काठमाडौं : नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा मंगलबार धर्ना दिएको छ ।
महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत कांग्रेस कार्यालय सानेपामा धर्ना दिएको हो । महासंघले राजनीतिक दलका कार्यालयहरूमा धर्ना दिने कार्यक्रम अन्तर्गत धर्ना दिएको हो ।
विगतमा सरकारसँग भएका सहमतिलाई सम्बोधन गर्न महासंघले सरकार र पार्टीहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।
२४ फागुनमा पहिलो चरणको आन्दोलन पूरा गरेको महासंघले २७ फागुनदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । मंगलबारदेखि ५ चैत्रसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम महासंघको छ ।
पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन अन्तर्गत महासंघले मंगलबार नेपाली कांग्रेसको कार्यालय घेराउ गर्ने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
महासंघले बुधबार नेकपा एमालेको कार्यालय घेराउ गर्नेछ । यस्तै चैत्र १ गते नेकपा (माओवादी केन्द्र)को कार्यालय र चैत्र २ गते नेकपा (एकीकृत समाजवादी)को कार्यालय घेराउ गरिने पनि अध्यक्ष सुवेदीले बताए ।
त्यस्तै चैत्र ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, चैत्र ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र चैत्र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालय घेराउ गरिने छ ।
लामो समयदेखि विद्यालय शिक्षा ऐन जारी गर्न नसकेको भन्दै ऐन जारी गराउन दबाब दिन महासंघले २० माघदेखि आन्दोलन थालेको हो ।
विगतमा धेरैपटक आन्दोलन भई नेपाल सरकारसँग थुप्रै सहमतिहरू भएको महासंघले जनाएको छ । विगतमा भएका ती सबै सहमति सम्बोधन हुनेगरी नयाँ विद्यालय शिक्षा ऐन आउनुपर्नेमा त्यसका ढिलाइ भइरहेको महासंघको भनाइ छ ।
त्यस्तै सांसदहरूसँग भेटघाट कार्यक्रम समेत महासंघले अघि सारेको छ । महासंघले २० चैतदेखि काठमाडौँका सडकमा अनिश्चितकलीन आन्दोलन गर्ने पनि जनाएको छ । आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म कायम रहने महासंघले जनाएको छ । यस अवधिमा सबै सरकारी कामकाजको बहिष्कार गरिने समेत महासंघको योजना छ ।