२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच एकता गर्ने सहमति

Nada
२०८३ कार्तिक १७ गते १४:५६
Shares
नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच एकता गर्ने सहमति

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकता प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउने उद्देश्यसहित दुवै दलले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

कात्तिक १७ गते भएको सहमतिअनुसार एकीकरणपछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न पाँचकुने तारा निर्धारण गरिएको छ ।

सहमतिमा पार्टीको वैचारिक आधार माक्र्सवाद–लेनिनवाद रहने उल्लेख छ । साथै, नेपाली विशेषतासहितको वैज्ञानिक समाजवादलाई क्रान्तिको मुख्य कार्यक्रमका रूपमा अघि बढाउने निर्णय गरिएको छ ।

एकीकृत पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सामाजिक रूपान्तरणलाई आफ्नो तत्कालीन राजनीतिक कार्यदिशा बनाउनेछ । पार्टीले मूलतः शान्तिपूर्ण आन्दोलनको नीति अवलम्बन गर्ने भए पनि आवश्यकताअनुसार सडक, संसद् र सरकारलगायतका विभिन्न मोर्चाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सक्ने सहमतिमा उल्लेख छ ।

पार्टी एकतापछि दुवै दलका सङ्गठनलाई समायोजन गर्दै केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय संरचना गठन गरिनेछ । पार्टीका तल्लो तहका कमिटी र जनवर्गीय सङ्गठनको समायोजनसमेत आपसी सहमतिका आधारमा गरिने जनाइएको छ ।

त्यसैगरी, आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय भएको छ । पार्टीका सबै तहका संरचना विधि, पद्धति र जनवादी केन्द्रीयताको मान्यताअनुसार सञ्चालन गरिने सहमतिपत्रमा उल्लेख छ ।

एकतापछि वैचारिक, सैद्धान्तिक तथा सङ्गठनात्मक विषयमा उत्पन्न हुन सक्ने मतभेदलाई आपसी छलफल र समीक्षामार्फत समाधान गर्दै जाने र आवश्यक विषयमा अन्तिम निर्णय राष्ट्रिय महाधिवेशनबाट गर्ने सहमति पनि भएको छ ।

सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका महासचिव उर्मा भुजेल, सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर