२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

बजेटमा समेट्नुपर्ने विषयबारे उपप्रधानमन्त्री सिंहले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते १४:१९
बजेटमा समेट्नुपर्ने विषयबारे उपप्रधानमन्त्री सिंहले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल

काठमाडौँ : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नुपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

शहरी विकास मन्त्रालयमा मंगलबार उपप्रधानमन्त्री सिंहले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरूसँग छलफल गरेका हुन् । सो क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्न योग्य शहर बनाउने, उपत्यकाका नदी प्रणाली सुधार्ने, फोहोर मैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा मेयर र उपमेयरहरूले धारणा राखेका थिए ।

उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सफा, स्वच्छ र यहाँ बग्ने नदिहरुलाई सफा बगाउनका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले उपत्यकाका नदी प्रणाली स्वच्छ बनाउन सेप्टिक ट्यांक अभियान चलाउनुपर्ने बताए । उनले सेप्टिक ट्याङ्क बनाउने कार्यलाई उपत्यकामा अभियानकै रूपमा अगाडी बढाउनुपर्नेमा आफ्नो जोड रहेको बताए ।

‘उपत्यकाका बग्ने नदिहरुलाई स्वच्छ बनाउनुपर्यो । त्यसका लागि अहिले जुन दुर्गन्ध छ त्यसलाई हटाउन हामीले सेफ्टी ट्यांकी बनाउने अभियानमा लाग्नैपर्छ । अब नयाँ बन्ने ठाउँमा सेफ्टी ट्यांक हरेक घरमा बनाउनुपर्यो । जहाँजहाँ घर बनिसके , ठाउँ छैन भने १०/१५ घरको एक ठाउँमा भए पनि सेफ्टी ट्यांकी बनाउनुपर्यो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ । त्यसलार्ई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेफ्टी ट्यांकको अभियान नै चलाउनैपर्यो । नत्र , नदी स्वच्छ हुँदैन, दुर्गन्ध हट्दैन ।’ उनले उपत्यकालाई स्वच्छ, सफा र स्वस्थ राख्न तिनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले आफूले शहरी विकास मन्त्रालय सम्हालेदेखिनै बाग्मती र धोबिखोलामा अर्बौं खर्च भए पनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेको र त्यसलाई सच्याउँदै सिधै ढल मिसाउन नदिनका लागि आवश्यक काम अघि बढाउन भनिसकेको बताए ।

छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरूले फोहोर मैला व्यवस्थापन, नदिको स्वच्छता र सफाई, शहरी पूर्वाधारको विकासमा आउने बजेटले सम्बोधन गर्नुपर्ने बताएका थिए ।

उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सुन्दर र बस्न योग्य व्यवस्थित शहर बनाउनका लागि पालिकामा गर्न सकिने कामबारे कार्य योजना पेस गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधनका लागि अघि बढ्ने बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise