काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सबै तयारी पूरा भएको भन्दै ढुक्क भएर परीक्षा दिन आग्रह गरेको छ ।
परीक्षा बिहान ८ बजेदेखि सुरु हुने छ । बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा आउँदो १९ गतेसम्म चल्ने छ ।
यस वर्षको परीक्षामा ५ लाख १४ हजार ७१ जना सहभागी हुँदै छन् । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई दिँदै छन् । यस्तै, केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष सबैभन्दा धेरै विद्यार्थी काठमाडौंमा ३९ हजार ६०० जना र सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन् ।
सरकारले एसईईका लागि २७ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको छ । यसैबीच एसईईको नतिजा आउँदो ७ असारभित्र निकाल्ने बोर्डले जनाएको छ । परीक्षा संचालन भएको ९० दिनभित्र नतिजा प्रकाशन गर्नेगरी तयारी बोर्डको छ ।
बोर्डले गएको वर्षदेखि न्यूनतम ३५ प्रतिशतभन्दा कम प्राप्तांक ल्याउने विद्यार्थीहरू अनुत्तीर्ण हुने व्यवस्था लागू गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा कहिले आँउछ भनेर विद्यार्थीलाई अन्योल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति तोकिएको बताए ।