काठमाडौं : आइएमई ग्रुप र आईएक्सआई कर्पले संयुक्त रूपमा काठमाडाँं टेक्निकल स्कुल (केटीएस) संचालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल संचालन गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा मंगलबार आयोजित एक समारोहबीच सो स्कुलको शुभारम्भ गरे ।सो अवसरमा मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्न सकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको बताए ।
‘प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा छ । सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ’, मन्त्री भण्डारीले भने । स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अगाडि बढ्ने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो स्कुल संचालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए । उनले सो स्कुलले हजारौं युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । ‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुआत गर्ने लक्ष्यका साथ स्कुल स्थापना गरिएको हो । यस स्कुलले विशेषगरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ’, उनले भने ।
काठमाडौं टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा १ लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यमा स्कुलले सहयोग गर्ने बताए । उनले स्कुलले युवालाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको उल्लेख गरे ।
केटीएसले आफ्ना विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तर्राष्ट्रिय साझेदारसँग पनि सहकार्य गर्ने अध्यक्ष पौडेलको भनाइ थियो । त्यस अवसरमा सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो ।
स्कुलले हस्पिटालिटी, कुलनिरी आर्ट्स, केयर गिभिङ, बारिस्ता, बारटेन्डिङलगायत रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम संचालन गर्ने छ । स्कुलले आगामी १ दशकमा १ लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको राससले उल्लेख गरेको छ ।