ललितपुर : भविष्यको उज्वल सपना बोकेको युवा लागुऔषधमा फस्दा समाजले नराम्रो अवस्था भोग्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
गोदावरी नगरपालिका वडा नं. ३ को सहयोग तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा मंगलबार भएको ‘लागुऔषध न्यूनीकरणमा पत्रकारको भूमिका विषयक’ अन्तरक्रियामा गोदावरी वडा न. ३ का अध्यक्ष सानुराज घिमिरे (राज)ले युवाहरु कुलतमा फसे भने भौतिक विकासले मात्रै समाजमा कुनै अर्थ नराख्ने बताए ।
उनले विपदमा सूचना प्रवाहमा पत्रकारको भूमिका महत्वपूर्ण भएको बताउँदै लागुऔषध दुव्र्यसन रोकथाम, नियन्त्रणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले पत्रकारहरुको क्षमता विकासमा बजेट छुट्याएर काम गर्ने बताए ।
पत्रकार महासंघका पूर्वमहासचिव पुरीले लागुऔषध तथा सूर्तिजन्य पदार्थ नियन्त्रणबारे सञ्चार माध्यमहरु चनाखो भएर समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पछिल्लो समय जारी गरेको पत्रकार आचारसंहिताले पनि लागुऔषधलगायत जनस्वास्थ र समाजमा प्रतिकूल समाचार सामग्री सम्प्रेषण गर्न नहुने उनले उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जिल्लाका पत्रकारहरुलाई लागुऔषध सम्बन्धी रिपोर्टिङ गर्दा बढी सचेत बनाउन पनि यस प्रकारको तालिम आयोजना गरिएको बताए । तालिममा ४० जनाभन्दा बढी सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।