीमा शत्रु जीव व्यवस्थापन गर्न प्रयोग गरिने विषा(दीहरूको अत्यधिक प्रयोग र दुरुपयोगबाट सबैभन्दा बढी जोखिममा किसान (प्रयोगकर्ता) पाइएको छ । किसानहरूले अत्यधिक रासायनिक विषादीको प्रयोग गरेको भन्दै विषादीको प्रत्यक्ष रूपमा दोहोरो जोखिममा परेको किसानकै गुनासो छ ।
सुर्खेतमा आयोजित एक कार्यक्रममा सहभागीहरूले विषादीमुक्त बनाउन सरकारले खाका निर्माण गरेर अगाडि बढ्नुपर्ने सुझाव दिए । सल्यान कपुरकोटका किसान टेकबहादुर पुनले बालबालिकालाई सानैदेखि विषादीको असरबारे सचेत गराउँदै अग्र्यानिक खेतीतर्फ अभिप्रेरित गर्न सकिएमा भविष्यमा विषादी प्रयोग न्यूनीकरण हुने बताए ।
कर्णाली प्रदेश बिउ–बीजन संघका अध्यक्ष याम शर्माले प्रदेशमा हाल प्रयोग भइरहेका ८० प्रतिशतभन्दा बढी बिउहरू विदेशबाट आयात हुने जानकारी गराउँदै बिउ उत्पादनमा आत्मनिर्भर बन्न सकेमा मात्र अग्र्यानिक उत्पादनको दिशामा अघि बढ्न सकिने दाबी गरे ।
यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि विज्ञ वेदप्रसाद चौलागाईंले बालीनालीमा प्रयोग गरिने रासायनिक विषादीबाट प्रत्यक्ष रूपमा प्रभावित धेरैजसो किसान नै हुने गरेका हुँदा उनीहरू विषादीको जानी नजानी दोहोरो जोखिममा परेका बताए ।
‘बालीनाली उत्पादन गर्दा बिनातयारी रासायनिक विषादी प्रयोग गर्ने र उत्पादन भएको वस्तु उपभोग गर्ने पनि किसान हुने हुँदा उनीहरू दोहोरो जोखिममा देखिएका छन्’, उनले भने, ‘रासायनिक विषादीको अत्यधिक प्रयोग र दुरुपयोगबाट किसान तथा उपभोक्तालाई सचेतना गराई यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकेमा सरकारलाई नै फाइदा हुन्छ ।’
कृषि विज्ञ चौलागाईंले कर्णाली प्रदेश प्रांगारिक प्रदेश घोषणा भइसकेपछि किसानहरूले विषादी पाउन गाह्रो भएको गुनासो आउने गरेको बताए । उनले कृषि कार्यालयमा विषादी लिन जाँदा कर्मचारीहरूले ‘हामी प्रांगारिक प्रदेश हौं, यहाँ विषादी छैन’ भन्ने प्रतिक्रिया दिने गरेका गुनासो गरे ।
एक पटकमा विषादी हटाउन सम्भव नरहेको भन्दै क्रमिक रूपमा यसको प्रयोग न्यूनीकरण गर्दै जानुपर्नेमा उनको जोड छ ।
विषादीमुक्त बनाउन सप्ताहको तयारी
कर्णाली सरकारले आगामी ३ देखि ९ चैतसम्म विषादी प्रयोगमुक्त सप्ताहको तयारी गरेको छ । तर, बजेट अभावका कारण जिल्लास्तरमा प्रांगारिक कार्यक्रम प्रभावकारी रूपमा संचालन गर्न नसकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकायले बताए ।
उनले हाल सुर्खेतका सिम्ता र चिंगाड गाउँपालिका एवं भेरीगंगा नगरपालिकालाई प्रांगारिक पालिका घोषणा गरिएको उल्लेख गर्दै प्रदेशभर यस्ता कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । प्रमुख रोकायले प्रदेश सरकारले आगामी दिनमा प्रांगारिक पाठशाला संचालनमा विशेष ध्यान दिन आग्रह गर्दे विषादी प्रयोगमुक्त अभियान सफल बनाउन सबै तहको सहकार्य आवश्यक रहेको बताए ।
विषादीसम्बन्धी ज्ञान अभाव
एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकायले विषा(दीको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान किसानमा नहुनु, जानकार किसान पनि लापरबाह हुनु, वैकल्पिक विधिका बारेमा ज्ञान नहुनु, भारतीय विषादी र बिउ–बीजनको बढी विश्वास गर्नुले प्रयोगकर्ता विषाक्त हुँदै गएका बताए ।
उनले सबै विषादीलाई ‘कक्टेल’का रूपमा प्रयोग गर्नु, पर्खनुपर्ने अवधिबारे प्रायः किसानलाई जानकारी नहुनु, रासायनिक विषादीको विकल्प सहज रूपमा उपलब्ध नहुनुलगायतका कारणबाट पनि किसान दोहोरो जोखिम अर्थात् प्रयोगकर्ता विषाक्त हुँदै गएका बताए ।
उनले किसान, उपभोक्ता, विद्यार्थी र कृषि व्यवसायीहरूलाई विषादीको असरबारे सचेत गराउने, अग्र्यानिक खेतीलाई प्रवद्र्धन गर्ने तथा वैकल्पिक मल प्रयोगबारे प्रशिक्षण कार्यक्रमहरू संचालन गरिने प्रतिबद्धता जनाए ।