२०८३ कार्तिक २ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक २ गते सोमवार

उद्धारकर्मीलाई सलाम

Nada
सपना बोहरा/भावना पाठक
२०८३ भदौ १९ गते ०६:३०
Shares
उद्धारकर्मीलाई सलाम

रसुवामा आएको विनाशकारी बाढीले घर, सडक र बस्तीमा क्षति मात्रै पुर्‍याएन, धेरै परिवारलाई आफ्ना आफन्तको जीवनबारे अनिश्चिततामा छाड्यो । तर, विपद्को संकटमा उद्धारकर्मीको निरन्तर प्रयासले आशाको उज्यालो देखायो । तीन दिनसम्म भग्नावशेषमा फसेकी ६ वर्षीया बालिका जीवित भेटिइन् । ९७ वर्षीया गुणमाया बोहरा पनि चार घण्टाको प्रयासपछि भग्नावशेषबाट सकुशल निकालिइन् । घरको छतमा फसेका बालकले टी–सर्ट हल्लाएर संकेत गरेपछि नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गर्‍यो । यी घटनासँगै हजारौं सुरक्षाकर्मी बाढी, पहिरो, हिलो, जंगल, खोला र जोखिमपूर्ण संरचनामा खटिएर खोज, उद्धार, राहत र शव व्यवस्थापनमा जुटिरहेका छन् । विपद्को कठिन भूगोल र प्रतिकूल मौसमबीच उनीहरूको साहस र समर्पण नागरिकका लागि भरोसाको आधार बनेको छ । 

ncell

तीन दिनपछि बालिकाको उद्धार

रसुवामा आएको बाढीपछि भएका उद्धारका घटनामध्ये एउटा घटनाले सबैलाई अचम्मित तुल्यायो । त्यो घटना हो– विनाशकारी बाढी आएको तीन दिनपछि भग्नावशेषबाट ६ वर्षीया बालिकालाई जीवित उद्धार गरिएको पल । बाढी आउने क्रममा उनका बुवा–आमा भागेर ज्यान जोगाउन सफल भएका थिए । उनी भने बाढीमै बेपत्ता भएकी थिइन् । 

प्रहरीले बाढी आएको दिनदेखि नै खोज तथा उद्धारको कामलाई तीव्रता दिएको थियो । सशस्त्र प्रहरीको विशेष विपद् उद्धार टोलीका लागि एउटै कुरा प्राथमिकतामा थियो– जिउँदो मानिसलाई जसरी पनि बचाउनु । 

मानसरोवर जाने भारतीय तीर्थयात्रीदेखि केही चिनियाँ नागरिकसम्मलाई पनि सुरक्षित स्थानमा सारेपछि टिमुरेमा कोही अझै भग्नावशेषभित्र फसेका छन् कि भनेर उद्धार टोलीले खोजी गरिरहेको थियो । खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले भग्नावशेषमा बेपत्ताको खोजी गर्ने क्रममा अचानक ‘ममी... ममी...’ भन्ने मधुर आवाज सुन्यो । ती बालिकाको उद्धार गर्न आवाज आएको दिशातर्फ खोजी तीव्र बनाइयो । सावधानीपूर्वक भग्नावशेष हटाउँदै जाँदा टोलीले त्यहाँ एक बालिका जीवितै फसेको अवस्थामा फेला पार्‍यो । त्यसपछि उनलाई सुरक्षित रूपमा बाहिर निकालियो । 

उद्धार टोलीको नेतृत्व सशस्त्र प्रहरी बल नेपालको विपद् उद्धार गण, सिनामंगल काठमाडौंका निरीक्षक सन्जु खत्रीले गरेका थिए । बालिकालाई भग्नावशेषबाट बाहिर निकालिएपछि तत्काल सुरक्षित स्थानमा लगियो । रेडियो सेटमार्फत धुन्चेमा रहेको सशस्त्र प्रहरीको गुल्मलाई उद्धारबारे जानकारी गराइयो । बालिकाको स्वास्थ्य अवस्था निकै कमजोर थियो । उद्धार टोलीले उनलाई बिस्तारै पानी र जाउलो खुवाउन थाल्यो । केही समयपछि उनको होस फर्कियो ।

तर, मौसम प्रतिकूल भएकाले हेलिकप्टर उडाउन सम्भव थिएन । उनलाई धुन्चे अस्पतालमा उपचारका लागि लगियो । मनीषालाई प्रभु बैंक टिमुरे शाखाका कर्मचारी दावा तामाङले चिने र आफ्नै कार्यालयमा काम गर्ने गीता मगरकी छोरी भएको जानकारी गराए ।

सुरुमा आमाले छोरी जीवितै रहेको खबर सुने पनि विश्वास गरिनन् । तीन दिनसम्म छोरीको कुनै अत्तोपत्तो नलागेपछि आशा मारिसकेकी गीताले सुरुमा त्यो खबर पत्याइनन् । मनीषा लोकबहादुर र गीताकी कान्छी छोरी हुन् । बाढीले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको देखेपछि उनीहरूले छोरी जीवित भेटिने आशा मारिसकेका थिए ।

शनिबार दिउँसो मौसममा केही सुधार आएपछि बालिकालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो । उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुर्‍याइएको थियो ।

‘छोरी जीवित होलिन् भन्ने आशा मारिसकेका थियौं,’ शनिबार राति त्रिवि शिक्षण अस्पतालमा छोरीको कुरुवा बसेकी गीताले भनिन्, ‘सँगै हुँदा पनि सपनाजस्तो लागिरहेको छ ।’

प्रलय जितेकी ९७ वर्षीया गुणमाया

भोटेकोशी बाढीले नदीतटीय क्षेत्र तहसनहस बनाइरहेका बेला ९७ वर्षीया गुणमाया बोहरा देवीघाटस्थित ज्येष्ठ नागरिक प्रतिष्ठानको वृद्धाश्रममा अन्य दिनजस्तै नित्यकर्म गरिरहेकी थिइन् । सोही क्रममा एक्कासि उनलाई बाढीको छालले भेट्यो । 

बाढी आउँदा उनी वृद्धाश्रमको भुइँतलामा थिइन् । बाढीको छालले भित्तातर्फ हुत्यायो । एकैछिनमा बाढी पसेर वृद्धाश्रम नै भत्कियो र उनी भग्नावशेषमा पुरिइन् । वृद्धाश्रममा रहेका अन्यलाई भने बाढीले बगायो । 

नेपाली सेना र नेपाल प्रहरीको करिब चार घण्टाको प्रयासपछि एक्स्काभेटरको मद्दतले उनलाई भग्नावशेषबाट बाहिर निकालियो । भोटेकोशीको तीव्र बहावमा परेको, त्यसमा पनि ९७ वर्षको उमेरमा रहेकी उनलाई सकुशल उद्धार गर्न उद्धारकर्मी सफल भए । 

भग्नावशेषबाट निकालिएपछि उनलाई उपचारका लागि वीर अस्पताल ल्याइएको छ । उनी शारीरिक र मानसिक रूपमा अस्वस्थ छिन् । उनको उपचार भइरहेको छ । बाढीमा पर्नुअघि बुढ्यौली उमेर भए पनि उनी तन्दुरुस्त थिइन् । सबैसँग कुरा गर्थिन् । तर, बाढीमा परेपछि पानीको बहावले हिर्काएर भित्तामा पुर्‍याएको घटना सम्झिन्छिन् । अनि आफन्तलाई भन्ने गर्छिन्, ‘पानीले किन हान्यो ?’

उनका आफन्त तथा अस्पतालका चिकित्सकले घटनाको यथार्थ बताएका छैनन् । गोसाइँकुण्डको पानी फुटेर आएको भन्दै जवाफ दिने गरेका छन् । चिकित्सकका अनुसार उनलाई मानसिक आघात परेको छ । 

भग्नावशेषमा पुरिएको अवस्थामा उनको एक्स्काभेटरको मद्दतले उद्धार गरिरहेका बेला नै गुणमायाका आफन्त र प्रहरी÷सेनाले आशा मारिसकेका थिए । तर, जीवितै उद्धार गर्न पाउँदा चमत्कारजस्तै भएको छ । उनको मानसिक स्वास्थ्यमा केही असर परे पनि खानपानदेखि अन्य स्वास्थ्य भने सामान्य छ ।

नुवाकोटको सूर्यगढीमा विवाह भएर जाँदा उनी ८ वर्षकी थिइन् । त्यतिबेला बालविवाह सामान्य मानिन्थ्यो उनका श्रीमान् होमप्रसाद बोहरा पनि सानै थिए । विवाहको ८ वर्षपछि उनी बिते । त्यसको चार वर्षपछि गुणमायाका बुबाआमा पनि रहेनन् । केही वर्षपछि दाजु पनि बिते । २० वर्षको उमेर नपुग्दै उनको रगतको नाता पर्ने कोही पनि बाँकी रहेनन् । १४ वर्षदेखि उनी देवीघाटस्थित ज्येष्ठ नागरिक प्रतिष्ठानको वृद्धाश्रममा बस्दै आएकी छन् । 

टी–सर्ट हल्लाएर मागे गुहार, नेपाली सेनाले गर्‍यो उद्धार

भोटेकोशीमा आएको बाढीका कारण घरमा थुनिएका एक बालकले टी–सर्ट हल्लाएर मद्दत मागे । नेपाली सेनाले हेलिकप्टरमार्फत उनको उद्धार पनि गर्‍यो । 

विनाशकारी बाढीका क्रममा रसुवाको प्रभावित क्षेत्रमा ती बालक घरको छतमा फसेका थिए । नेपाली सेनाको हेलिकोप्टर टोलीले रसुवा र आसपासका भोटेकोशी, टिमुरे, स्याफ्रुबेसी तथा मैलुङ क्षेत्रमा सञ्चालन गरेको आकस्मिक हवाई उद्धार अभियानका क्रममा ती बालकको कुशल उद्धार गरिएको हो । 

बाढीका कारण घरको चारैतिर पानीको बहाव तीव्र थियो । घरबाट बाहिर निस्कने अवस्था नभएपछि बालक छतमा पुगेका थिए । उनले हात हल्लाउँदै पटक–पटक उद्धारका लागि संकेत गरे पनि तत्काल उद्धारकर्ताको ध्यान जान सकेन । 

पछि बालकले आफ्नो टी–सर्ट हल्लाउँदै उद्धारका लागि संकेत गरे । सो क्रममा नेपाली सेनाको उद्धार टोलीले उनलाई देखेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

हेलिकोप्टर बालक बसेको घरको छत नजिक पुगेपछि उनले छतको किनारमा गएर हेलिकोप्टरको ल्यान्डिङ स्किड समातेका थिए । त्यसपछि हेलिकोप्टरमा रहेका नेपाली सेनाका जवानले बालकको हात समातेर उनलाई तानेका थिए ।

जवानको सहयोगमा बालकलाई सुरक्षित रूपमा हेलिकोप्टरभित्र ल्याइएपछि घटनास्थलमा रहेका मानिसहरूले ताली बजाउँदै खुसी व्यक्त गरेका थिए । घरको छतबाट बालकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको उक्त दृश्य अहिले सामाजिक सञ्जालमा चर्चामा छ । उद्धारमा खटिएको नेपाली सेनाको टोली र हेलिकोप्टर चालक दलको कामको प्रशंसा भइरहेको छ ।

जोखिम मोलेर हिलोबाट उद्धार 

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जोखिम मोलेर उद्धार कार्यलाई निरन्तरता दिएको छ । सुरक्षा निकायले सार्वजनिक गरेका भिडियोहरूमा पनि जोखिम मोलेर उद्धार गरिएका विभिन्न दृश्यहरू देख्न सकिन्छ । सार्वजनिक भएका भिडियोमध्ये केहीले नेपालको सुरक्षा निकाय विपद्का बेला कसरी परिचालित हुन्छन् भन्ने देखाउँछन् । 

त्यस्तै, घटनामध्ये नेपाली सेनाका सुरक्षाकर्मीले हिलो तथा पानी जमेको क्षेत्रमा एक वृद्ध व्यक्तिलाई सुरक्षित स्थानतर्फ लैजाँदै गरेको भिडियोले सबैको ध्यान खिचेको छ । उद्धारका क्रममा सुरक्षाकर्मीहरू घुँडासम्म हिलोमा डुबेर वृद्धलाई बीचमा राखी दुईतर्फबाट समातेर अघि बढिरहेका छन् । 

विपद्को कठिन घडीमा नागरिकको जीवनरक्षाका लागि खटिएको उनीहरूको भूमिकाले देश र जनताप्रतिको जिम्मेवारी झल्काउँछ । तस्बिरमा बाढीका कारण ठूलो रुख ढलेको तथा आसपासको क्षेत्र हिलो र पानीले भरिएको देखिन्छ । यस्तो अवस्थामा उद्धारका लागि सुरक्षाकर्मीले स्थानीयको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिमपूर्ण स्थानमा समेत परिचालन भइरहेको देखिन्छ । 

सेनाले सार्वजनिक गरेको अर्को भिडियोमा हिलोमा फसेका एक व्यक्तिलाई हात समातेर सुरक्षित स्थानतर्फ ल्याउँदै गरेको देखिन्छ । प्रतिकूल अवस्था र जोखिमका बीच सेनाका जवानहरू उद्धार कार्यमा खटिएका छन् । 

भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकता दिँदै नेपाली सेनासहित सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यसमेत अघि बढाइएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले समेत संसदमा सम्बोधन गर्ने क्रममा हामीसँग प्रविधिको अभाव रहेको स्वीकार गरे । सुरुङभित्रबाट उद्धार गर्न अझ कठिन भएको उनको भनाइ थियो । यस्तो स्थितिमा पनि सुरक्षा निकायले भारत, चीन, कोरियाका टनेल रेस्क्यु टिमसँग मिलेर खोज तथा उद्धार कार्यमा प्रर्यत्न गरिरहेको छ । 

२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जनशक्ति संयुक्त रूपमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ सुरक्षाकर्मी परिचालन गरिएको छ । तीनवटै सुरक्षा निकायका टोलीले आ–आफ्नो जिम्मेवारीअनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, घाइतेको उद्धार, शव व्यवस्थापन, राहत वितरण, सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।

टनेलभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेनाको नेतृत्वमा विभिन्न जलविद्युत् आयोजनामा संयुक्त टोली परिचालन गरिएको छ । लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना प्वाल बनाएर खोजी गरिरहेको छ । चिलिमे हाइड्रोमा पनि विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ ।

त्रिशूली–३ए आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँचवटा एक्स्काभेटर प्रयोग गरी टनेलको आउटलेटमा जम्मा भएको लेदो तथा माटो हटाइरहेको छ । राति करिब २ बजे आउटलेटको प्वाल ठुलो बनाउन क्राउनमा ब्लास्टिङ गरी सफा गर्ने कार्यसमेत गरिएको छ ।

त्रिशूली–३बी आयोजनामा नेपाली सेनाका ८९ जना, गैरसैनिक तीनजना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले आयोजनाको कार्यालय तथा निवास पहिचान गरी उक्त क्षेत्रमा पुग्न एक्स्काभेटर र बबक्याट प्रयोग गरेर बाटो निर्माण तथा माटो हटाउने काम गरिरहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली प्रभावित बस्ती, जंगल, डाँडाकाँडा तथा खोला क्षेत्रमा समेत परिचालन भएका छन् । उनीहरूले जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा पुर्‍याउने, बेपत्ताको खोजी गर्ने तथा आवश्यक उद्धार कार्य गरिरहेका छन् ।

त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी छ । स्याफ्रुबेसी क्षेत्रमा पनि तीनवटै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ ।

नेपाली सेनाको चिकित्सक अधिकृतसहितको टोलीले प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा सम्भावित संक्रमण फैलिन नदिन सचेतनामूलक कक्षासमेत सञ्चालन गरिएको छ ।

बाढी तथा पहिरोबाट अवरुद्ध सडक खुलाउने, घाइतेलाई अस्पतालसम्म पुर्‍याउने, शव व्यवस्थापनमा सहयोग गर्ने तथा प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराउने कार्यमा समेत सुरक्षाकर्मी परिचालन भएका छन् ।

टिमुरेमा बिओपीले देखाएको साहस 

भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरेमा कार्यरत कमान्डरसहितको सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बिचलित नभई उद्धार कार्यमा खटिएको छ ।

विनाशकारी बाढीमा परी नेपाल बोर्डर आउट पोस्ट टिमुरेमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित नौजना र त्रिशुली जलविद्युत् आयोजना सुरक्षा बेस मैलुङमा कार्यरत चारजना गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता थिए । ड्युटीमा निस्किएका कमान्डर खत्री र डेपुटी कमान्डमा रहेका नायब निरीक्षक प्रकाश न्यौपानेसहितको टोली गुमाउँदा पनि सशस्त्र प्रहरी सहायक निरीक्षक तामबहादुर थापामगरले तुरुन्त कमान्ड सम्हालेर सुरक्षा फौज सुरक्षित गरेका थिए । 

बेपत्ता भएकामध्ये सशस्त्र प्रहरी जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परेको थियो भने अन्य सशस्त्र प्रहरी कर्मचारीहरु अझै हराइरहेका छन् । 

बाढी गएको झन्डै २४ घण्टासम्म सरकारी कार्यालयको नाममा सशस्त्र प्रहरी बलको बिओपी मात्र बाँकी रह्यो । जुन टोली करिब २४ घन्टासम्म प्रधान कार्यालयको समेत सम्पर्कमा आउन सकेन । बिजुली र टेलिफोन अबरुद्ध हुँदा सम्पर्कविहीन कमान्डर गुमाएको फौजले आफ्नो कर्तव्य भने चुपचाप पूरा गरिरह्यो । भोलिपल्ट भदौ ११ गते धुन्चेबाट सो क्षेत्रमा बाढीपीडितको खोज तथा उद्धारको लागि सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमान्डमा थप टोली पठाइएको थियो । टोलीले सो क्षेत्रमा बेपत्ता भएका ९८ जनाको शव फेला पारेका छन् । 

बाढीपहिरोले स्याफ्रुबेसीदेखि रसुवागढी सडकखण्ड लगायतका मुख्य राजमार्गका करिब ४१ भन्दा बढी पुल बगाएको छ भने भौगोलिक विकटता, विद्युत् आपूर्ति अवरुद्ध भएको कारण त्यस क्षेत्रमा बेपत्ता भएका व्यक्तिलाई सम्पर्क गर्न समेत कठिनाइ परेको छ । उक्त क्षेत्रमा हालसम्म कुनै कार्यालय तथा घर सग्ला छैनन् ।  

बाढीमा परी सम्पर्कविहीन भएकाहरूको खोजी कार्यको लागि सशस्त्र प्रहरीले ४२ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ । बाढीप्रभावित क्षेत्र धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवाको त्रिशुली हाइड्रो ३ए, त्रिशुली हाइड्रो ३बी, स्याफ्रुबेशी र बोगटिटारमा गरी १२ वटा बेस स्थापना गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । 

uae

सम्बन्धित खबर