२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

दैनिक हराउँछन् ४५ जना  

महिला र बालबालिकाको डरलाग्दो तथ्यांक 

draupadi film
जीवन शर्मा
२०८१ चैत ११ गते ११:२१
दैनिक हराउँछन् ४५ जना  

काठमाडौंः आफन्त हराउँदा मान्छेलाई कस्तो चोट पर्छ भनेर नाप्ने कुनै उपकरण छैन । आफ्ना मान्छे एकैछिन नदेख्दा पनि बेचैनी हुन्छ भने हराउँदा कति पीडा होला ? तर, वर्षिक हराउने मानिसहरूको संख्या अत्यधिक छ । त्यसमा पनि महिला र बालबालिकाको संख्या डरलाग्दो छ ।

नेपालमा दैनिक सरदर ४५ देखि ५० जना र बर्सेनि १५ हजारभन्दा बढी मानिसहरू हराउने गरेका नेपाल प्रहरीले जनाएको छ । हराउनेमध्ये करिब ६ हजार महिला र ६ हजार ६०० बालबालिका रहेका देखिन्छ । 

नेपाल प्रहरीको वेबसाइटमा हराएका व्यक्तिको फोटोसहितको विवरणसमेत राखिएको छ । यो विवरण र प्रहरीले उपलब्ध गराएको पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा नेपालमा व्यक्ति हराउने घटनाको डरलाग्दो तस्बिर देखिन्छ ।

उक्त तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/०८२ को ७ महिनामा ९ हजार ६०१ मानिस हराएका छन् । तीमध्ये पनि सबैभन्दा बढी महिला र बालबालिका हराएका छन् भने केही जेष्ठ नागरिक पनि छन् ।

यो त प्रहरीमा उजुरी पर्नेहरूको हिसाब मात्र हो । यसरी हराएकामध्ये आधाभन्दा धेरै मान्छेहरू फेला पर्न नसकेका प्रहरीले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ । आखिर यति धेरै मानिसहरू कसरी हराउँछन् र किन भेटिँदैनन् ? आमसमाजमा यो प्रश्न जति गम्भीर छ, सम्बन्धित घर परिवारका लागि त्यत्तिकै अप्रिय पनि छ ।  

देशभरबाट आर्थिक वर्ष २०७८/०७९ देखि चालू आर्थिक वर्ष (साउन–माघ)को ७ महिनासम्म ५५ हजार ३५६ मानिस हराएका छन् । सोही समयमा बेपत्ता भएका ३१ हजार ४१ जना फेला परेका प्रहरीले मध्यान्हलाई तथ्यांक उपलब्ध गराएको छ । 

सो ३ वर्ष ७ महिनाको तथ्यांकअनुसार २१ हजार ९९० महिला, २१ हजार ७७४ बालबालिका, १० हजार ९४१ पुुरुष र ६५१ जेष्ठ नागरिक हराएका छन् । यो अवधिमा १२ हजार ६५४ महिला, १२ हजार २३८ बालबालिका, ५ हजार ७२९ पुुरुष र ४२० जेष्ठ नागरिक गरी जम्मा ३१ हजार ४१ जना व्यक्तिहरू फेला परेका छन् । २४ हजार ३१५ जना भेटिएका छैनन् । 

यसरी हेर्दा मासिक औसत १ हजार २०० देखि १ हजार ३०० मान्छे हराउने र ७०० देखि ८०० भेटिन्छन् । बाँकी ५०० देखि ६०० व्यक्तिहरू कहाँ जान्छन् ? अझै दैनिक हेर्दा औसत ४५ मान्छे हराउँदा २७ भेटिने गरेका छन् । बाँकी दैनिक १८ जना मान्छेहरू कहाँ जान्छन् ? अहिलेसम्म पत्तो छैन । यसरी हराएका भनिएका व्यक्ति कहाँ जान्छन् त ? यकिन जबाफ प्रहरीसँग पनि छैन ।

तीमध्ये अधिकांश काठमाडौंबाटै हराएको देखिन्छ । सूचना र सम्पर्कका साधनहरू सहजै उपलब्ध हुँदा पनि कसरी मान्छे हराउँछन् र भेटिँदैनन् ? कतिपय व्यक्ति हराएको भन्दै परिवारले उजुरी गर्ने तर फर्किएर आएपछि प्रहरीलाई जानकारी नगराउँदा पनि खोज्न समस्या हुने गरेको प्रहरीको भनाइ छ ।

‘हराएका व्यक्तिहरू फेला परेपछि प्रहरीलाई खबर नगर्ने, अवैध बाटोबाट वैदेशिक रोजगारमा जाने र परिचय लुकाएर रोजगारमा संलग्न हुने गरेका कारण बेपत्ता हुनेको संख्या बढी देखिन्छ’, नेपाल प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले भने, ‘धेरै मान्छे अवैध बाटोबाट वैदेशिक रोजगारमा जाने र परिचय लुकाएर बस्ने गरेका छन् । कोही फर्केपछि भेटिएको सूचना प्रहरीसम्म पुग्दैन । कतिपय महिला आफूले गर्दै आएको कामबारे खुलाउन चाहँदैनन् । उनीहरू आफ्नो परिचय ढाँटेर बसेका कारण पनि फेला नपर्नेको संख्या बढी देखिएको हो ।’
हराएको व्यक्तिको पहिचानका लागि प्रहरीको अनुसन्धान ब्युरोले निरन्तर खोजी कार्य जारी राखेको प्रवक्ता आचार्यले बताए ।   

अवैध रूपमा वैदेशिक रोजगारमा जाने महिला तथा युुवाहरूकोे रेकर्ड प्रहरीमा समेत नहुुने प्रहरी स्रोतको भनाइ छ । तर, हरेक वर्ष हजारौं व्यक्ति हराएका भन्दै प्रहरीमा उजुरी पुग्नु र ठूलो हिस्सा नभेटिनुलाई गम्भीर समस्याका रूपमा लिइने सुरक्षा तथा अपराध अनुसन्धानका विज्ञहरू बताउँछन् । ‘एक त व्यक्तिको जीवनको सवाल छ, अर्कातिर हराएकाहरूबाट लुकिछिपी अवैध धन्दा र बढ्दो मानव तस्करीको पनि आशंका रहन्छ । त्यसैले, घर परिवारदेखि राज्य पक्षसम्म सबै गम्भीर बन्नुपर्ने देखिन्छ’, नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेलले बताए ।

अधिकांश परिवारले शंका गरेकै व्यक्तिसँग भागेर लुकिछिपी बसेकासमेत भेटिने गरेको प्रहरीको भनाइ छ । घरायसी खटपट, महिला हिंसा, परपुरुषसँगको सम्बन्धका कारणले व्यक्ति हराउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । केही ‘डिप्रेसन’का रोगी पनि परिवारलाई थाहै नदिई भागेका घटना रहेको प्रहरीको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise