मकवानपुर : अनेरास्ववियु मकवानपुरले जिल्ला अध्यक्ष अमृत बर्तौलाको नेतृत्वमा स्ववियु निर्वाचनमा प्रभावशाली नतिजा निकाल्दै विद्यार्थी राजनीतिमा आफ्नो मजबुत उपस्थिति देखाएको छ । जिल्लाका प्रमुख क्याम्पसहरूमा भएको निर्वाचनमा अखिलले विभिन्न पदमा विजय हासिल गरेको हो ।
मकवानपुर बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुका प्रसिद्ध रेग्मीले ७०६ मतसहित अध्यक्ष पदमा जित हात पारेका छन् । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका छोइसाङ लामाले ५०७ मत प्राप्त गरेका छन् । लामा अघिल्लो कार्यकालमा स्ववियु अध्यक्ष थिए भने रेग्मी त्यसै कार्यसमितिका सदस्य थिए । हेटौँडा क्याम्पसमा अनेरास्ववियुका अभी मैनालीले २५१ मतसहित प्यानल जित हासिल गरे ।
बंश गोपाल बहुमुखी क्याम्पसमा दिवस सिलवाल निर्विरोध निर्वाचित भएका छन् ।
निर्मल बहुमुखी क्याम्पसमा प्रशान्त भण्डारी ५३ मतसहित प्यानल विजयी भएका छन् । विद्यार्थीका हक, हित र अधिकारप्रति प्रतिबद्धता अध्यक्ष बर्तौलाले यस जितलाई विद्यार्थी आन्दोलनको सफलता भन्दै अब संगठन अझ सशक्त भएर अघि बढ्ने बताएका छन् । उनले भने, ‘विद्यार्थीहरूको अधिकार रक्षा, गुणस्तरीय शिक्षा, उचित शुल्क संरचना, छात्रवृत्ति कार्यक्रम, पूर्वाधार विकास, विद्यार्थी रोजगारी र सीपमूलक शिक्षाको सुनिश्चितताका लागि हाम्रो संगठन निरन्तर संघर्ष गर्नेछ ।’ बर्तौलाले निजी शिक्षालयहरूले
विद्यार्थी शोषण गर्ने प्रवृत्तिको विरोध गर्दै सरकारी क्याम्पसहरूमा सुविधाको विस्तार आवश्यक रहेको बताए । उनकाअनुसार उच्च शिक्षामा पहुँच सुनिश्चित गर्न सरकारले प्रभावकारी नीति ल्याउनुपर्नेछ । स्ववियु नेताहरूले सिट क्षमताअनुसार भर्ना नीति, पुस्तकालय तथा प्रयोगशालाको विस्तार, कलेज यातायात सेवा सुधार, खेलकुद र अतिरिक्त क्रियाकलाप प्रवद्र्धनजस्ता विषयलाई मुख्य एजेन्डाका रूपमा अघि बढाउने बताएका छन् ।