काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले बूढानीलकण्ठस्थित पवित्र सेवा समाज नेपालमा आश्रित बालबालिकासँग यस वर्षको फागु पूर्णिमा अर्थात् होली मनाएको छ ।
मञ्चले केन्द्रमा आश्रित बालबालिकाका लागि ‘ह्याप्पी होली’ अंकित टिसर्टसहित बिहीबार बिहानको खाना र नगद ७१ हजार रुपैयाँ प्रदान गरेको छ । उक्त केन्द्रमा आयोजित संक्षिप्त कार्यक्रममा मञ्चका अध्यक्ष जनक रावलले संस्थाका अध्यक्ष दीक्षा चापागाईंलाई ७१ हजार रुपैयाँको चेक प्रदान गरे ।
चेक हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष रावलले व्यवसायीको सामाजिक उत्तरदायित्वको सिद्धान्तअन्तर्गत उक्त संस्थामा आश्रितहरूलाई सहयोग गरेको र भविष्यमा आइपर्ने अन्य जरुरत अवस्थामा पनि सहयोग गर्ने बताए ।
मञ्चका सचिव राजेन्द्र अधिकारीले आश्रित बालबालिका उज्ज्वल भविष्यका लागि गरेको कार्यका लागि मञ्च तथा केन्द्रप्रति शुभकामना व्यक्त गरे । उक्त संस्थाकी अध्यक्ष दीक्षा चापागाईंले आश्रित बालबालिकालाई गरेको सहयोगका लागि मञ्चप्रति आभार व्यक्त गरिन् । उनले त्यहाँ अभिभावक र आश्रयविहीन बनेका बालबालिकालाई उच्च शिक्षासम्मको प्रबन्ध गरिदिने गरेको भन्दै मञ्च जस्ता सामाजिक तथा व्यावसायिक क्षेत्रमा कार्यरत दाताहरूको सहयोग आवश्यक रहेकाले भविष्यमा पनि सहयोग गर्न आग्रह गरिन् ।
मञ्चले गत वर्षदेखि होलीका अवसरमा पुनस्र्थापना केन्द्रहरूमा आश्रित बालबालिकालाई सहयोग गरेर मनाउने गरेको छ । गत वर्ष जोरपाटीस्थित अपांग पुनर्स्थापना केन्द्रमा आश्रित बालबालिकासँग होली खेल्दै खाना खुवाएर नगद सहयोग गरेको थियो ।
कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वमहासचिव एवं मञ्चका पूर्वअध्यक्ष नरेश गेलाल, संघकी कोषाध्यक्ष सरिता घले, कार्यसमिति सदस्य बैकुण्ठ पौडेल ‘वैभव’सहित मञ्चका पदाधिकारी तथा सदस्यहरूसहित करिब २ दर्जन व्यवसायी सहभागी रहेको मञ्चका कोषाध्यक्ष शीतल मैनालीले जानकारी दिए । त्यस अवसरमा मञ्चमा आवद्व व्यवसायीले एकआपसमा अबीर तथा रङ लगाई खुसी साटासाट गरेका थिए ।