
टोकियो : गायक सज्जनराज वैद्यको सांगीतिक प्रस्तुतिले मंगलबार जापानको टोकियोस्थित योयोगी नेसनल स्टेडियम नेपाली दर्शकले खचाखच भरिएको थियो । कार्यक्रममा सहभागी दर्शकले गीतसँगै गाउँदै–नाच्दै सांगीतिक साँझको भरपूर आनन्द लिएका थिए ।
जापानमा आयोजना हुने अन्य सांगीतिक कार्यक्रमको तुलनामा यो कन्सर्टमा फरक खालको उत्साह देखिएको थियो । विशेषगरी युवायुवतीहरूको उपस्थिति उल्लेख्य रहेको थियो ।

१५ सदस्यीय ब्याण्डसहित मञ्चमा उत्रिएका वैद्यले ‘सुन कान्छी’, ‘चिठी भित्र’, ‘हतास’ र ‘धैर्य’ लगायत आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा स्टेडियमभित्रको माहोल निकै उत्साहपूर्ण बनेको थियो । उनका दर्जनौं लोकप्रिय गीतमा दर्शकले साथ दिँदै गाएका थिए ।
झन्डै साढे तीन घण्टा चलेको कार्यक्रममा दर्शकहरू अन्तिमसम्म रमाइरहेका देखिन्थे । कार्यक्रम सकिँदा पनि धेरै दर्शकले अझै गीत सुन्न नपुगेको प्रतिक्रिया दिएका थिए । दर्शकमध्येकी शर्मिला लामाले कार्यक्रम चाँडै सकिएको महसुस भएको र मनपर्ने केही गीत सुन्ने इच्छा बाँकी नै रहेको बताइन् ।

सज्जनराज वैद्यको जापानमा आयोजित यो पहिलो सांगीतिक कार्यक्रम हो । आयोजकका अनुसार कार्यक्रममा ३ हजारभन्दा बढी दर्शकको सहभागिता रहेको थियो ।
जिएमटी इन्टरनेशनल कम्पनी लिमिटेडको मुख्य आयोजनामा तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सफलतापछि आयोजक टोली उत्साहित देखिएको छ ।

कार्यक्रमका क्रममा आयोजक सदस्य तथा पत्रकार तिलक मल्लले दर्शक र प्रायोजकलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा इभेन्ट पार्टनर येहे रेमिट्यान्स, मिडिया पार्टनर समुद्रपारि डटकम, प्रोमोसन पार्टनर डिसी क्रिएसन र हस्पिटालिटी पार्टनर डिएनएस कम्पनी रहेका थिए ।
आयोजक समितिका संयोजक वीरेन्द्र शाहीले समय तालिकामा परिवर्तन हुँदाहुँदै पनि दर्शकको धैर्यता र उत्साहले कार्यक्रम ऐतिहासिक बनेको बताए । उनका अनुसार यस सांगीतिक साँझले जापानमा रहेका नेपाली समुदायबीच एकता र संगीतप्रतिको प्रेमलाई थप मजबुत बनाएको छ ।