२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

गणतन्त्रको जगमाथि प्रश्न

draupadi film
मध्यान्ह
२०८१ चैत १९ गते ०८:२६
गणतन्त्रको जगमाथि प्रश्न

– अच्युतप्रसाद पौडेल ‘चिन्तन’
लाग्छ, गणतन्त्रको जग हल्लिएको छ, जसरी हाम्रा विकासका पूर्वाधार कच्ची भए, कमिसनका कारण त्यस्तै सुख र सुविधाका कारण लोकतन्त्र, संघीयता र गणतन्त्रको जग पनि कच्ची भएको छ ।

देशमा माटो छोप्ने नक्कली विकास देखाउने र भुँडी भर्ने प्रथाले जसरी प्रश्रय पायो, ठीक त्यस्तै अधुरा सपना बाँड्दै गर्दा नेतृत्वको ठगीपना जनताले याद पायो । विदेशीले ‘फ्रड’ भनेर झस्काइदिँदा नेपालीको आँखा खुलेको छ अहिले । जे–जति नारा दिए दलहरूले ती सबै सपनाका पुलिन्दा रहेछन् । १०३ वर्षको लामो जहानियाँ शासन भत्कने देशमा डेढ दशकको गणतन्त्र भत्कियो भने अन्यथा मान्नु हुन्न । 

पद र पैसाको लोभ गर्नेहरूले चलाएको देशमा अमनचयन भएन, जनताले सुख सुविधा पाएनन्, राज्यको सेवा प्रशासनमा सुशासनको झल्को पाइएन, अपराधी र कुकर्मीहरूलाई संरक्षण गर्ने काम धेरै भयो ।

भ्रष्टाचारको दलदलमा फसेको लोकतन्त्रको देशैभर धज्जी उडाइयो र त्यसको विकल्पमा सडकमा नारा, जुलुसहरू धमाधम निस्कन थालेका छन् । कतिले यही पक्षमा त कतिले यसका विरुद्धमा आँधीबेहरी ल्याउने भन्दै छन् । 

देशमा कत्ति पनि युवा नराख्ने गणतन्त्रले लाखौं रकम औषधि उपचार र घर भाडामा लिएको छ । भन्छ, लोकतन्त्र तर अध्यादेश पास गर्न आफ्ना कार्यकर्ताहरूलाई ह्वीप जारी गर्छ । निर्देशित लोकतन्त्रले आफ्नो कुरूप अनुहार देखाएको र यसलाई लोकतन्त्र नभनेर लोभतन्त्र भनिएको छ ।

आफ्नाबाहेक अरूको अनुहारै नदेख्ने गणतन्त्र देशका लागि भारी भएको छ र बिजुली मात्र आयात गर्दैन, यसले हरेक चाडपर्वका वस्तु मात्र आयात गर्दैन, यसले दैनिक खाद्यान्न पनि आयात नै गर्छ, त्यो पनि कोटा प्रणालीमा । घरखेत बाँझो राखेर युवाहरू खाडीमा बेच्ने लोकतन्त्रले खर्बौं रेमिट्यान्स कमाउँछ र बिदेसिएकालाई लासमा घाटतिर ल्याउने गरेको छ । 

सडकमा यस्तो लोकतन्त्रप्रति निर्मम प्रहार भइरहेको छ । हरेक दशकमा सडक प्रदर्शनबाट राजनीतिक परिवर्तन गर्नुपर्ने विवशताले देश अस्थिर भएको छ । नेपाली जनता, तिनलाई खाने–लगाउने चासो छ । उद्योगधन्दा छैन र बेरोजगारीबाट प्रताडित छन् । ती र आधाआधी त गरिबीको रेखामुनि बाँच्न बाध्य पनि छन् ।

करको अतिमारमा परेका जनताले त्यसको प्रतिफल पाएका छैनन् । धारामा पानी आउँदैन, सडकमा हिँड्न सक्ने वातावरण छैन, धुवाँ, धूलो रोगग्रस्त जीवन बिताउन बाध्य छन् आमनेपालीहरू ।

नेताहरू हिँडेर, गुडेर कतै यात्रा गर्दैनन्, उडेर यात्रा गर्दा सतहका समस्याहरू देख्दैनन् । पूर्वाधार, बाटाघाटाहरू कस्ता छन् भन्ने बिर्सिएका अवस्था छ । बालुवाटार, शीतल निवास, भैंसेपाटी र सिंहदरबार, बूढानीलकण्ठ अनि खुमलटार, बालकोटमा सीमित रहेको लोकतन्त्रले जनताको चिसो सिँढी नै देखेको छैन । उडेर आएको लोकतन्त्र र गणतन्त्र हिँड्न, गुड्न जान्दैन ।

जनताले सुखको सास फेर्न पाएका भए यति सारो आन्दोलनको आँधीबेहरी आउँदैनथ्यो । जनता मरेर आएको गणतन्त्रको जग वास्तवमै हल्लिइसकेको छ । गणतन्त्रले संस्थागत सुधार गर्न सकेन । प्रशासन यन्त्रलाई पंगु बनायो । राज्य संयन्त्रहरूलाई एकसरो खेतालो बनायो । बाह्य इािरामा धर्म–संस्कृतिमाथि नै हस्तक्षेप गरी समाज भाँड्ने काम ग¥यो । न सुशासन दियो, न  त सुशासनको अपेक्षा गर्न सक्ने बनायो ।

आज वैदिक सनातनीहरूको मुटुमै प्रहार हुनेगरी आयातीत धर्मको खोल ओडेर होली वाइन पिउनुपर्ने स्थिति कसरी आयो ? विदेशीको दास बन्न रुचाउने तर नेपालीको मालिक बन्न मन नपराउनेहरूका विरुद्ध सडकमा जेहाद छेडिएको अवस्था छ अहिले । 
इतिहासको विरासत बोकेको संस्थालाई कुनै स्पेस नदिई निषेधको राजनीति राणाहरूले पनि गरेका थिएनन् र आफ्नो गरिमा बचाउनैका लागि भए पनि अढाइ वर्षका दूधे बालकलाई खोजेर श्रीपेच लगाइदिएका थिए ।

सय वर्षसम्म खोपीमा राजालाई राखेका राणाहरूले आफ्नो समय सकिने बेलामा राजालाई ल्याएका थिए । अहिले जताततै ‘राजा आऊ, देश बचाऊ’ भनिँदै छ । देश भत्केको छ, गलेको छ, टुटेको छ, बिरामी छ, यसलाई त्राण दिन पनि अब सबैले मिलेर विद्यमान राजनीतिक संस्कारलाई बदल्नुपरेको छ । यो संस्कार रहुञ्जेल नेपालीका आँखामा आँसु झर्न छाड्दैन । 

अहिले व्यापारघाटा उच्च तहमा छ । चरम ऋण बोकेर यति ठूलो र भद्दा संघीयता नेपालीले कसरी पाल्ने ? छिमेकीले अब्बल विकास गर्दै गर्दा २५ करोड जनसंख्या भएको भूगोलमा एउटा प्रदेश छ, यहाँ आधा जनता बाहिरिइसके, डेढ करोड पनि कम जनसंख्यामा यति ठूलो भद्दा संरचना र सधैं झगडामा मस्त रहनेहरूलाई पालिराख्नुपर्ने आवश्यकता छैन । यो सुशासन नै होइन, कुशासन हो, लुट हो ।

सबै आर्थिक चक्र उल्टो गतिमा छ र विदेशीले पनि अब पत्याउन गाह्रो छ । वैदेशिक लगानी कम भइसकेको छ । अनुदान पूरै घटिसकेको छ र दिइएको सहयोगका बारेमा पनि बाह्य शक्ति राष्ट्रले आगो ओकल्दै छ अहिले– नेपालीहरूको घैंटामा घाम पुग्नेगरी ।
जसरी कमजोर संरचनाहरूलाई भूकम्पले खाइदिन्छ, लोकतन्त्र र गणतन्त्रको संरचना पनि त्यस्तै कमजोर छ । जनसेवारूपी स्तम्भ बलियो हुँदो हो भने यो यति धेरै हल्लिने थिएन । तर, यसका संवाहकहरूको परिवारवाद, नातावाद, फरियावादकै कारण यसको जग हल्लिएको छ अहिले ।

सबैजसो नेपाली थाल ठटाएर सडकमा आए भने निषेधाज्ञाले कति दिन रहन सकिएला र ? सत्ताको दुरुपयोग गर्नेहरूलाई जनताले खबरदारी गरी नै रहने छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise