– रत्न प्रजापति
पछिल्लो समय स्रष्टाहरूका चुनिएका सिर्जना संग्रह गरी पुनः प्रतिनिधि संग्रह प्रकाशन गर्ने परम्परा विस्तारै बढ्दै गएको छ । प्रतिनिधि संग्रह भनिसकेपछि सो संग्रहमा समावेश भएका सिर्जनाले कुनै समय, समाज, विषय र विचारको प्रतिनिधित्व गरेका हुन्छन् भन्ने मान्यता पनि रहिआएको छ ।
प्रतिनिधित्व गर्ने सामथ्र्य भएका सिर्जना समावेश गरिने हुँदा प्रतिनिधि संग्रहलाई गुणवत्ताका दृष्टिकोणले अति नै महत्त्वपूर्ण रूपमा लिइन्छ । विशेषगरी प्रतिनिधि कवितासंग्रह, प्रतिनिधि कथासंग्रह, प्रतिनिधि गजलसंग्रह, प्रतिनिधि गीतसंग्रह र प्रतिनिधि लघुकथासंग्रह पनि प्रकाशन भएका छन् ।
प्रतिनिधि संग्रह प्रकाशन गर्ने क्रममा पछिल्लो पटक लामो समयदेखि कथा लेख्दै आएका कथाकार धनमान श्रेष्ठको प्रतिनिधि कथासंग्रह ‘धनमान श्रेष्ठका प्रतिनिधि कथा’ प्रकाशन भएको छ । यो संग्रहको सम्पादन कार्तिकेय घिमिरेले गरेका छन् भने यो संग्रहलाई स्वर प्रकाशन, काठमाडौंले प्रकाशन गरेको छ । यो संग्रहमा २०२४ सालदेखि २०७८ सालसम्ममा लेखिएका र विभिन्न पत्रपत्रिकामा प्रकाशित जम्मा १६ वटा कथाहरू समाविष्ट छन् ।
संग्रहका कथाहरूको पठनपछि यो प्रतिनिधि कथासंग्रह प्रकाशन गरिनुको औचित्यको पुष्टि भएको महसुस हुन्छ । हरेक कथाले तत्कालीन समय, समाज, विषय र विचारको कुनै न कुनै रूपमा प्रतिनिधित्व गरेका पाइन्छ । कथा पठनका क्रममा तत्कालीन समय र समाजको परिवेश, घटना, दृश्य र पात्रहरू चलचित्रको पर्दामा झैं आँखामा आउँछन् । त्यतिखेर पठनको छुट्टै आनन्द प्राप्त हुन्छ र भिन्नै अनुभूति हुन्छ ।
कथाकारले तत्कालीन समय र समाजका भिन्न विषयहरूलाई कथानक बनाएर आफ्ना विचारको सौन्दर्यले सजाएर लेखिएका कथाहरूले पठनको बेग्लै आनन्द दिन्छन् । कुनै वाद र सिद्धान्तलाई अंगीकार नगरी स्वतन्त्र विचारमा लेखिएका अत्यन्तै सरल र सहज प्रवाहका कथाहरूले पाठकलाई सुरुदेखि अन्त्यसम्म उत्तिकै मोहित बनाई राख्छन् । छोटो आयामका कथाहरूले पठनमा उत्साह पनि जगाउँछन् । यो उत्साहले पठनको आनन्दलाई दोब्बर बनाउँछ ।
धेरैजसो कथाहरू सामाजिक यथार्थको धरातलमा लेखिएका छन् । यद्यपि, कुनैकुनै कथामा राजनीतिक पृष्ठभूमिलाई पनि कथानक बनाइएको छ, जुन कथामा त्यतिखेरको राजनीतिक पृष्ठभूमि र त्यसले सिर्जना गरेको फरक परिस्थितिको चित्रण गरिएको छ । अधिकांश कथा ग्रामीण परिवेशमा लेखिएका छन् भने शहरी परिवेशमा लेखिएका कथा पनि छन् । कथाका अधिकांश पात्रहरू गरिबीले पिल्सिएर असहजता र अभावमा बाँचेका छन् । तथापि, ती पात्रमा आर्थिक, सामाजिक र राजनीतिक चेतनाको स्तर बढ्दै गरेको संकेत पाइन्छ ।
पात्रको यौन मनोविज्ञान, विकृत मनोदशा, मानसिक अन्तरद्वन्द्व, मानवीय संवेदना आदिको विश्लेषणमा कथाकारको कलम दरिलोसँग चलेको महसुस हुन्छ । विशेषगरी पात्रको मनोविश्लेषण अत्यन्तै प्रभावशाली लाग्छ । पात्रको मनोदशाले पाठकको हृदयलाई पनि उत्तिकै अभिभूत तुल्याउँछ ।
संग्रहको पहिलो कथा ‘कैदी’ राणा, राजा र प्रजाको तत्कालीन समयलाई प्रतिबिम्बित गर्ने प्रभावशाली कथा हो । यद्यपि, यो कथामा राजनीतिभन्दा सामाजिक यथार्थको एउटा उल्लेख्य पाटोलाई उठान गरिएको छ । विशेषगरी दरबारका यौनेच्छाले छटपटिएका मैयाँ साहेबहरूको खेलौना बन्न बाध्य एउटा निरीह पात्रको मनोदशालाई निकै प्रभावशाली ढंगमा प्रस्तुत गरिएको छ । जेल जस्तो दरबार र खेलौना जस्तो जीवनबाट मुक्ति खोजिरहेको पात्र अचानक चोरीको आरोपमा कैदमा परेको घटनाले विस्मित तुल्याउँछ ।
‘नसोचिएका दिनहरू’ कथामा पहिलेपहिले गाउँबाट भागेर (वि)देश जाने चलनलाई कथानक बनाएर प्रस्तुत गरिएको छ । यो कथामा रेलको बारेमा सुनेर रेल हेर्न र चढ्न निकै उत्सुक एउटा सोझो गाउँले केटाको मनको अन्तरद्वन्द्व केलाइएको छ । ‘यौटा भ्रम’ एउटा उत्कृष्ट यौन मनोवैज्ञानिक कथा हो । स्वास्नीको मृत्युपछि मानसिक रूपमा विक्षिप्त जस्तै भएको एउटा पात्र कुमारको अस्वाभाविक क्रियाकलाप र उसको मनोदशालाई चित्रण गरिएको यो कथा निकै मार्मिक छ ।
‘कान्छी स्वास्नी’ कथामा विशेषतः मातृत्वमोहलाई जोड दिइएको छ । त्यही मातृत्वमोहलाई पूर्ण बनाउन स्वास्नी मान्छेले जस्तोसुकै उपाय अपनाउन सक्छन् भन्ने संकेत यो कथाले गरेको छ । यस्तै, ‘मेला’ एउटा सन्देशमूलक कथा हो । पाप नगरे पाप पखाल्ने दुःख गर्नै पर्दैन भन्ने सामाजिक सन्देश दिने यो कथाले सामाजिक आडम्बरमाथि नजानिँदो किसिमले तीखो व्यंग्य पनि प्रहार गरेको छ । रोजीरोटीका लागि घर परिवार, समाज र देशबाट पनि टाढा जानुपर्ने तत्कालीन परिस्थितिजन्य बाध्यताको चित्रण गरिएको मर्मस्पर्शी कथा हो– ‘टाढाको सम्झना ।’
‘गंगालाल’ एउटा उत्कृष्ट कथा हो । राजनीतिक चेतसहित ऐतिहासिक पृष्ठभूमिमा लेखिएको यो कथाले कथाकारको राजनीतिक चेत बलियो भएको पुष्टि पनि गरेको छ । झिनोरूपमा राजनीतिलाई पृष्ठभूमिमा बनाइएको यस कथामा तत्कालीन राजनीतिक परिस्थितिकोे प्रतिविम्ब झल्किएको छ । शहीदको सपना पूरा नभएको आशय कथामा आएको छ ।
लघु आयामको ‘ठूलो मान्छे’ कथामा विसंगतिप्रति कटाक्ष गरिएको छ । तुलनात्मक रूपमा अलि लामो कथा ‘सम्बन्ध विच्छेद’को सार भने छोटो छ तर महत्त्वपूर्ण छ । ‘स्वदेशमा रोजगारी नहुँदा विदेशमा जान बाध्य हुनु । रोजगारी पाउनेहरूलाई पनि न्यूनतम आवश्यकता पूरा गर्न तलबको कमी हुनु’ (पृष्ठ ः ४८) का कारणले घर व्यवहार चलाउने श्रीमती असन्तुष्ट हुँदा सम्बन्ध विच्छदेको परिस्थिति उत्पन्न हुन सक्छ भन्ने सन्देश यो कथामा छ ।
‘क्यान्सर– ३’ स्वास्थ्य जनचेतनामूलक कथा हो । यसमा पाठेघरको क्यान्सरको शंका गरिएकी एउटी महिलाको पीडित मनोदशालाई निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ । कताकता यौनको सन्दर्भले पाठकको मनमा कुतकुती पनि लगाउँछ । तुलनात्मक रूपमा अलि लामो कथा ‘घरजम कि परजाम’मा बिहे गर्ने उमेर घर्किन लागेकी एउटी पात्रको मनोदशालाई केलाइएको छ । नारी संवेदनामा आधारित यो कथाको प्रस्तुति निकै रोचक छ । लघु आयामको तर प्रखर राजनीतिक चेत भएको ‘यो हार कसको ?’
कथामा चुनावका बेला विजय जुलुसमा ‘यो जित कसको ? जनताको’ भनेर नारा लाउने गरे पनि वास्तवमा त्यो जित केवल नेताकै मात्र भएको र जनताले चाहिँ सधैं हार्ने गरेको कटु यथार्थलाई प्रस्तुत गरिएको छ । लघु आयामको ‘उन्मुक्ति’ कथामा कमजोर र तजबिजी कानुनी व्यवस्थाप्रति व्यंग्य गरिएको छ ।
देशका युवा वर्ग बढी कमाउने र छिटो कमाउने लोभमा विदेशमा खतरापूर्ण, जोखिमयुक्त र गाह्रोसाह्रो कामका लागि जान लालायित भएकाले देशको ऊर्वर भूमि बाँझो पर्न थालेको यथार्थलाई ‘बाँझो खेत’मा प्रस्तुत गरिएको छ । यसैगरी ‘पुनर्विवाह’मा विमान दुर्घटनामा लोग्ने गुमाएकी एकल महिलाको पीडा सँगसँगै उसको सम्बन्ध अर्को पुरुषसँग जोडिएको र उसैगसँग विवाह भएको सन्दर्भ छ ।
संग्रहको अन्तिम कथा ‘अक्सिजन प्लान्ट’मा कोरोनाकालीन समयको चित्रण गर्दै त्यस समयमा भएको अक्सिजन अभावको सन्दर्भलाई प्रभावशाली ढंगमा प्रस्तुत गरिएको छ । कथाकार धनमान श्रेष्ठका कथामा समयचेत र समयबोध छ । उनले आफूले देखेको र भोगेको समय अनि त्यो समयको समाजलाई आफ्ना कथामा उतारेका छन् । मानवीय संवेदना उनका कथाहरूको मुख्य विशेषता हो । उनका कथाले पात्रका कथासँगसँगै समयको पनि कथा भनिरहेका हुन्छन् ।
श्रेष्ठका कथामा भएको दृश्यात्मकताले पाठकलाई मोहित बनाउँछ । कथा पढिरहँदा आँखामा चलचित्रमा झैं दृश्यहरू आउँछन् । यसले पाठकलाई कथामा डुब्न मदत गरेको छ । श्रेष्ठका कथाहरूको अर्को उल्लेख्य पक्ष भनेको पात्रको मनोदशाको चित्रण हो । मिहीन ढंगले पात्रको मनोदशा केलाउन कथाकार श्रेष्ठ निकै खप्पिस छन् ।
पात्रको मनमा उठ्ने भावना, डर, चिन्ता, उत्तेजना र यी सबैका कारण उत्पन्न हुने मानसिक अन्तद्र्वन्द्वको चित्रणले कथालाई रोचक बनाएको पाइन्छ । सरल भाषाशैलीमा लेखिएका कथाहरू संप्रेष्य र बोधगम्य छन् । समग्रमा कथाहरू पठनीय छन् । पाठकहरूले यो कथासंग्रहको पठनबाट अलि अगाडिको समय र समाजलाई तुलनात्मक दृष्टिले हेर्ने अवसर पनि पाउने छन् ।
संग्रहभित्रका कथाले तत्कालीन समय र समाजलाई प्रतिबिम्बित गरेका छन् । त्यस्तै, कथाका पात्रहरूले तत्कालीन समय र समाजको यथार्थ अनि त्यो समय र समाजमा बाँचेका पात्रहरूको जीवन र चरित्रको प्रतिनिधित्व गरेका छन् । हरेक कथामा समयले दिएको अनुभव र अनुभूतिको मिश्रित सुवास छ । समयले सिकाएको पाठ छ । त्यसैले, उनका कथामा शिक्षा छ, सन्देश छ र पठनको आनन्द पनि छ । कथाकार धनमान श्रेष्ठमा वर्तमान युवा पुस्ताको कथामा जस्तो वैश्विक चेतना, नवीन प्रयोग र दमदार कथानक नभए पनि तत्कालीन समयको चेतसँगसँगै सामाजिक यथार्थलाई टपक्क टिपेर कथामा उतार्ने सामथ्र्य पाइन्छ ।