सर्लाही : सुख्खा मौसम र हावाहुरी सुरुभएसँगै बढ्दो डढेलोको कारण वनजंगल आसपासका स्थानीय त्रसित भएका छन् ।
जिल्लाको चुरेभेग तथा पूर्व पश्चिम राजमार्ग वरिपरीका जंगलमा भिषण डढेलो लाग्न थालेपछि वन जंगलका आसपास वस्तीका स्थानीय त्रासदीपुर्ण दिन काट्न बाध्य भएका हुन् ।
जिल्लामा रहेका विभिन्न सरकारी, साझेदारी, सामुदायिक वन र सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा पनि बर्षेनी डढेलो लाग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । सुख्खा मौसम सुरु भएसँगै यस वर्षपनि सर्लाहीका वनमा दर्जनौँ स्थानमा डढेलो
लागिसकेको छ । केही दिनदेखि चुरे क्षेत्र र विभिन्न सामुदायिक वन क्षेत्रमा डढेलो लागिरहेको छ । बुधबारपनि मुर्तिया क्षेत्रमा रहेको सागरनाथ वन विकास परियोनाको जंगलमा आगलागी भैरहेको छ भने मंगलवार लालबन्दी सव–डिभिजन वन अन्तर्गत बाहुनी सामुदायिक वनमा भिषण डढेलो लागेको लालबन्दी ११ बाहुनीका स्थानीय सुरेश पौडेलले जानकारी दिएका छन् । वस्ती नजिकै लागेको डढेलो स्थानीय स्रोत साधन प्रयोग गरी नियन्त्रण गरिएको उनले बताए । सम्बन्धित निकायमा जानकारी गराउँदा समेत कतैबाट सहयोग नपाएको उनले गुनासो गरे ।
बसन्त ऋतु सुरुभएसँगै रुख बिरुवाको नयाँ पात आउने र पुराना पात झरेर सुकेको समयमा जंगल क्षेत्रमा डढेलो लाग्ने गरेकको छ । चुरे भेग स्थित लालबन्दी नगरपालिका १४ नारायणखोलाका स्थानीय पुर्णबहादुर लुंगेलीले घर नजिकैको चुरेका जंगलमा बर्षेनी लाग्ने डढेलो कारण फागुनदेखि जेष्ठ चार महिना सम्म त्रासमा बस्नु पर्ने गुनासो गरे । वर्षेनी लाग्ने डढेलोका कारण बन्य जन्तु लोप हुँदै गएको उनले सुनाए । आगलागीकै कारण चुरे क्षेत्रमा दर्जनौँ गाउँ डढेलोको जोखिममा छन् । वस्तुभाउ चराउन गएकाचुरोट बिडी खाएर राम्रोसँग ननिभाइकन जथाभावी ठुटा फ्याक्नाले डढेलोको जोखिम बढ्ने स्थानीयहरू बताउँछन् ।
अघिल्ला वर्षहरुमा झैँ यस वर्षपनि डढेलो लाग्ने समय भएपनि डढेलो रोकथामका लागि कुनै निकायबाट पहल नभएको लालबन्दी १२ पत्थरकोटका स्थानीय हरी गुर्मछान मगरले गुनासो गरे । गुर्मछानका अनुसार विगतका बर्षहरुमा डढेलोका कारण जंगल नजिक र चुरे क्षेत्रमा बसोवास गर्ने नागरीकले जनधनको क्षती व्यहोर्नु परेको अनुभव सुनाए ।
यता डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले जंगलमा डढेलो लाग्दा मानव वस्ती समेत जोखिममा पर्ने भएकोले सचेत हुनुपर्ने बताए । त्यसकारण स्थानीय बासिन्दा अझ सचेत हुनुपर्ने बताएका छन् । वन तथा बन्यजन्तुलाइ डढेलो बाट जोगाउन वर्षेनी अग्नी नियन्त्रक खटाएर वन समितिका पदाधिकारीहरुलाइ अभिमुखीकरण तालिम समेत प्रदान गर्दै आइरहेको उनले बताए ।