२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

मोना कतारद्वारा ३ लाख रुपैयाँ अक्षयकोषलाई प्रदान

Nada
तिलु शर्मा पौडेल
२०८१ असार १८ गते १७:५२
Shares
मोना कतारद्वारा ३ लाख रुपैयाँ अक्षयकोषलाई प्रदान

दोहा कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले एक कार्यक्रमका बीच मोना कतार बहुउद्देश्यीय अक्षयकोषलाई ३ लाख रुपैयाँ प्रदान गरेको छ । गत मार्च ८ तारिकमा मोना कतार बहुउद्देश्यीय अक्षयकोषको श्रीवृद्धिका लागि मोना कतारले आयोजना गरेको २१औ‌ वार्षिकोत्सव तथा पाँचौं विविध सांस्कृतिक कार्यक्रममार्फत भएको बचतको रकम अक्षयकोषलाई प्रदान गरिएको हो ।

ncell

उक्त रकम मोना आईईसीका कोषाध्यक्ष नरेन्द्र फगामीको विशेष उपस्थितिमा मोना कतारका अध्यक्ष राजु पौडेल, संरक्षक रमेश पौडेल तथा कार्यसमितिको रोहबरमा मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्कीसहितलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमबाट भएको आम्दानी अक्षयकोषमा जम्मा गरिने र कार्यक्रमको आयव्ययसमेत सार्वजनिक गर्ने प्रतिबद्धताबमोजिम रकम हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताए ।

पौडेलले कार्यक्रममा कूल ३८ हजार ७ सय ९४ रियाल आम्दानी भएको र २० हजार ६ सय ६३ रियाल खर्च भइ १८ हजार १ सय ३१ कतारी रियाल बचत भएको र सोही बचतमार्फत ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको बताए । उनले कार्यक्रममार्फत नगद सहयोगका लागि प्रतिबद्धता गरिएको सबै रकम दाताबाट प्राप्त नभएको खुलासासमेत गरे ।

सहयोग रकम ग्रहण गर्दै कोषका अध्यक्ष कार्कीले मोना कतार आफैंमा कोषको संरक्षक संस्था रहेको र अध्यक्षसहित कार्यसमितिले प्रतिबद्धता गरेबमोजिम रकम हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले कार्यक्रम सफल बनाउने सबैलाई आभार व्यक्त गर्दै कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहँदै मानवीय सेवा भावमा कोष लाग्ने बताए । उनले कोषलाई रु एक करोड मूल राशि बराबरको बनाउने अभियानलाई समेत तीव्रता दिइएको बताए । जिल्ला प्रशासन कार्यालय म्याग्दी बेनीमा सरकारी ऐन-नियम बमोजिम दर्ता भइ सञ्चालनमा आएको अक्षयकोष एक गैर सरकारी सामाजिक संस्था हो ।

ताजा खबर

सम्बन्धित खबर