काठमाडौं : थारू र मधेश केन्द्रित २ राजनीतिक दलले नेपाली राजनीतिमा शक्ति आर्जनको प्रयास गरेका छन् ।
मधेशको जनमत पार्टी र थारू बाहुल्य रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकीकरण भएर पार्टीलाई प्रतिनिधिसभामा मधेशबाट शक्तिशाली दल बनाउने प्रयत्न छ ।
एकता प्रक्रियालाई टुंग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउनेगरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् ।
दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक गरेर सहमतिको बिन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्व तहमा चरणबद्ध छलफल भइरहेको पनि नेताहरूले बताएका छन् ।
सघन छलफल
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान पार्टी एकीकरणलाई अन्तिम रूप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी १५ वैशाखभित्रै पार्टी एकीकरणको घोषणा गर्ने तयारी भइरहेको बताउँछन् ।
जनमत पार्टीका तर्फबाट गठित कार्यदलका संयोजकसमेत रहेका खानले भने, ‘नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव फाइनल भइसकेको छ । हाल पार्टीको विधान लेख्ने काम भइरहेको छ ।’
एकता कार्यदलको प्रतिवेदन पेस गर्नुअघि नै पार्टीको नामदेखि चुनाव चिह्न जस्ता विषयमा सहमति भएको छ । नेताहरूका अनुसार नयाँ दलको नाम ‘जनमत नागरिक उन्मुक्ति पार्टी’ रहने छ ।
अध्यक्ष डा. सीके राउत नै रहने लगभग सहमति भइसकेको छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष र पार्टी संरक्षकको जिम्मेवारीमा रहेका रेशम चौधरीलाई सोही जिम्मेवारी दिनेगरी सहमति जुटिसकेको छ ।
साथै, एकीकृत दलको चुनाव चिह्न नागरिक उन्मुक्तिको हालको ढकिया हुने छ । अन्य पदाधिकारी तथा नेताहरूको पदबारे कार्यदलले छलफल गरिरहेको छ ।
संयोजक खानका अनुसार वैशाखको पहिलो साता आ–आफ्ना केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिने र दोस्रो साता पार्टी एकीकरणको घोषणा गरिने छ ।
कार्यदलले तयार गरेको प्रतिवेदन दुवै दलका केन्द्रीय समितिबाट अनुमोदन गरी वैशाखमा एकता घोषणा हुने नेताहरूले बताएका छन् ।
नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले ३ वैशाखमा पार्टीका केन्द्रीय समिति बैठक बस्ने र त्यहाँ कार्यदलले प्रतिवेदन पेस गर्ने जानकारी दिए । ‘दुवै दलका केन्द्रीय समितिमा कार्यदलको प्रतिवेदन पेस हुने छ । त्यसलाई संशोधन गर्नुपर्ने भए गरिने छ भने सिधै पास हुने अवस्था भए पास गरिने छ’, उनले भने ।
२ दलको विचार र सिद्धान्त मिल्ने भएकाले एकीकरणलाई टुंग्याउन लागिएको प्रवक्ता पण्डितले जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी एकीकरण प्रक्रियालाई चाँडै टुंग्याउनेगरी छलफल भइरहेको जानकारी दिइन् । उनले कार्यदल तहमा छलफल भइरहेको र कार्यदलको निचोडलाई अन्तिम रूप दिइने बताइन् ।
पार्टी एकीकरणलाई टुंगो लगाउन कार्यदल तहमा छलफल भइरहेको र त्यहाँको निर्णयअनुरूप दुवै पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरणलाई अन्तिम रूप दिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।
धेरै विषयमा सहमति
एकीकृत पार्टीको प्रस्तावना संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुराष्ट्रिय राज्य हुने सहमति जुटेको छ । यस्तै, पहिचानको मुद्दालाई प्राथमिकता दिने विषयमा सहमति भएको छ ।
२००७ सालको विद्रोह, २०४६ र २०६३ सालका जनआन्दोलन र माओवादी जनयुद्धदेखि विभिन्न समयमा भएका आदिवासी जनजाति, मधेश, स्वराज, थरूहट–थारूवान्, दलित र मुस्लिम आन्दोलनहरूले आफ्नो पहिचान, अधिकार र आत्मनिर्णयका लागि गरेको संघर्षलाई एकीकृत पार्टीले अपनत्व लिँदै पहिचानका सवाललाई सशक्त बनाउने लक्ष्य एकीकृत पार्टीको छ ।
यस्तै, एकीकृत पार्टीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको शासकीय स्वरूपलाई मुद्दा बनाउने २ दलबीचको सहमति छ । संघ र प्रदेश दुवैतिर गैरसांसद मन्त्री बनाउने प्रस्ताव एकीकृत पार्टीले अघि सार्ने भएको छ ।
नेताहरूका अनुसार केही कुरामा मोटामोटी सहमति पनि भइसकेको छ । उदाहरणका लागि पार्टीको नाम, नेतृत्व र पदाधिकारीको विषयमा करिब सहमति बनिसकेको छ । बाँकी विषयलाई कार्यदलको तहबाट चाँडै टुंग्याएर पार्टी एकीकरणलाई पूर्णता दिइने छ ।
मुख्य विषयमा सहमति बनिसकेकाले सचिवालय, केन्द्रीय समितिलगायत पार्टीको तल्लो तहका संरचना विस्तारै मिलाउँदै जाने दुवै दलको तयारी छ ।
जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरणका लागि फागुनको तेस्रो साता कार्यदल गठन गरेको थियो भने नागरिक उन्मुक्ति पार्टीले हालै कार्यदल बनाएको छ । जनमत पार्टीका तर्फबाट गठित कार्यदलमा उपाध्यक्ष खानको संयोजकत्वमा पार्टी प्रवक्ता डा. शरद्सिंह यादव र बालगोविन्द चौधरी सदस्य छन् ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट नेता गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा सुनिता चौधरी र रामलाल डगौरा थारू सदस्य छन् ।
बलियो शक्ति
पार्टी एकतामार्फत मधेशसहित थरूहटको ठूलो दल बन्ने ध्याउन्न दुवै दलको छ । विभाजनको डरपछि उनीहरूले एकता प्रक्रियालाई तीव्रता दिएका हुन् । जनमत पार्टीभित्र अध्यक्ष राउत स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै उनको तीव्र आलोचना र विरोध हुँदै आएको छ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीभित्र पनि अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीचको विवादले पार्टीको भविष्यप्रति प्रश्न उठ्दै आएको थियो । दुवै दलले विभाजन रोक्न एकतालाई प्राथमिकतामा राखेका हुन् ।
पार्टी एकीकरण भएपछि पहिचानवादी शक्ति, आदिवासी जनजाति समुदायहरू एकताबद्ध भएर आफ्ना मुद्दालाई बलियो बनाउन सकिने अपेक्षा दुवै दलका नेताहरूको छ ।
२०७५ सालमा सीके राउतको नेतृत्वमा जनमत पार्टी र २०७८ सालमा नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए । जनमत र नाउपाले २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभामा पहिलो पटक भाग लिएका थिए ।
२०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा जनमतका ६ जना सांसद निर्वाचित भएका हुन् । यस्तै, ३ प्रतिशत थेस्रहोल्ड कटाउँदै जनमत राष्ट्रिय दल बनेको छ । यता, नागरिक उन्मुक्ति ४ सिटमा निर्वाचित भएको छ ।
२ दलबीच एकीकरण भएमा उनीहरूको सांसद संख्या १० पुग्ने छ । हाल प्रतिनिधिसभामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको सांसद संख्या ७ छ । मधेशको सबैभन्दा ठूलो दल उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छ । जसपा नेपाल विभाजन भइसकेको अवस्थामा नाउपा र जनमत एकता भए यो मधेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ठूलो बन्ने छ ।