२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

रोकिएन कुप्रथा, निशानामा निमुखा

hardik ivf
दिवाकर अधिकारी
२०८१ फागुन २२ गते ०६:३५
रोकिएन कुप्रथा, निशानामा निमुखा

काठमाडौं : १ पुस २०८१ मा कैलालीको भजनी नगरपालिका– १ गौनैयाकी हसिना चौधरीमाथि निर्घात कुटपिट भयो । प्रहरीका अनुसार हसिनामाथि कुटपिट हुनुको कारण हो– बोक्सीको आरोप । 

गाउँका गुरुबा भनिने मनोज चौधरीले बोक्सीको आरोप लगाएका थिए । त्यसपछि आफूमाथि कुटपिट भएको बयान हसिनाले प्रहरीलाई दिएकी छन् । 

हसिनाको परिवार पनि आर्थिक रूपमा कमजोर छ । हसिनाले बोक्सीको आरोपमा कुटाइ खाँदा उनका श्रीमान् साथमा थिएनन् । कमाउन भनेर भारत थिए । कुटपिट भएको भोलिपल्ट भारतमा रहेका श्रीमान्लाई फोन गरेर बोलाइन् र प्रहरीमा उजुरी दिइन् ।

उजुरी दिएको थाहा पाएपछि ४ पुसमा फेरि कुटपिटमा परिन् । उनले प्रहरीलाई दिएको वयानअनुसार त्यस दिन ११–१२ जनाको समूहले घरमै गएर कुटे ।

कपालमा लछार्दै गुरुबा भन्ने मनोजको घर पुर्‍याए । आँगनमा बिछ्याइएको परालमा सुताए । त्यसपछि केहीले लट्ठीले हाने, कसैले लात्ताले हाने । शरीरमा पानी खन्याए । ‘बोक्सी हुँ भन्’ भन्दै कबोल गर्न लगाए । हसिनाले ‘म बोक्सी होइन’ भनिरहिन् । 

बोक्सीको आरोपमा समूहले नै कुटपिट गरिरहँदा गाउँले रमिते बनिरहे । कुटपिट चलिरहेका बेला भारतबाट फर्किएका श्रीमान् त्यस स्थलमा पुगे । 

कुनै फिल्मी कथा जस्तो लाग्ने यो घटनामा धेरै प्रत्यक्षदर्शी थिए । कसैले बोक्सी कुप्रथा हो भनेर रोक्ने प्रयास गरेनन् । 

कुटपिटले बेहोस भएकी हसिनालाई श्रीमान् चुन्नीलालले भजनी प्राथमिक स्वास्थ्य चौकीमा पुर्‍याए । त्यहाँबाट धनगढी रेफर भयो । धनगढीको नवजीवन अस्पतालको आईसीयू (सघन उपचार कक्ष)मा ६ दिनसम्म राखेर उपचार भयो । हसिना बाँचिन् ।

बोक्सी भन्ने कुप्रथा हो । निमुखा नागरिकमाथि दमन गर्ने समाजको डरलाग्दो कुरीति हो । बोक्सीका नाममा अपवा(दबाहेक, एकल, दलित र आर्थिक रूपमा कमजोर महिलामाथि अमानवीय व्यवहार हुने गरेको छ । 

कुटपिट गर्ने, कपाल मुण्डन गर्ने, डाम्ने, जलाउने, दिसा–पिसाब खुवाउने जस्ता क्रूर र अमानवीय घटना नेपाली समाजमा एक्क(ाइसौं शताब्दीको २ दशक नाघिसक्दा पनि रोकिएको छैन । यसकै एउटा उदाहरण हुन् हसिना ।

यस्ता घटना नेपालको ग्रामीण भेगमा अझै छ । सयौं दबिएर रहने गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा २३ वटा बोक्सीसम्बन्धी कसुर भएका छन् । काठमाडौं उपत्यकामै बोक्सीको आरोपमा एउटा कसुर रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा धेरै भने मधेश प्रदेशमा छ । 

कुल २३ वटा कसुरमध्ये मधेश प्रदेशमा मात्र १६ वटा छन् । यो ७० प्रतिशत हो । कोशी प्रदेशका ३ वटा छन् । यो १३ प्रतिशत हो । गण्डकी प्रदेशका २ वटा छन् । यो ९ प्रतिशत हो । बाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा १/१ वटा कसुर छन् । यो ४/४ प्रतिशत हो । 

अर्थात्, लामो समयदेखि अन्धविश्वासको जगमा अडिएको बोक्सी प्रथा समाजमा जीवितै छ । एकातिर समाज शिक्षित हुँदै गएको छ । नागरिकको चेतनास्तर बढेको छ । अर्कातिर बोक्सी जस्तो कुप्रथा रोकिएको छैन । 

राज्यले निरुत्साहित गर्न ऐन/कानुन बनाएर दण्डनीय भनेको छ । तर, निराकरण हुन सकेको छैन ।

ADV

सम्बन्धित खबर

Advertise