२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

आफन्त रहेनन्, सम्पत्ति गुम्यो

रातभर निद्रा लाग्दैन, बाढीप्रभावितलाई मनोसामाजिक परामर्शको खाँचो

Nada
सपना बोहरा
२०८३ भदौ ३१ गते ०६:३५
Shares
आफन्त रहेनन्, सम्पत्ति गुम्यो

काठमाडौं : रसुवाको उत्तरगया–४ की गीता थापा क्षेत्री बाढी आएको दिन गीता घाँस काट्न खेतमा गएकी थिइन् । घाँस काट्दै गर्दा ठुलो आवाज सुनिन् । उनलाई सुरुमा ठुलो टायर पन्चर भएको जस्तो लाग्यो । तर, त्यो टायरको आवाज थिएन, बाढीको थियो । 

ncell

घरमा रहेकी छोरीलाई बोलाउँदा–बोलाउँदै बाढी उनको अगाडि आइपुग्यो । बाढीको छालले उनलाई एक कुनामा हुत्यायो । छिमेकीले उद्धार गरेर सुरक्षित स्थानमा लगे । तर, उनको आँखाअगाडि घरसहित छोरी, नातिनी, नन्द–ज्वाइँ, सम्धी–सम्धिनीसहित १० जनालाई बाढीले बगायो । 

त्यो दृश्यले गीता अहिले पनि सामान्य जीवनमा फर्किन सकेकी छैनन् । घटना सम्झिँदा उनी भक्कानिएर रुन्छिन् । ‘वारको पार भएर बाढी आएको थियो । छिमेकीले मलाई बाढीबाट बचाएर चौतारामा लगेका थिए । चौतारामा बसेर मैले सबै बगाएको देखेँ । साना बच्चाहरू पनि लगेको आँखैले देखेँ,’ उनी भन्छिन्, ‘केहीगरी त्यो घटना भुल्न सकेको छैन ।’

उत्तरगयाबाट वडाध्यक्षले उनलाई धुन्चे ल्याएर सुरक्षित स्थानमा छाडेका थिए । तर, त्यहाँ पनि उनको मन अडिएन । धुन्चेबाट माझगाउँ हुँदै नौ घण्टा पैदल हिँडेपछि नेपाली सेनाले उनलाई उद्धार गरेर काठमाडौं ल्याएको थियो । अहिले उनी नार्गाजुनको एउटा गुम्बामा बसेकी छिन् । 

रातभर निद्रा लाग्दैन

उत्तरगया–४ की अस्मिता थापालाई रातभर निद्रा पर्दैन । बाढीले उनका ६ जना आफन्त मात्रै होइन, अन्न, खेतीपाती गर्ने जग्गा र घरसमेत लगेको छ । थापा परिवारमा अहिले १३ जना सकुशल छन् । तर, उनीहरूका लागि जाने ठाउँ छैन ।

आफ्नै आँखाअगाडि परिवारका सदस्यलाई बाढीले बगाएको दृश्यले अस्मिताको मनमा अनेक कुरा खेलिरहन्छ । ‘पुख्र्यौली ठाउँमा बस्दै आएका थियौं । २०७२ मा भूकम्पले उठिबास लगायो । घर बनाएको तीन वर्ष पनि भएको थिएन, गत वर्ष बाढी पस्यो,’ उनी भन्छिन्, ‘यो वर्ष त परिवारसहित घरबारी सबै लग्यो । हामी बाँचेका अब कहाँ जाने ?’

पीडा सहन नसक्दा उनको मन बेचैन हुन्छ । उनी अहिले आफन्तको घरमा काठमाडौं बस्दै आएकी छन् । खाना खाने बेला मुखमा गासभन्दा आँसु आउने गरेको उनी बताउँछिन् । ‘बाढीले बगाएका आफन्तको हामीले आफ्नो संस्कारअनुसार पशुपतिमा दाहसंस्कार गरिसकेका छौं,’ उनले भनिन्, ‘साना बालबच्चा छन् । उनीहरूका लागि पनि काम गर्नुपर्नेछ । के काम गर्ने ? मन आत्तिन्छ ।’

अब उनलाई पुरानै ठाउँमा फर्किन मन छैन । सुरक्षित ठाउँको खोजी गरिदिनुपर्ने उनको माग छ । ‘पीडितका लागि आएको रकम राहतमा सरकारले खर्च नगरोस् । अन्य संघसंस्थाले राहत सामग्री दिएका छन्, त्यसैले गुजारा चलाउँछौं,’ उनले भनिन्, ‘चाँडै नै सुरक्षित स्थान खोजोस् ।’

अस्पतालबाट डिस्चार्ज, तर कहाँ जाने ?

उत्तरगया–४ का २१ वर्षीय सुजल थापा बाढी आएको बेला गहिरो निद्रामा थिए । उनी सुरुङभित्र साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाइट ड्युटी गर्थे । त्यस दिन पनि नाइट ड्युटी सकेर घर फर्किएर सुतेका थिए ।

कामको थकानले निद्रामा रहेका उनलाई बाढीले बगायो । सपनामा बाढी आएकोजस्तो महसुस गरेका उनी ब्युँझिँदा खोलामा पुगेका थिए । भाग्यवश उनी बाँचे ।

उनकी आमा तरकारी किन्न बजार गएकी थिइन् । उनलाई उतैबाट बाढीले बगायो । घरमा रहेका ९ र १० वर्षका भाइलाई पनि बाढीले लग्यो । दिदीको परिवार पनि बाढीमा पर्‍यो । बुवा भने गोसाइँकुण्ड दर्शन गर्न गएकाले बाँचे । ‘निद्रामा बाढीले बगाएको जस्तो लागेको थियो,’ उनले भने, ‘ब्युँझिँदा त म खोलामा पो रहेछु ।’

बाढीले उनलाई घरबाट करिब दुई सय मिटर पर पुर्‍याएको थियो । टाउको र खुट्टामा चोट लागेको छ । उद्धारकर्मीले उनलाई शिक्षण अस्पताल ल्याएका थिए । टाउकोमा चारवटा टाँका लगाइएको छ । एक साताको उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । तर, अस्पतालबाट बाहिरिएपछि कहाँ जाने भन्ने प्रश्नले उनलाई झन् पिरोलेको छ ।

बाढीबाट उनको परिवारमा उनी र उनका बुवा मात्रै बाँचेका छन् । ‘बाढीले आमा, दुई भाइ र दिदीको परिवार लग्यो,’ उनले भने, ‘घरजग्गा बगर बनेको छ । पत्ता लगाउनै सकिँदैन ।’

अब उत्तरगया फर्किने कि काठमाडौंमै बस्ने ? उनले निर्णय गर्न सकेका छैनन् । अहिले आफन्तको घरमा काठमाडौंमा बसिरहेका छन् । 

बालबालिकालाई सम्झाउने कोही छैन

बाढीले घर र आफन्त मात्रै गुमाएन, धेरै बालबालिकाको बाल्यकालसमेत असुरक्षित बनाएको छ । रसुवा बाढीमा १०२ जना बालबालिकाले आमा र बुवा दुवै गुमाएका छन् । 

राष्ट्रिय बालअधिकार परिषद्ले गरेको ‘रसुवा बाढीप्रभावित बालबालिकाको अवस्था तथा आवश्यकतासम्बन्धी द्रुत लेखाजोखा प्रतिवेदन २०८३’ सार्वजनिक गरेको छ । जसअनुसार बाढीपछि नुवाकोट, रसुवा र धादिङका ३० वटा होल्डिङ सेन्टरमा रहेका १ हजार २३३ बालबालिकामध्ये ४९ बालिका र ५३ बालक गरी १०२ जनाले आमा–बुवा दुवै गुमाएका छन् । 

प्रतिवेदनअनुसार, बाढीपछि बुवाआमासँग छुटिएका बालबालिकाको संख्या पनि ठुलो छ । २२२ बालिका र २१७ बालक गरी ४३९ बालबालिका आमाबुवासँग छुट्टिएका छन् । उनीहरू अहिले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । 

नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरमा रहेका ६१४ बालबालिकामध्ये २७ जनाले आमा र बुवा दुवै गुमाएका छन् । विदुरका होल्डिङ सेन्टरमा बाढीका कारण आमाबुवासँग छुट्टिएका बालबालिकाको संख्या २०३ छ । बाढीपछि आमा र बुवाबाट छुट्टिएको १९ दिन बितिसकेको छ । स्थानीय तहले उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा आश्रय दिएका छन् । तर, धेरै बालबालिका अहिले पनि आमा–बुवालाई खोज्दै रुने र चिच्याउने गरिरहेका छन् । 

उनीहरूलाई सम्झाउने, फकाउने र भावनात्मक रूपमा साथ दिने अभिभावक छैनन् । त्यसले बालबालिकामा डर, तनाव र असुरक्षाको भावना बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । 

यस्ता बालबालिका अहिले विभिन्न होल्डिङ सेन्टरमा सामूहिक रूपमा एउटै हलमा बसिरहेका छन् । तर, उनीहरूको नियमित खाना, सरसफाइ र दैनिक हेरचाहसमेत पर्याप्त हुन नसकेको परिषद्को अध्ययनले देखाएको छ । 

विपद्पछि मन पनि घाइते

विपद्मा घर, परिवार र सम्पत्ति गुमाएका मानिसलाई भौतिक राहतसँगै मानसिक सहाराको पनि उत्तिकै आवश्यकता हुन्छ । यही अवस्थालाई ध्यानमा राख्दै मनोसामाजिक परामर्शका लागि टोली परिचालन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार, मनोचिकित्सकसहित १३७ जना परिचालन गरिएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, स्थलगत टोलीसँगै १७ वटा हेल्पलाइन पनि सञ्चालनमा छन् । 

पछिल्लो २४ घण्टामा मात्रै बाढी प्रभावित ४२७ जनाले मनोसामाजिक तथा मानसिक स्वास्थ्य परामर्श लिएको महतले जानकारी दिएकी छन् । 

मनोसामाजिक विमर्शकर्ता जमुना शर्माका अनुसार मानिसको जीवनमा कुनै अकल्पनीय र अस्वाभाविक घटना घटेपछि त्यसको प्रभाव मस्तिष्कमा गहिरोसँग बस्छ । त्यसपछि अन्य नियमित काम छायामा पर्न सक्छन् । ‘रसुवामा आएको बाढीबाट प्रभावितहरूको मस्तिष्कमा ठुलो घटनाको रूपमा आएर बसेको छ,’ उनी भन्छिन्, ‘जसले गर्दा दैनिक गर्दै आएका दिनचर्या बिर्सिंदै जाने र नियमित काम गर्न नसकिने हुन्छ ।’

त्यसपछि निद्रा नपर्ने, तर्सिने र बेचैनी हुनेजस्ता समस्या देखिनसक्ने उनी बताउँछिन् । त्यसैले प्रभावित व्यक्तिलाई सबैभन्दा बढी पीडा दिएको विषय पहिचान गरी आवश्यक परामर्श दिनुपर्ने उनको भनाइ छ । ‘प्रभावित व्यक्तिलाई सुरक्षित भएको महसुस गराउन सक्नुपर्छ । उनीहरूको भावना बुझेर माया, हेरचाह गर्नुपर्छ,’ उनले भनिन्, ‘बिस्तारै सुधारोन्मुखतर्फ लैजान सकिन्छ ।’

गीता, अस्मिता र सुजलका लागि बाढी सकिएको छैन । उनीहरूको घर बगेको छ, आफन्त गुमेका छन्, जमिन बगर बनेको छ । तर, उनीहरूको मनमा बाढीले छोडेको त्रास अझै बगिरहेको छ । बालबालिकाका लागि त आमाबुवाको खोजी, डर र अनिश्चितता अझै उस्तै छ । त्यसैले उनीहरूलाई अहिले राहत सामग्रीसँगै सुरक्षित भविष्यको भरोसा र मनोसामाजिक साथको खाँचो छ । 

सरकारले जनधनको क्षति व्यहोरेका पिडीत व्यक्तिहरूलाई आवश्यक राहतसहित नियमित गास वासको व्यवस्थालाई प्राथमिकता दिनुपर्ने मनोविद प्रा डा.ढुण्डीराज पौडेलले बताए । मनोसामाजिक परामर्श र सकारात्मक सोच, सान्त्वना, निडरपनसम्बन्धि टिप्सहरू दिएर तनाव मुक्त गर्नलाग्नु पर्ने उनको भनाई छ । ‘कुनै व्यक्तिमा ट्रमाटिक स्ट्रेसमा छ भने उनिहरूलाई सहयोग, सान्त्वना र साथको जरुरत पर्दछ,’ पौडेलले मध्यान्हसँग भने, ‘त्यस्तो अवस्थामा व्यक्तिलाई सामूहिक बसाई व्यवस्था गर्ने, दुखसुखको नियमित प्रक्रियाका बारेमा सम्झाउने, दैवी प्रकोपको सामना गर्नेखालका सान्त्वना दिने गर्दा पिर व्यथाहरु बिस्तारै  हराउन सक्छन् ।’ नियमित योग आसन, प्रणायाम, ध्यान, समाधिका बारेमा सचेत गराउँदा पनि स्ट्रेश कम हुने उनको भनाई छ ।

सम्बन्धित खबर