२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गणपुरक संख्या नपुगेपछि वैदेशिक रोजगार संघको साधारण सभा स्थगित

ADV
२०८१ असार १८ गते ०६:३५
गणपुरक संख्या नपुगेपछि वैदेशिक रोजगार संघको साधारण सभा स्थगित

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३०औं साधारण सभाको बन्दसत्र स्थगित भएको छ । सोमबार उद्घाटनसत्र भएपनि विधानअनुसार गणपुरक संख्या नपुगेका कारण बन्दसत्र स्थगित भएको हो ।

३०औं साधारण सभाको बन्दसत्रमा कार्यसमितिको तर्फबाट पेश भएको विधान संशोधनको प्रस्तावमा दिनभर छलफल भएपनि फरक–फरक धारणा आएका थिए । विधानमा सहमति नभएपछि गणपुरक संख्या नपुगेको भन्दै बन्दसत्रको कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । संघको विधानले साधारण सभाका लागि कूल सदस्यको ५१ प्रतिशत उपस्थिति अनिवार्य गरेको छ ।

संघले ९४२ साधारण सदस्य रहेकोे बताएको छ । उद्घाटनसत्रमा करिब ५ सय व्यवसायी उपस्थित रहेकोमा बन्दसत्रमा २ सयमात्रै व्यवसायी उपस्थित रहेकोे संघका महासचिव मेघनाथ भुर्तेलले बताए । उनले संघ कार्यसमितिको बैठक डाकेर साधारण सभाको अर्को मिति तोकिने बताए ।

संघका कानूनी सल्लाहकार अधिवक्ता देवराज कटुवालले संघको विधानमा अर्को साधारण सभाको बैठकमा उपस्थित संख्यालाई नै गणपुरक संख्या मानिने प्रावधान रहेको बताए । अर्काे साधारण सभा सात दिनभित्र बोलाउनुपर्ने प्रावधान छ । तर सात दिन भन्नाले गणपुरक संख्या नपुगेको साधारण सभाको दिनले सात दिन हो वा कार्यसमितिले निर्णय गरेकोे सात दिन हो भन्ने विषयमा फरक–फरक बुझाइ छ । अधिवक्ता कटुवालले कार्यसमितिले निर्णय गरेको सात दिन भनिएकाले नयाँ मिति तोक्ने विषयमा कार्यसमितिलाई स्वतन्त्रता रहेकोे उल्लेख गरे ।

अर्को साधारण सभाको बैठकमा उपस्थित संख्यालाई नै गणपुरक संख्या मानिने प्रावधान छ । संघलाई छाता संस्था मान्दै आएका घटक संस्थामा आबद्ध व्यवसायीले बन्दसत्रमा अपारदर्शीरूपमा विधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाएका छन् । संघ नेतृत्वले भने संघलाई महासंघको हैसियतमा सञ्चालन गर्ने सतप्रयासलाई बुझ्ने प्रयास नगरी व्यवसायी अनावश्यकरूपमा शंकालु र पूर्वाग्रही बनेको बताएको छ । 

संघको विधानमा पदाधिकारी भन्नाले संघको कार्यसमिति अध्यक्ष, उपाध्यक्षहरू, महासचिव, कोषाध्यक्ष, सचिव र सदस्यहरू समेतलाई जनाउने भन्दै संघ कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको अयोग्यताअन्तर्गत कार्यसमितिको कुनैपनि पदको उम्मेदवार हुनका लागि निर्वाचन हुने मितिभन्दा एक १ वर्ष अगाडि संघको सदस्यता प्राप्त गरिनसकेको भएमा, अध्यक्ष पदको हकमा एक कार्यकाल कार्यसमितिको पदाधिकारी नभएको र एक पटक अध्यक्ष भइसकेको व्यक्तिको मनोनयन भएमा भन्ने प्रावधान राखी संशोधन प्रस्ताव पेश गरिएको थियोे । 

अधिकांश व्यवसायीले एक कार्यकाल कार्यसमितिको पदाधिकारी नभएको भन्ने व्यवस्थामा असहमति जनाएका थिए । संशोधनको उक्त प्रस्ताव सामाजिक सञ्जालमा सार्वजनिक भएपछि वैदेशिक रोजगार व्यवसायी प्रगतिशील मञ्च नेपालका महासचिव मिलन कट्टेललगायतले साधारण सभाको उद्घाटनसत्र शुरू नहुँदै त्यसमा असहमति सार्वजनिक गरेका थिए । मञ्च नेपालका अध्यक्ष जनक रावलले बन्दसत्रमा अध्यक्षको उम्मेदवारीमा सिण्डिकेट सिर्जना गर्ने गरी विधानमा संशोधन गर्न खोज्नु आपत्तिजनक रहेकोे टिप्पणी गरेका थिए ।

बन्दसत्रमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष दीपक थापा, महासचिव महेश कुमार बस्नेत, पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी, महासचिव कुन्छादोर्जे दिमदोङ, समाजवादी वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष अख्तर हुसेनलगायतका व्यवसायीले विरोध जनाएको स्रोतले बतायो ।

रावलले संघ नेतृत्वले रूपान्तरणको कुरा गरेपनि आम व्यवसायीलाई विश्वासमा लिने सवालमा परिपक्वता देखाउन नसकेको टिप्पणी गरे । कतिपय व्यवसायीले विधानभन्दा सेवाशुल्क, संख्या सय समस्यालगायतका व्यवसायीको समस्या समाधानका लागि केन्द्रित हुन आग्रह गरेको बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise