२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

व्यवसायीमाथि मन्त्री अर्यालका तीन गम्भीर असन्तुष्टि

ADV
२०८१ असार १८ गते ०६:४०
व्यवसायीमाथि मन्त्री अर्यालका तीन गम्भीर असन्तुष्टि

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही वैदेशिक रोजगार व्यवसायी भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा युवायुवतीलाई विदेश पठाएर आर्थिक अपचलनमा लागेको दाबी गरेका छन् । सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२औं स्थापना दिवस तथा ३०औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस प्रकारका गतिविधिले वैदेशिक रोजगार क्षेत्रलाई असुरक्षित बनाएको बताए । 

उनले भिजिट र व्यक्तिगत भिसामा हुने ठगी रोक्नका लागि सबै व्यवसायीलाई सहयोग गर्न आग्रहसमेत गरे । ‘भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा पठाउने कार्यमा म्यानपावर व्यवसायीको नै संलग्नता रहेको विषयमा मन्त्रालय जानकार रहेको छ,’ मन्त्री अर्यालले भने, ‘हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा संलग्न छन् । त्यसैले एक पटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम गर्न नपरोस् ।’

भिजिट भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्वारा नै नेपाली ठगिएको मन्त्री अर्यालले टिप्पणी गरे । उनले भने, ‘ठगिने पनि नेपाली ठग्ने पनि नेपाली । तपाईंहरु आफ्नै छातीमा हात राखेर जिम्मेवार भएर सोचिदिनुस् । कसैलाई पक्राउ गर्ने मेरो चाहना छैन । गल्ती गर्नेलाई कानूनले नै कारबाही गर्छ । म कसैको ढोका ढकढकाउन जानु पर्देन । त्यसैले समयमा नै जिम्मेवार भएर वैदेशिक रोजगारी क्षेत्रमा मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुहोस् ।’

त्यस्तै, मन्त्री अर्यालले वैदेशिक रोजगारीको क्षेत्रमा वार्षिक दुई सय एक अर्ब ६० करोड रुपैयाँ गैरबैकिङ च्यानलबाट संकलन भइरहेको तथ्यांक पनि मन्त्रालयलाई प्राप्त भएको बताए । यसलाई औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगतरुपमा गहिरो अध्ययन गरिरहेको उनले दाबी गरे ।

मन्त्री अर्यालले वैदेशिक रोजगार बाध्यात्मक अवस्था भएकाले यस अवस्थाको अन्त्य नहुन्जेलसम्मका लागि व्यवस्थित र सुरक्षित गर्नुपर्नेमा जोड दिँदै वैदेशिक रोजगारीमा जानुपर्ने एक पटकको बाध्यता अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव घनश्याम उपाध्यायले पनि व्यवसायीहरुलाई व्यावसायिक इमानदारिता देखाउन र वैदेशिक रोजगारमा जाने कामदारको सुरक्षामा ध्यान दिन आग्रह गरे । उनले पारदर्शिताका सम्बन्धमा मन्त्रालयले व्यवसायीलाई प्रश्न राख्ने अर्थात छानबिन गर्ने भन्दै व्यवसायीहरूले पनि व्यवसायको सुरक्षा र सार्वजनिक हितका विषयमा मन्त्रालयलाई प्रश्न उठाउनुपर्ने बताए ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैज्ञानिकरुपमा वैदेशिक रोजगारी लागत र सेवा शुल्क तोकिनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी खोल्नुपर्ने, एक सय श्रमिक पठाउने बाध्यकारी व्यवस्थालाई पनि पुनरावलोकन गर्नुपर्ने, युरोपेली मुलुकमा मागपत्र प्रमाणीकरणमा सहजीकरणलगायतका माग राखेका थिए ।

संघका पूर्वअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूले वैदेशिक रोजगार वर्तमान समयकोे विश्वव्यापी प्रचलन र विदेशी मुद्रा आर्जनको स्रोत भएकाले नियन्त्रण नभइ सरकारले सहजीकरण गर्नुपर्ने सुझाव राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र चलायमान बनाउने रेमिट्यान्स भित्र्याउने क्षेत्र वैदेशिक रोजगारको क्षेत्र भएकाले सरकारले यसप्रति विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

साधारण सभा तथा वार्षिकोत्सव कार्यक्रममा पूर्वअध्यक्ष पुष्पलाल महर्जन र ताराप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो । त्यस्तै वैदेशिक रोजगारबाट फर्किएर उद्यमी बनेका  एशोसिएसन अफ एग्रिकल्चरल टेक्नोलोजी इन्ड्रष्टी नेपालका अध्यक्ष खोजराज कटुवाल, नेपाल केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्त र नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुव गौतमलाई सम्मान गरिएको थियो । यसका साथै संघले क्यानसर पीडित नवराज न्यौपानेलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

महासचिव मेघनाथ भुर्तेलले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष डिक बहादुर खत्री कुमारले स्वागत मन्तव्य राखेका थिए । संघ कार्यसमिति सदस्य वैकुण्ठ पौडेलले कवितामार्फत वैदेशिक रोजगारका समस्या समाधानका विषयमा सरकारी उदासिनतामा आक्रोश जनाए । सो अवसरमा संघले आफ्नो आधिकारिक युट्युब च्यानल पनि सार्वजनिक गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise