दोहा, कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले २०२५/२७ कार्यसमितिका सचिव नरेन्द्रकुमार दर्जीलाई संस्थागत बिदाइ गरेको छ । करिब दुई दशक लामो कतारको बसाइ बिट मारेर नेपाल हुँदै युरोपेली मुलुक माल्टा जान लागेका दर्जीलाई सोमबार साँझ ग्राण्डमलको रेड चिल्ली रेस्टुरेन्टको हलमा आयोजित एक कार्यक्रमका बीच दोसल्ला ओढाएर मायाको चिनोसहित आजीवन सदस्यता प्रदान गर्दै सम्मानसहित बिदाइ गरेको हो ।
वैदेशिक रोजगारीको क्रममा कतारमा रहँदा केही वर्ष पहिलेदेखि मोना कतारमा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय रहेका दर्जी मोना कतारसँग प्रत्यक्ष जोडिएर थप सामाजिक कार्यहरू गर्ने मन हुँदा हुँदै बसाइलाई टुँग्याउनुपरेको बताए । उनले आफूले संस्थामा आबद्ध भएर जिल्लाका विकासमा टेवा दिन सकिने विश्वासका साथ जोडिएको बताउँदै संस्थामा रहेर धेरै कुरा सिक्न पाएको धारणा राखे । उनले आफू जहाँ रहे पनि मोनाको अभियानमा जोडिने प्रतिबद्धता व्यक्त गर्दै कतारमा मोना आफ्नो परिवार बनेको स्मरण गरे ।
संघका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता, मोना आईईसीका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि फगामीले जहाँ रहेपनि सत्कर्मको फल मिल्ने बताउँदै मोना कतार सामाजिक क्षेत्रमा अगाडि बढ्न पहिचान बनाउने पहिलो घर रहेको हुँदा भविष्यमा जुन देशमा जहाँ पुगे पनि कतारमा आर्जेको सामाजिक प्रतिष्ठाको ख्याल गर्न आग्रह गरेका थिए ।
संघका संस्थापक अध्यक्ष प्रेम रसाइली, संरक्षक रमेश पौडेल, प्रमुख सल्लाहकार राजु पौडेल लगायतका अन्य पदाधिकारीहरूले दर्जीलाई सुखमय जीवनको कामना गर्दै शुभकामना दिएका थिए । वरिष्ठ उपाध्यक्ष देवी कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भण्डारीले जुझारु सचिवलाई संस्थाले बिदाइ गर्नु पर्दा असहज लागे पनि सुरक्षित भविष्यका लागी विकसित मुलुक जान लागेको हुँदा खुसी लागेको बताए । कार्यक्रमलाई महासचिव शिव खड्काले सहजीकरण गरेका थिए ।