२०८२ साउन २४ गते शनिवार / Aug 09 , 2025 , Saturday
२०८२ साउन २४ गते शनिवार
Ads

‘श्रमिकले रोजगारी र रोजगारदाताले श्रमिक नपाउने अवस्थाको अन्त्य गर्न रोजगार मेला’

shivam cement
मध्यान्ह
२०८१ जेठ २२ गते ०७:५१
‘श्रमिकले रोजगारी र रोजगारदाताले श्रमिक नपाउने अवस्थाको अन्त्य गर्न रोजगार मेला’

पोखरा : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी वर्षदेखि पालिकास्तरमा रोजगार मेलाको आयोजना गर्ने बताएका छन् । सोमबार गण्डकी प्रदेशको पोखरामा शुरु भएको ‘श्रमाधान रोजगार मेला’को उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदाताबीच समन्वय गर्न मन्त्रालयले रोजगार मेलाको आयोजना गरेको बताए । उनले हाल प्रदेश राजधानीमा आयोजना गरिएको मेला आगामी वर्षदेखि पालिकास्तरमा लगिने बताए ।

बिनाबजेट छोटो अवधिमा नै मेला गरेकाले यसपटक कतिपयलाई कार्यक्रममा सहभागी गराउन नसकेको भन्दै मन्त्री अर्यालले आगामी दिनमा तीन वटै सरकार मिलेर पालिकास्तरमा नै मेला गर्ने प्रतिबद्धता जनाए ।

नेपालमा एकातिर रोजगारी नपाउने र अर्कोतिर रोजगारदताले श्रमिक नपाउने अवस्थालाई अन्त्य गर्न रोजगार मेलाले सहयोग गर्ने बताउँदै मन्त्री अर्यालले श्रमिक र रोजगारदाताबीचको खाडललाई अन्त्य गर्न यस्तो मेलाले सहयोग गर्ने बताए । 

श्रमाधान रोजगार मेलाले एक खालको शुरुवात भएको भन्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमले रोजगारीका क्षेत्रमा राम्रो हुने उनले बताए । मन्त्री अर्यालले दुईदिने मेलाले वैदेशिक रोजगारीमा जानेहरुलाई समेत धेरै जानकारी मिल्ने दाबी गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालमा देखिएको बेरोजगारी समस्याले संविधानको स्थायित्वबारे पटक–पटक प्रश्नहरु उठिरहेको भन्दै बेरोजगारी समस्याको समाधान हुन जरुरी रहेकोे बताए । मुख्यमन्त्री पाण्डेले कृषिमा आधारित रोजगारी दिलाउन नसकेको भन्दै गत वर्ष कृषिका लागि प्रदेश सरकारले ठूलो योजना अघि बढाएको, तर त्यो सफल हुन नसकेको उल्लेख गरे ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले मेलाले रोजगारी खोज्नेहरुलाई रोजगारदातासम्म पुर्‍याउने पुलको काम गर्ने बताए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान)को संयोजन रहेको मेलाको सह–आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघलगायतका सरोकारवाला संस्थाहरु रहेका छन् ।

मेलामा विभिन्न खालका ३९ वटा स्टलहरु राखिएका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबि बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघलगायतका विभिन्न खालका स्टलहरु रहेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise