काठमाडौं : नेपालमा अनलाइन टिभी पत्रकारिता क्षेत्रलाई व्यवस्थित, सुदृढ र जिम्मेवार बनाउन अनलाइन टिभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघबीच एकीकरण भएको छ । सहमतिअनुसार अब दुवै संस्था अनलाइन टिभी पत्रकार संघका रूपमा अगाडि बढ्नेछन् । यस एकीकरणले अनलाइन टिभी पत्रकारितामा एकता, सहकार्य र पेशागत मर्यादा अभिवृद्धि गर्ने विश्वास गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।
डिजिटल मिडिया पत्रकार संघका सदस्यहरू अब अनलाइन टिभी पत्रकार संघका नियमित सदस्य बन्ने भएका छन् भने डिजिटल मिडिया पत्रकार संघ बन्द गरिने भएको छ । एकीकृत संघको नेतृत्वका लागि आगामी अधिवेशनमार्फत् नयाँ कार्यसमिति चयन गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ । अनलाइन टिभी पत्रकार संघका वरिष्ठ उपाध्यक्ष संजीव रेग्मी र डिजिटल मिडिया पत्रकार संघका उपाध्यक्ष भोजराज थापाले हस्ताक्षर गरेको सम्झौता पत्रमा डिजिटल मिडिया पत्रकार संघको सबै दायित्व, प्रशासनिक जिम्मेवारी, तथा आर्थिक हिसाब–किताब त्यही संघले व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।
दुवै संस्था एकीकरणमा आएको निर्णयले नेपालको अनलाइन टिभी पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । एकताबद्ध भई काम गर्दा पत्रकारहरूको हकहित प्रवद्र्धन, पेशागत मर्यादा संरक्षण, र अनलाइन पत्रकारिताको गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको संघका उपाध्यक्ष कुशलभ केसीले बताए । सम्झौतापत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।