सन्तोश पौडेल/मध्यान्ह
खोटाङ : बन्दाबन्दीका कारण विगत ६ महिनादेखि बन्द खोटाङको तीन विमानस्थलमध्ये दुईवटामा शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमायाँ राई खानीडाँडा विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थलमा हप्ताको दुई पटक बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा हप्ताको एक पटक बुधबार मात्र उडान भर्नेगरी वायु सेवा निगमले कार्यतालिका सार्वजनिक गरेको छ ।
खानीडाँडा–काठमाडौंका हवाई उडानका लागि एकतर्फी भाडा प्रतिव्यक्ति चार हजार ७ सय ४० रुपैयाँ निर्धारण भएको खानीडाँडा विमानस्थलका इन्चार्ज नवराज कटवालले जानकारी दिए । प्रमुख कटवालका अनुसार यसअघि नियमित उडान हुँदै आएको खानीडाँडा–बिराटनगरको उडान भने तत्कालका लागि नहुने भएको छ ।
यस्तै, थामखर्क विमानस्थलका लागि भने एकतर्फी भाडा प्रतिव्यक्ति चार हजार ३ सय ८५ रुपैयाँ निर्धारण गरिएको जनाइएको छ । खोटाङ जिल्लामा तीन वटा विमानस्थल रहेका छन् । उता, जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलमा भने तत्काल उडान नहुने भएको छ । लामीडाँडा विमानस्थलमा पनि चाँडै नियमित उडान भर्ने पहल भइरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले मध्यान्हलाई जानकारी दिए । नियमित उडान हुने भएपछि कोरोनाको जोखिमलाई मध्येनजर गर्दै विमानस्थलले सार्वजनिक सूचना जारी गरेर स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह समेत गरेको छ ।
यात्रुलाई लिन तथा लैजान प्रयोग गरिने सवारी साधनहरु गेट बाहिर राख्नुपर्ने, विमानस्थल हाताभित्र छिर्नुपूर्व यात्रुको ज्वरो नाप्ने तथा ब्यागेज निर्मलिकरण गर्नुपर्ने, टर्मिनल हल प्रवेश गर्नु अगाडि हात धोएको हुनुपर्ने, यात्रा अवधिभर आफूलाई चाहिने पानी, स्यानिटाइजर तथा जगेडा मास्क यात्रु आफैले बोक्नुपर्ने जनाइएको छ । यात्रुमा सामान्य ज्वरो आएको तथा कोरोना भाइरस सम्बन्धी कुनै लक्षण देखिएमा संबन्धित यात्रुलाई यात्रा गर्न नदिइने विमानस्थलले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies