२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

प्रकाश विकल्पको ‘एन्टिथेसिस’ पाठकमाझ

ADV
मध्यान्ह
२०८१ असार १७ गते १४:००
प्रकाश विकल्पको ‘एन्टिथेसिस’ पाठकमाझ

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता प्रकाश विकल्पको नयाँ पुस्तक ‘एन्टिथेसिस’ पाठकमाझ आएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री जनार्दन शर्मा, गणेश शाह, पूर्वराजदूत लीलामणी पौडेल, प्रा.डा. सुधा त्रिपाठी, प्रा.डा. दिनेश भुजुलगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा उक्त पुस्तकको लोकार्पण गरिएको छ । 

लोकार्पण कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले पुस्तकमाथि टिप्पणी गर्दै एन्टिथेसिस वैज्ञानिक तथ्यका आधारमा लेखिएकाले यसलाई राज्यले लाखौं प्रति छपाएर वितरण गर्नुपर्ने बताए । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले पुस्तक खोजमूलक, ज्ञानवद्र्धक र वैचारिक रहेकाले युवापुस्तालाई अध्ययनका लागि उपयोगी हुने बताए । 

माओवादी केन्द्रका उपाध्यक्ष शर्माले पुस्तक विज्ञान प्रविधि र परिवर्तनको पक्षमा रहेकाले पुस्तकलाई युवामाझ लैजान जोड दिए । विकासक्रममा निरन्तर संघर्ष अनिवार्य हुने कुरामा पुस्तक केन्द्रित रहेको भन्दै उनले लेखकलाई बधाई दिए ।

पूर्वमन्त्री शाह, पूर्वराजदूत पौडेल, डा. त्रिपाठी, डा. भुजुलगायतका व्यक्ताहरुले पुस्तकमाथि टिप्पणी गरेका थिए । लेखक विकल्पले एन्टिथेसिसले हरेक मान्छेलाई मान्छे बन्न प्रेरित गर्ने बताए । उनले हरेक नागरिकले परिवर्तनको नियम नबुझेसम्म देश विकास नहुनेसमेत बताए । पुनर्जागरण आन्दोलन हुनुभन्दा अगाडिको युरोपसँग नेपालको तुलना गर्दै नेपाल आज पनि करिब–करिब डार्क एजमै रहेको उनको धारण थियो । मानवजातिको इतिहास विकासक्रम, विज्ञान प्रविधिको विकास हुँदै आज मान्छे आर्टिफिसियल इन्टेलिजेन्सको युगमा कसरी आइपुग्यो भन्ने प्रश्नको जवाफ पुस्तकले दिएको उनले बताए ।

शिखा बुक्स हाउसले प्रकाशन गरेको पुस्तकमा विभिन्न २८ शीर्षकमा मानव समाजको विकासक्रमलगायतका विषय समेटिएको छ । मानव सभ्यतासँग सम्बन्धित खोजमूलक यस पुस्तकमा ओढारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्मका विषयवस्तु समेटिएका छन् । विषेशगरी परिवर्तनको चाहना राख्ने जो कोहीका लागि पनि यो पुस्तक एक उपयोगी पुस्तक रहेको छ । यसअघि उनका पुस्तक ‘देश किन बनेन’, ‘समृद्धिको रोडम्याप’ पनि बजारमा आइसकेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise