काठमाडौं : २५ फागुनमा पोखराबाट काठमाडौं फर्किंदा पूर्वराजा ज्ञानेन्द्र शाहले पाएको स्वागतले तरंगित राजनीतिमा फेरि १५ चैतमा हुने भनिएको गणतन्त्रवादी र राजावादीको प्रदर्शनप्रति धेरैको चासो बढेको छ ।
२५ फागुनयता राजावादीहरूले राजतन्त्रको पक्षमा सडक संघर्ष गरिरहेका र राजा फर्काउने नारा लगाउन थालेपछि गणतन्त्रवादी दलहरू सतर्क भएका छन् ।
नेकपा (माओवादी केन्द्र)को अगुवाइमा समाजवादी मोर्चाले १५ चैतमा गणतन्त्रको पक्षमा सभा गर्र्दै छ भने सोही दिन राजावादी भनेर चिनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि मैदानमा उत्रँदै छन् । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा पूर्वराजाका समर्थकले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।
गणतान्त्रिक व्यवस्थामाथि चुनौती थपिएको र विभिन्न शक्तिहरूको षड्यन्त्रले व्यवस्थामाथि धावा बोलेको भन्दै समाजवादी मोर्चाले काठमाडौंमा गणतन्त्रको पक्षमा सभा गर्न लागेको हो ।
१५ चैतकै सभाका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको घोषित तराई–मधेश जागरण अभियान स्थगन गरेर सोमबार काठमाडौं फर्केका छन् ।
शनिबार समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा गर्दै छ भने प्रसाईंले तीनकुनेमा शक्ति देखाउने छन् ।
समाजवादी मोर्चासँगै सत्तासीन एमालेले पनि सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । एमाले सोमबारदेखि सडकमा उत्रिएको छ । तर, प्रमुख सतरूढ दल नेपाली कांग्रेसले भने गणतन्त्रको पक्षमा सडक प्रदर्शनमा जाने कुनै पनि कार्यक्रम तय गरेको छैन ।
यद्यपि, आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता जनाएको छ ।
पूर्वराजा शाहले प्रजातन्त्र दिवसको अवसरमा ७ फागुनमा दिएको भिडियो सन्देशपछि पक्ष र विपक्षमा बहस हुँदै गर्दा पछिल्ला दिनमा दलहरूबीच नै मुठभेड हुने अवस्था देखिएको हो । शाहले देश अप्ठ्यारो अवस्थामा रहेको भन्दै आफूहरूलाई साथ दिन जनतासँग अपिल गरेका थिए । रक्तपातविहीन दरबार छाडेका पूर्वराजा देशभित्र र देशबाहिर बेलाबेलामा निस्किने गर्दै आएका छन् ।
पूर्वराजाको सन्देशपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सडक संघर्षको तयारीमा छ भने पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा जनआन्दोलन समिति पनि गठन भएको छ । तर, सुवेदी नेतृत्वको समितिले आन्दोलन तय भने गरेको छैन ।
राप्रपा प्रतिनिधिसभामा पाँचौं ठूलो दल हो । पार्टीले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा उठाउँदै आएको छ । तर, सबै पक्षलाई समेट्ने भनेर सुवेदीको नेतृत्वमा बनाइएको समितिमा बस्न अध्यक्ष लिङ्देनले अस्वीकार गरेका छन् । पार्टीले उनकै नेतृत्वमा आन्दोलन परिचालन समिति बनाएर सडकमा जाँदै छ ।
गणतन्त्रवादी र राजावादीको जुहारी प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा समेत चलेको छ । गणतन्त्रवादीले राजतन्त्र पुनस्र्थापना नहुने दाबी गर्दा राजावादीहरूले यो व्यवस्थाबाट जनता आजित भइसकेकाले राजतन्त्र फर्काएरै छाड्ने दाबी गर्दै आएका छन् ।
गणतन्त्रवादी नेताहरूले यसरी राजतन्त्र फर्कन नसक्ने बताइरहँदा राजावादीहरूले राजतन्त्रका पक्षमा वकालत गर्दै आएका छन् ।
संसद्मा आमनेसामने भएका गणतन्त्रवादी र राजतन्त्रवादीबीच सडकमा मुठभेडको संकेत देखिएको छ । एकै दिन गणतन्त्र र राजतन्त्रको पक्षमा प्रदर्शन हुने भएपछि मुठभेडको अवस्था आउन सक्ने आँकलन गरिएको छ ।
सुरक्षा संयन्त्र चुस्त
गणतन्त्र भर्सेस राजतन्त्रको संघर्ष जस्तो देखाएर शक्ति प्रदर्शन हुन थालेपछि सुरक्षा संयन्त्र अहिले सक्रिय भएको छ । एकीकृत सुरक्षा संयन्त्रले २ पक्षको प्रदर्शनलाई सूक्ष्म ढंगले अध्ययन गरिरहेको छ भने मुठभेडको अवस्था नआओस् भन्नेमा सजग बनेको छ ।
सुरक्षा समितिले शुक्रबार हुने २ वटा प्रदर्शनबारे छलफल गरेको छ । समाजवादी मोर्चा र प्रसाईंको नेतृत्वमा हुने प्रदर्शनमा देखिन सक्ने सुरक्षा चुनौतीबारे छलफल भएको एक उच्च अधिकृतले बताए ।
गृहमन्त्री रमेश लेखक उपस्थित बैठकमा पूर्वराजा समर्थकहरूको गतिविधिका विषयमा सूक्ष्म रूपले छलफल भएको थियो ।
बैठकमा सम्भावित भिडन्त रोक्न विशेष रणनीति बनाइएको छ । सुरक्षा निकायलाई सतर्क रहन गृहमन्त्री लेखकले निर्देशन दिएका छन् । यस्तै, प्रदर्शनस्थलहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ । विशेषगरी सिंहदरबार, नारायणहिटी संग्रहालय र ठूला सरकारी भवनहरूको सुरक्षा बलियो पारिएको बताइएको छ ।